उमेर लगभग १५/१६ वर्ष। नाम अभिषेक तामाङ। यति नै हो उनको परिचय।
अभिषेक यस्तै ५ वर्ष जतिका हुँदा उनका बावुआमाले काठमाडौँको स्वयम्भु नजिकै रहेको एक गुम्बामा लामा बन्न छोडिदिए।
उनलाई आजभोलि पनि त्यो दिनको धमिलो याद आउँछ। गुम्बाको दैलोमा बसेर उनका बाबु सुनिल र आमा सुनिताले हात हल्लाउँदै राम्रोसँग बस है! भनेका थिए।
त्यो दिन दुवैजनाले अभिषेकलाई सोही गुम्बामा छोडेर हिँडे। केही समय महिना/महिना दिनमा बाबु सुनिल र आमा सुनिता पालैपालो भेट्न गइरहन्थे। तर, छोरालाई गुम्बामा सँगै छोड्न गएका उनीहरू त्यसपछि सम्पर्कमा नआउँदा चिन्तित छन् अभिषेक।
‘सुरुको एक वर्षजति ममि र बुवा दुवैजना महिना/महिना दिनमा भेट्न आउनुभयो,’ अभिषेकले भने, ‘त्यसपछि गुम्बामा आउनै छोड्नुभयो। बेला/बेलामा फोनमा कुरा हुन्थ्यो। तर केही समयपछि दुवैजनाको नम्बरमा फोन लाग्न छोड्यो। फोनमा पनि कुरा हुन छोडेपछि घर जान्छु भन्ने लागेर गुम्बाबाट भागेर हिडेँ।’
उनकी आमा सुनिताले पछिल्लो पटक भेट्न जाँदा अभिषेकलाई फकाउँदै ‘दसैँमा लिन आउँछु, अहिले नरोइ बस है’ भनेकी थिइन्।
तर दसैँमा न आमा लिन गइन्, न त बाबु नै।
त्यतिबेला अभिषेक यस्तै ६/७ वर्षका मात्रै थिए। काठमाडौँको ठाउँ। गुम्बाबाट निस्किएर हिँडेका उनी काठमाडौँभित्रै हराए। सडकपेटीमै बास भयो।
फर्केर सोही गुम्बासम्म पुग्नका लागि पनि बाटो भुले। त्यसपछिका रातहरू सडमै बित्यो। सहरको भीडमा आमाबावुको अनुहार देख्न पाइन्छ कि भनेर खुब खोजी गरिरहेको अभिषेक सुनाउँछन्।
अधिकारकर्मीहरूले अभिषेकको उद्धार गरे। गैर सरकारी संस्था सीटीसीएस नामक संस्थाले उनको जिम्मा लियो।
शिक्षा र पालनपोषण गराउनका लागि उनलाई दोलखा पुर्यायो। तर, सडकमै रमाउने बानी परेका अभिषेक संस्थाको नियममा बाँधिएर बस्न सकेनन्।
एक वर्षजति बसेर त्यहाँबाट पनि भागे।
‘एक्लै त कहाँ भागेर काठमाडौं आउन सक्नु। म भन्दा ठूलो उमेरमा दाईको साथ लागेर भागेको अलिअलि याद आउँछ,’ अभिषेकले सुनाए।
काठमाडौँमा केही महिना सडकमै बिताएका उनलाई फेरि नेपाल प्रहरीले सडकबाट उद्धार गर्यो। लागुऔषध दुर्व्यसनमा समेत फसेका उनलाई प्रहरीकै समन्वयमा बौद्धमा रहेको एक सुधार गृहमा राखिदियो।
करिब १४ महिना सुधार गृहमा बसे। लागुऔषध दुर्व्यसनको नसा छुट्यो। त्यहीँ बसेरै कुक तालिम सिके। नजिकैको एक क्याफेमा समेत काम गरे। १४ वर्ष जतिका अभिषेकले क्याफेको जागिरमा पनि धेरै समय टिक्न सकेनन्।
करिब एक वर्षअघि ‘आइरिस नेपाल’ नामक एक संस्थाका व्यक्तिहरूले अभिषेकलाई ठमेलमा भेटेका थिए। बुझ्दै जाँदा उनी आफ्नै आमाबावुको साथबाट छुटेर विभिन्न झमेलामा पर्दै आएको कुरा खुल्न आयो। संस्थाका पदाधिकारी राजकाजी गमालसँग अभिषेकले दुईवटा कुराको सर्त राखे।
एउटा, पढ्ने चाहना भएको र अर्को, आमाबुवालाई भेटाउने। गमाल लगायतको टोलीले अभिषेकको यी दुवै सर्त मान्यो।
ठमेलबाट अभिषेकलाई उनीहरूले आफ्नो संस्थामा राखेका छन्। मकवानपुरको चित्लाङमा रहेको संस्थामा बस्दै आएका उनी सोही स्थानको स्वच्छन्द भैरव माविमा कक्षा ७ मा अध्ययन गर्दैछन्।
उनी आफैँलाई थाहा नै छैन आफ्नो उमेर। छैन जन्मदर्ता। न याद छ जन्मस्थानको ठेगाना।
‘अरू त केही सम्झना आउँदैन। घर धादिङको चौतारा भन्ने गाउँमा हो भनेको अलिअलि याद आउँछ। आमाबुबा देखेँ भने चिन्न सक्छु कि जस्तो लाग्छ,’ अभिषेक भन्छन्, ‘अनि मेरो दुईजना बहिनीहरू थिए। एउटाको नाम अस्मिता अर्को बहिनीको नाम पुनम। त्यति चाहिँ याद छ। अरु त केही थाहा छैन। बहिनीहरू त भेटेँ भनेपनि ठम्याउन सक्दिनँ।’
अभिषेकसँगकै सोधिखोजीमा उक्त संस्थाका सदस्यहरूले धादिङका सेञ्जुङ चौतारा भन्ने गाउँमा पुगे। त्यहाँ तामाङ समुदाय त भेटियो। तर अभिषेकलाई कसैले चिन्न सकेनन्।
उनका आमा बुवाको नाम भन्दा पनि पहिचान हुन नसकेको संस्थाका निर्देशक गमालले बताए।
‘हामीले बाबुको घर खोज्न निकै मेहेनत गरिरहेका छौँ,’ उनले भने, ‘धादिङ जिल्लामा हो कि भनेर त्यहाँ पनि गयौँ। सीडीओ साबलाई पनि यो विषयमा बिन्ती बिसायौँ। उसले एकपटक आफ्नो आमाबाबु र बहिनीहरूलाई भेट्न रहर गरेको छ।’
कक्षा ७ मा अध्धयन गर्दै गरेका अभिषेकले विद्यालयमा भर्ना हुन पाएका छैनन्। भर्नाको लागि विद्यालयले जन्मदर्ता मागेको छ। निर्देशक गमालका अनुसार, यसअघि जहाँ जहाँ पढे सबैतिर उनले भर्ना बिना नै पढेका रहेछन्।
गमाल भन्छन्, ‘पढाउन र हेरचाह त हामीले नै गथ्यौंँ। एकपटक उसको परिवार भेटेर जन्मदर्ता बनाइदिन पाए सजिलो हुन्थ्यो। चाडपर्वमा परिवारसँग बस्न पनि पाउँथ्यो।’
अभिषेकले भनेजस्तो आमाबाबुको परिचय र मिल्दो ठाउँको नाम भेटिए खोज्न जाने तयारीमा आफूहरू रहेको गमालको भनाइ छ।
Shares
प्रतिक्रिया