ad ad

समाज


सर्लाहीमा एक बोरा धान लुट्न ७० वर्षकी वृद्धाको हत्या, पक्राउ परे ३९ वर्षका युवक

सर्लाहीमा एक बोरा धान लुट्न ७० वर्षकी वृद्धाको हत्या, पक्राउ परे ३९ वर्षका युवक

नेपालखबर
चैत २३, २०८० शुक्रबार ७:२४, सर्लाही

सर्लाहीमा एक बोरा धान लुट्नको लागि ७० वर्षकी वृद्धाको हत्या भएको छ। बागमती नगरपालिका–४, जिरायतकी ७० वर्षीया पार्वतीदेवीको हत्या एक बोरा धान लुट्ने उद्देश्यसहित ३९ वर्षका युवकले गरेको विवरण प्रहरीले सार्वजनिक गरेको छ। 

वृद्धाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले रौतहटको बृन्दावन नगरपालिका- ५ नरकटिया घर भई हाल सर्लाहीको बागमती क्षेत्रमा मजुरी गरेर बस्दै आएका ३९ वर्षका प्रमोद झा भनिने प्रमोद चौधरीलाई पक्राउ गरेको छ। 

स्थानीय बौधु महतोकी पत्नी पार्वतीको मंगलबार साँझ आफ्नै घरमा विभत्स अवस्थामा शव फेला परेको थियो।। 

घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी दयाधिनिध ज्ञवाली र इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरी घटनास्थल पुगेका थिए। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार पक्रकार सम्मेलनमा सार्वजनिक गरेको प्रेस नोटका अनुसार यही चैत २० गते साँझ बागमती ४ जिरायतस्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक हवल्दार बिमस विश्वकर्मा अफिसबाट खाना खान डेरामा जाने क्रममा सडक छेउमा रहेको बौधु महतोको घरमा मानिसहरु भेला भएको देख्छन्।  

घरको पालीको खाटमा विभत्स अवस्थामा पार्वतीको शव हुन्छ। तत्कालै उनले इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीलाई घटनको विषयमा जानकारी गराउँछन्। 

लगत्तै जिल्ला प्रहरी कार्यालयबाट एसपी ज्ञवाली र इन्सपेक्टर गिरीसहितको प्रहरी टोली घटनास्थल पुग्छ। 

शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाएपछि उनीहरु घटना अनुसन्धानमा लाग्छन्। बैधु महतोको घरको कोठामा राखिएको ७ बोरा धानमध्ये एक बोरा धान नभएको खुल्छ। 

त्यसपछि प्रहरी टोली बागमती नगरपालिका- ४ स्थित घिमिरे चोकमा रहेको किराना पसलमा जडान गरेको सीसीटीभी फुटेजको अनुसन्धानमा लाग्छ। 

सीसीटीभी फुटेजमा एक युवक एक बोरा धानको बोरा बोकेर नजिकैको किराना पसलमा गएको देखिन्छन्। सो धान पसलवालाले खरिद गर्दैनन्। त्यसपछि ती युवक सो धानको बोरा बोकेरै त्यहाँबाट हिँड्छन्। 

त्यसपछि प्रहरी धानको बोरा बोक्ने त्यो युवकको खोजीमा लाग्छ। खोज तलासकै क्रममा चैत २१ गते बिहान अन्दाजी सवा सात बजेको समयमा बागमती नगरपालिका- १ स्थित बागमती नहरको बाटोहुँदै तिनै युवक रौतहटतर्फ भाग्दै गरेको अवस्थामा फेला पर्छन्। 

घरमा अरु कोही नभएको बेला चौधरीले धान लुट्न खोजेपछि वृद्धाले प्रतिकार गर्दा नजिकै रहेको चिर्पट प्रहार गरेर वृद्धको हत्या गरेपछि उनले एकबोरा धान बोकेर हिँडेको पाइएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए।

प्रहरीले घटनास्थलबाट वृद्धाको टाउकोमा प्रहार गरेको चिर्पट पनि बरामद गरेको छ। चौधरीले लुटेर लगेको धानसमेत प्रहरीले बरामद गरिएको गिरीले बताए।

अनुसन्धानको क्रममा उनले वृद्धको हत्या आफूले गरेको स्वीकार गरेका छन्। उनलाई कर्तव्य ज्यान मुद्दामा पाँच दिनको म्याद थप गरेर घटनाको थप अनुसन्धान अघि बढाइएको एसपी ज्ञवालीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .