समाज


१९ वर्षको हुँदा जसले भिक्षु बन्न घर छाडिन्, जेल भोग्ने पहिलो महिला बनिन्

१९ वर्षको हुँदा जसले भिक्षु बन्न घर छाडिन्, जेल भोग्ने पहिलो महिला बनिन्

वाशुदेव मिश्र
भदौ १०, २०८० आइतबार ६:२२, पोखरा

यो त्यो बेलाको कथा हो, जुनबेला पोखरा सानो र अँध्यारै थियो। काठमाडौंबाट आएका २६ कुरिया नेवारहरुले विन्ध्यवासिनी, भैरवटोल, नालमुख, गणेशटोल वरपर थालेको व्यवसाय तल्लो भाग तेर्सापट्टिसम्म विस्तार भएको थियो। भाँडा पिटेको ट्याङट्याङ र टुङटुङको एकोहोरो आवाज तेर्सापट्टिको परिचय थियो। धनबहादुर र धनकुमारी ताम्राकारकी छोरी टेकलक्ष्मी पनि त्यही आवाज सुनेर हुर्किंदै थिइन्। 

अहिलेजस्तो टेलिभिजन, ‘मोबाइल गेम’ को जमाना थिएन। थियो त पुतली, गट्टा, लुकामारी! १९८८ सालतिर तेर्सापट्टिको छेउमा एकजना थेरवादी भिक्षुले डेरा जमाए। महादान नामक भिक्षु साना नानीबाबुलाई अक्षर चिनाउँथे, बुद्धवाणीहरु सुनाउँथे। टेकलक्ष्मीलाई बुद्धवाणीले तान्यो। सत्र वर्षको उमेर अर्थात् १९९१ सालमै उनले घर छाडिन्। भिक्षु बन्ने ध्येयले महाज्ञानसँगै काठमाडौं लागिन्। 

उनको जीवनीका लेखक तिलकमान गुभाजूका अनुसार घरमा खैलाबैला मच्चियो। परिवारका सदस्यहरुले उनलाई बाटैबाट फर्काए। तर, अनेकौं अफवाहहरु फैलिए। इज्जतको प्रश्न उठ्यो। एक किसिमले सामाजिक बहिष्करण भयो। परिवार नै समस्यामा पर्‍यो। टेकलक्ष्मीले ‘पतिया’ लिइन्। जातबाट खसेकालाई पुरानै जातमा फर्काउन सरकारी अड्डाबाट लिइने पुर्जीले जात फर्कने बेला थियो, त्यो। पतिया गरेपछि घरमा भ्वय (भोज) लगाइयो। टेकलक्ष्मी भान्छा चढिन्। जात जोगियो। तर, उनको मन अडिएन।

१९ वर्षको हुँदा टेकलक्ष्मीले पुनः घर छाडिन्। एक्लै कुशीनगर हानिइन्। बुद्धको दर्शनपछि उनले आफूलाई प्रवज्जित (भिक्षु बनाइदिन) गराइदिन भिक्षु चन्द्रमणि महास्थवीरसमक्ष आग्रह गरिन्। तर, गृहस्थ जीवन त्यागको लागि अभिभावकको अनुमति चाहिन्थ्यो। १९ वर्षीया किशोरीलाई त्यत्तिकै भिक्षुणी बनाउने कुरा पनि भएन। टेकलक्ष्मी पोखरा फर्किइन्। मन फेरि अडिएन।

दाजुहरुले बोलाएको बहानामा उनी एकजना वृद्धाको साथ लागेर बुटवल पुगिन्। भिक्षु विशुधानन्दबाट अभिधर्म सिकिन्। अनि त के थियो! श्रृंगार र कपालमा तेल लगाउनै छाडिन्। घरबाट छोरीको खोजी भइरहेको थियो। तर, उनले फरक बाटो रोजिसकेकी थिइन्। उनी भिक्षु विशुधानन्द र रत्नमुनी तुलाधरको साथ लागेर कु्शीनगर पुगिन्। भिक्षु विशुदानन्दले रत्नमुनीको दायकत्वमा १९९६ मा उनलाई प्रवज्वित गराइदिए। संयोग कस्तो भने खोज्न गएकी बहिनी यशोमतीले पनि प्रवज्जित हुने अवसर छुटाइनन्।

प्रवज्यापछि टेकलक्ष्मी भिक्षु अनगारिका धर्मशीलामा रुपान्तरित भइन्। भिक्षु बनेपछि काठमाडौं हुँदै पोखरा फर्किइन्। छेवर ( केशमुण्डन) पछि कायामा कास्यप वस्त्र र हातमा पिण्डपात्र थियो। पोखरामा त्यो बेलासम्म बिहार नै थिएन। बुद्धका अनुयायायीहरु बिहारलाई भन्तेहरुको साधना केन्द्र र गृहस्थहरुको लागि पुण्यलाभको थलोको रुपमा अथ्र्याउँछन्। गृृहत्याग गरेपछि घरमा बस्नु पनि भएन। अनगारिका धर्मशीला समस्यामा परिन्। परिस्थितिले उनलाई घरमै अटाउन बाध्य बनायो। 

‘धर्मशीला गुरुमाले घरमै बसेर उपदेश दिन सुरु गर्नुभयो, पञ्चशील र अष्टशील ग्रहण गर्न आउने उपासक–उपासिकाहरु बढ्दै गए,’ तिलकमान गुभाजूले अनगारिका धर्मशीला र उहाँका कार्यहरु नामक पुस्तकमा लेखेका छन्, ‘उहाँले कुशीनगर फर्कने विचार गर्नुभयो तर उहाँकी चेली धर्मनदीले त्यसो हुन दिनुभएन। धर्मनदीकै आग्रहमा उहाँका पिता सिद्धिलाल र बुद्धलाल कायस्थले डेढ रोपनी जग्गामा ढुंगा र माटोको दुईतले बिहार निर्माण गरिदिनुभयो। गुरुमा त्यहीँ बस्न थाल्नुभयो।’ 

त्यहाँ ढलोटको बुद्धमूर्ति स्थापना गरियो। लेखक एवं साहित्यकार विश्व शाक्यका अनुसार अनगारिका धर्मशीलाले पछि आफ्नै लगानीमा सो भवनमा ठूला झ्याल राख्न लगाइन् भने पुराना गहना बेचेर निर्माणलाई पूर्णता दिइन्। पोखरा आएका भिक्षु महाप्रज्ञा धर्मशीलाको कामबाट प्रभावित भए। उनले भिक्षु प्रज्ञारश्मी, कवि चित्तधर हृदयका बहिनीहरु मोतीलक्ष्मी र न्हुछेलक्ष्मीकोे सहयोगमा माटोको सफेद बुद्धमूर्ति पनि स्थापना गरिदिए। बिहारको स्थापनापछि भिक्षुहरुको आवागमन बढ्दै गयो। हाल पोखरा ३ तेर्सापट्टिमा रहेको सो बिहार साधनास्थल बन्यो। 

प्रजापरिषदको गठन, १९९७ को सहिद काण्ड, त्यसपछि काठमाडौंसहित देशभर चलेको राणाविरोधी आन्दोलनको प्रभाव भुसको आगो बनेको थियो। राणाविरोधी भावना बढ्दै थियो। भिक्षु धर्मशीलासँग चेतना मात्र थिएन, ‘इन्कलाव’को पक्षमा आवाज उठाउनेहरुको साथ र सहयोग पनि थियो। धर्मशीला परिवर्तन चाहन्थिन्। विद्रोह रोजेकी उनको दिमागमा स्वतन्त्रताको चाह थियो। त्यसैले राणाविरोधी अभियानका अगुवाहरु ऋषिकेशव पराजुली, प्रेमराज मुल्मी, अमृतप्रसाद मर्सानी, करुणानिधि कोइराला, रामबहादुर बडगामी, मीनबहादुर गुरुङ, दयाशंकर पालिखेहरुसँग उनको हिमचिम बढ्यो। गोप्य बैठक र मन्त्रणाहरु बिहारमै आयोजना हुन थाले। तत्कालीन बडाहाकिम धन शमशेरले त्यो कुराको सुइँको पाए। त्यस्तैमा भिक्षु धर्मशीला पनि पक्राउ परिन्। उनीसहित पक्राउ परेकाहरुलाई नौ दिनसम्म जंगी परेडको कोत गारतमा थुनियो।

यो २००४ सालतिरको कुरा हो। कवि तथा अभियन्ता तीर्थ श्रेष्ठका अनुसार त्यो बेला कविवर माधवप्रसाद घिमिरे हालको पोखरा १६ मा रहेको बाटुलेचौरको आधार स्कुलमा पढाउँथे। आफू पक्राउ परेको कुरा राष्ट्रकवि माधव घिमिरेले नै पोखराको एउटा बसाइमा उप्काएको स्मरण गर्दै श्रेष्ठले भने, ‘कविवरले आफूसहित नेताहरु भिक्षु धर्मशीला, नेताहरु मीनबहादुर गुरुङ, विष्णु पहारी, सुन्दरप्रसाद मर्सानी पक्राउ परेको कुरा सुनाउनु भयो। 

त्यो बेला महेन्द्रगुफा प्रख्यात भएकै थिएन। कानफट्टा बाबा (जसलाई अल्मोडा बाबा पनि भनिथ्यो) ले बाटुलेचौर क्षेत्रमा जागरणका कुरा गर्थे। गोप्य बैठकहरु सो क्षेत्रमा गरिन्थे रे।’ कवि तीर्थले भिक्षु धर्मशीला प्रजातन्त्रको लागि राणाकालमै जेल भोग्ने सम्भवत्ः पहिलो महिला भएको जिकिर पनि गरे। भिक्षु धर्मशीलासँगै पक्राउ परेका मीनबहादुर २०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट क्षेत्र नम्बर ९९ को उम्मेदवार बने। विजयी भएपछि उनी बीपी कोइरालाको सरकारमा सहायक राज्यमन्त्री भएका थिए। 

‘२००७ सालको परिवर्तनको लागि धर्मशीला गुरुमाले पुर्‍याउनुभएको योगदानको कदर गर्दै नेपाली कांग्रेसले मरणोपरान्त उहाँलाई ‘प्रजातन्त्र सेनानी’ उपाधिद्वारा सम्मानित गरिएको थियो,’ तिलकमान सुनाउँछन्, ‘उहाँले पछि बन्दीपुरमा भएको क्रान्तिमा पनि सहयोग पुर्‍याउनुभएको थियो।’

उनी जीवनको उत्तरार्धसम्म पनि पञ्चायतविरोधी आन्दोलनमा उत्तिकै सक्रिय रहिन्। 

भिक्षु धर्मशीलाबारे गहिरो अध्ययन गरेका लेखक एवं साहित्यकार विश्व शाक्यको बुझाइमा भिक्षु धर्मशीला कुशल संगठक र सक्रिय राजनीतिज्ञ पनि थिइन्। ‘उहाँ लुंगीजस्तो चिवर लगाउनुहुन्थ्यो, बुद्ध दर्शनको प्रचारभन्दा सामाजिक कार्यमा उहाँको बढी रुचि थियो,’ भिक्षु धर्मशीलाको जीवनका अन्तिम क्षणतिर मात्र बुद्ध दर्शनमा आकर्षित बनेका शाक्यले भने, ‘गुरुमाको राजनीतिज्ञ र भिक्षुणीको फरक छवि थियो। उहाँ सबै धर्मप्रति समभाव पनि राख्नुहुन्थ्यो, पोखरामा आयोजित पहिलो महापरित्राणको क्रममा उहाँसँग राजनीतिमा सँगै रहेका ती सहकर्मी (ऋषिकेशव पराजुली, मीनबहादुर गुरुङलगायत) देखिनुहुन्छ।’

ऋषिकेशव स्वयंले पनि भिक्षु धर्मशीलाको स्मरण गर्दै आफन्तलाई संकटको बेला अत्यन्त निडरतापूर्ण तरिकाले सहयोग गर्ने, भरोसालाग्दो, विश्वासिलो, संरक्षण गरेर आफूलाई बचाउन सक्ने व्यक्तित्वको रुपमा चित्रित गरेका छन्। ऋषिकेशवसहित भिक्षुसँग संगत गरेकाहरु यो संसारमा छैनन् तर, भिक्षु धर्मशीलाले प्रजातन्त्रको लागि तपस्या नै गरेको तिलकमान बताउँछन्। 

शैक्षिक जागरणमा पनि उत्तिकै योगदान 
तेर्सापट्टिको बिहारमा बस्ने भिक्षु अनगारिका धर्मशीला सामाजिक सुधार र शिक्षामा पनि उत्तिकै चासो राख्थिन्। २००६ सालसम्म पोखरामा आधुनिक विद्यालय थिएनन्। भिक्षु धर्मशीला, पण्डित ऋषिकेशव पराजुली, साहु भैरवलाल कायस्थ, इञ्जिनियर मेदिनीनाथ भट्टराई, पण्डित मुक्तिनाथ तिमिल्सिना, सुन्दरप्रसाद मर्सानीलगायतले स्कुल खोल्नुपर्ने धारणा बनाए। उनीहरुको पहिलो बैठक नै बिहारमा भयो।

‘त्यही बैठकले पोखरा ३, नारायणस्थानमा मिडिल स्कुल (हाल राष्ट्रिय मावि) को जग बसाल्ने निधो गरेको हो,’ तिलकमान भन्छन्, ‘त्यो अंग्रेजी भाषामा पढाइने पोखराको पहिलो स्कुल बन्यो।’ 

स्कुल स्थापनाबारे अग्रज पत्रकार केशवराज पराजुलीद्वारा लिखित ‘पोखरालाई एक अकिञ्जन भक्तिनी अवदान’ शीर्षकको आलेख अनुसार अगुवा पण्डित मुक्तिनाथ तिमिल्सिना तत्कालीन स्कुल इन्स्पेक्टर रामसिंह ठकुरीलाई लिएर अपरान्ह ४ बजेतिर बुद्धविहार पुगेछन्। त्यहाँ पहिलेदेखि नै पण्डित ऋषिकेशव पराजुलीलगायतका अगुवाहरु जमेर बसेका थिए। स्कुल इन्स्पेक्टरसँग सबैको परिचय गराएपछि पण्डित मुक्तिनाथले भनेछन्, ‘उहाँहरु पोखरामा एउटा अंग्रेजी स्कुल खोल्न प्रयत्नशील हुनुहुन्छ। त्यसको लागि सरकारको अनुमति प्राप्त गर्ने प्रविधि र प्रक्रिया के छ? तपाईंले त्यो प्रक्रिया उहाँलाई बुझाइदिनुहोस्, उहाँहरु त्यो गर्नुहुन्छ। अनुमति दिलाउने जिम्मा तपाईंको। अनुमति प्राप्त हुनासाथ स्कुल खुलिहाल्छ।’

पण्डित ऋषिकेशवले पहिल्यै बिन्तीपत्र तयार पारेका रहेछन्। उनले स्कुल इन्स्पेक्टरलाई बिन्तीपत्र बुझाएछन्। बिन्तीपत्र पढेपछि इन्स्पेक्टर ठकुरीले भनेछन्, ‘ठीक छ, अव विद्यालय सञ्चालनका निम्ति ५/१० हजारको कोष जम्मा गर्नुहोस्। यो पत्रमा त्यो कुरा उल्लेख गर्नुहोस्, म परपुर प्रयास गर्छु।’

अग्रज पत्रकार पराजुलीको लेख अनुसार त्यसपछि भक्तिनी अगाडि सरिछन्। 

उनले भनिछन्, ‘इन्स्पेक्टर साहेबले हामीलाई जो सल्लाह र सहयोग गर्ने वचन दिनुभयो, त्योबाट हामी अत्यन्त उत्साहित भएका छौं। पोखरेली जनातका छोराछोरी पढ्ने स्कुल पाए भने तपाईंको ठूलो गुण सम्झने छन् र तपाईंलाई ठूलो पुण्यलाभ हुनेछ।’

पोखराको जेठो विद्यालय खुल्यो। पछि कन्या स्कुल खुलाउन पनि भिक्षु धर्मशीला अगाडि सरिन्। २०१४ सालमा स्थापित कन्या स्कुलको उनी संस्थापक सचिव थिइन्। बडाहाकिम त्यसका अध्यक्ष थिए। भवन नहुँदा कतिपय कक्षाहरु बुद्धविहारमै सञ्चालन हुन्थे रे। अग्रज पत्रकार पराजुलीका अनुसार ‘त्यो बेला भक्तिनी छोरीलाई स्कुल पठाऊ भन्दै घरघर पुग्थिन्, त्यसकै परिणामस्वरुप केही छात्राहरु जम्मा भए। उनले बिहारको दलानमै पढाइन्। पछि नारायणस्थानको पौवाको स्कुलमा पढाउन थालियो। पोखरा ३ नदीपुरमा विद्यालयलाई जग्गा खोज्न पनि भक्तिनीको ठूलो योगदान छ।’

पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रिन्सिपल जर्ज जोनका अनुसार २०१७ सालमा क्याम्पस खोल्दा पनि भिक्षु धर्मशीला उत्तिकै सक्रिय थिइन्। सोही कदरस्वरुप कलेजको ६० औं वार्षिकोत्सवको अवसरमा मरणोपरान्त भिक्षु धर्मशीलालाई सम्मानित गरिएको छ। 

भिक्षु अनगारिका धर्मशीलाले सामाजिक क्षेत्रमा जे–जति योगदान पुर्‍याइन्, त्यो अझै स्मरणीय रहेको तिलकमान बताउँछन्।

‘पोखरामा बुद्ध जयन्ती मनाउने परम्पराको सुरुवात गर्ने श्रेय पनि उहाँलाई जान्छ, उहाँकै अगुवाइमा २०१८ सालमा पहिलोपटक यहाँ बुद्ध जयन्ती मनाइएको हो,’ उनी भन्छन्, ‘२०२९ सालको कात्तिक २९ देखि मंसिर १ गतेसम्म पहिलो बौद्ध सम्मेलन र महापरित्राण आयोजना पनि उहाँकै इच्छानुसार भएको हो।’

पोखरामा बौद्ध धर्मको प्रचार र संगठनमा अनेकौं काम गरेकी उनलाई उत्तरार्धमा भने क्यान्सरले गाँज्यो। उनी हिँडडुल गर्न नसक्ने अवस्थामा पुगिन्। जापानी भिक्षु–भिक्षुणीको सद्भावसँगै उपचारको लागि जापान लगियो। २०४३ सालको असोज १३ देखि कात्तिक १८ गतेसम्मको ओखतीले छोएन। २०४३ साल कात्तिक २६ गते बिहान ८ः३५ बजे उनले नश्वर शरीर छाडिन्। कात्तिक २७ गते शवयात्रामा हजारौं सहभागी भए।

उनको अश्रुपूर्ण विदाइका साक्षी बनेका तिलकमान भन्छन्, ‘गुरुमाले धार्मिक शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा अनेक रेखाहरु कोर्नुभयो, अमर कीर्ति राख्नुभयो र हामीबाट बिदा हुनुभयो।’

राजनीतिक जागरणकी बलियो सूत्रधार भिक्षु धर्मशीला धेरैकी ‘दिदी’ थिइन्, पछि गुरु र गुरुमा भन्नेहरु थपिए। अग्लो कद, साधारण अर्थात् हल्का पहेंलो चिवर धारण गर्ने उनी जागरणकै पर्याय थिइन्। 

धर्मशीलाको निधनपछि २०४३ साल चैत १३ गते बसेको बैठकले सो बिहारको नाम नै धर्मशीला बुद्धविहार राख्यो। २०७२ सालको भूकम्पले पुरानो भवनमा क्षति पुर्‍याएपछि त्यसको पुनर्निमाणको काम सुरु भयो। अहिले त्यहाँ नयाँ भवन निर्माणाधीन अवस्थामा छ। गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले भवन निर्माणमा सघाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .