समाज


गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन

गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन

नेपालखबर
माघ १०, २०८१ बिहिबार १३:४८, महाेत्तरी

गरे के हुँदैन भन्ने आहान अहिले महोत्तरीको गौशाला-८ कुष्माढीको सनीखोला किनार अवस्थित नदी उकास जग्गा हेरे चरितार्थ हुन्छ। तीन वर्षअघिसम्म गेग्य्रान बलौटे खोलाको ढड्यान जग्गा किसानको मिहिनेतले अहिले ‘सुन फल्ने’ जमिन बनेको हो। दुबो पनि नमौलाउने गेग्य्रान अहिले जता हेर्‍यो उतै हराभरा छ।

सनीखोलाले बहाव छोडेर उकासेको बगरमा कुष्माढीका भूमिहीन किसानले नंग्रा खियाएकाे तीन वर्ष भएको छ । नदीले बहाव छाडेको नदी उकास बगरको एक सय एक बिघा जग्गामा अहिले थरीथरीका फलफूलका बोट हलहली बढ्दै छन्। 

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले फलफूल रोपणमा किसानलाई सघाएको छ । यहाँ आँप, लिची र कागतीसहितका ११ हजार बोट हुर्कँदै छन् । बगैँचाभित्र तरकारी बाली लहलह छ । यो बगरमा कुष्माढीका दुई सय एक भूमिहीन किसानको मिहिनेत हाँसेको छ।

गौशाला नगरपालिकाले भूमिहीन किसानको परिवार संख्याका आधारमा चार कट्ठादेखि १० कट्ठासम्म जग्गा छुट्याइदिएपछि ०७८ को अन्त्यतिर खनजोत थालिएको हो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी), सेभ द चिल्ड्रेन अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको समुन्नति कार्यक्रम, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल र गौशाला नगरपालिकाको साथले किसानको हौसला बढेको छ।

हराभरा बगरमा कतै गहुँ लहलह बढ्दै छ। कतै आलु धमाधम खनिँदै छ। किसानले जैविक खेती गर्ने हुँदा यहाँ उत्पादित फसल उपभोक्ताको पहिलो रोजाइमा पर्छन्। अहिले यहाँका किसानलाई उपभोक्ता ग्राहकलाई आलु तौलेर दिन भ्याइनभ्याइ छ। ‘आलु लिने धेरैजसो खेतमै आइपुग्छन्,’ आलुखेतीका किसान चन्द्रकला महरा भन्छिन्, ‘बगरखेती थालीकन गुजाराकाे चिन्ता लिनुपरेको छैन,’ बगरखेतीमा कुष्माढीका मुसहर, चमारसहितका गरिब दलित समुदाय र कोइरी, यादव र मगरसहितका जनजाति संलग्न छन्।

यहाँका किसानलाई गौशाला नगरपालिकाले नदी उकास क्षेत्रभित्रका चार किलोमिटर क्षेत्रभित्र विद्युतीकरण, दुईवटा डिपबोरिङ र सिँचाइका लागि ६ वटा पोखरी निर्माण गरिदिएको छ। यसैगरी, समुन्नति कार्यक्रमले मलका लागि गँड्याैला खेती गर्न सिकाएको छ। यसैगरी, सामुदायिक विकास तथा पैरवी मञ्चले खेतीमा प्राविधिक र बिउविजनको सहयोग गरेपछि आफूहरूलाई खेतीमा जाँगर बढेको किसान कामेश्वर महतो बताउँछन्।

‘हामीसँग आफ्नो जग्गा थिएन, नगरपालिका र अरू संस्थाको सहयोगले खेती गर्ने जग्गा र अन्य सहयोग पायौँ, अब कसैकहाँ मजदुरी गर्न जान परेको छैन,’ महतो भन्छन्, ‘हामी मजदुरलाई बगरखेतीले किसान बनायो।’ 

बगरखेती गर्न थालेपछि कहिल्यै धन सञ्चय नगर्ने जाति समुदायको परिचय बनेका मुसहर पनि उम्दा किसानमा दरिएका छन् । मधेशमा मुसहरका लागि ‘न राख्ने अन्न, न साँच्ने धन’ भन्ने आहानै छ । कृषि कार्यमा पोख्त मानिने मुसहरको किसानका खेतमा मजदुरी गरेर गुजारा चलाउने स्थापित परिचय छ । पछिल्लो कालमा सनीखोलाको नदी उकास जग्गा पाएपछि आफ्नै खेती थालेका मुसहर अन्न र नगद सञ्चय गर्न सक्षम भएका छन्।

‘नदी उकास बगर पाएको पहिलो वर्ष त ढुंगा, गेग्य्रान खोस्रेर छेउ लाउँदै बित्यो, दोस्रो वर्षदेखि फसल लिन पाएका छौँ,’ कुष्माढीका मुसहर समुदायकी ३५ वर्षीया कविता सदा भन्छिन्, ‘अब जहान–परिवारको प्रतिपाल यही बगर खोस्रेर पुग्छ।’ 

पहिलेको बलौटे ढड्यान जग्गा नियमितको खनजोत, सिँचाइ र जैविक मलले अब उर्वर जग्गा बनेको छ । उत्तरतिर वनक्षेत्रसँगै जोडिएको यो जग्गामा वनक्षेत्र, खोल्साखोल्सी र खोलाले बगाएर ल्याएको पाँगो माटोले रोपिएका फलका रुख दुई वर्षमै हुर्केका र बालीनाली पनि हलक्क बढ्ने गरेको गौशाला– ८ का वडाध्यक्ष भोजबहादुर दर्लामी बताउँछन्।

केही पहिलेसम्मका गरिब बगरखेतीले राम्रा किसान बनेका र उनीहरूको मिहिनेतले नदी उकास क्षेत्र हराभरा देखिँदा जग्गा बाँडिएको कुराले निकै सन्तोष दिने गरेको गौशालाका नगरप्रमुख डा. दीपेन्द्र महतोको भनाइ छ। 

बगरखेतीका किसानलाई नगरपालिकाले गरेको सहयोग खेर नगएको हुँदा यस कामले आफूलाई निकै हौस्याएको डा. महतो बताउँछन्। ‘किसानका साथमा नगरपालिका छ, मिहिनेत किसानले गर्छन्, साथ हाम्रो रहन्छ,’ डा. महतोले भने।

यसैगरी सामुदायिक विकास तथा पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले पनि आफ्नो संस्थाबाट बगरखेतीका किसानलाई साथ–सहयोग जारी रहने प्रतिबद्धता जनाएका छन् । सबैको सकारात्मक साथले बगरखेतीका किसानको हौसला बढेको छ । ‘हाम्रो मिहिनेत सफल भएको छ, सबैको साथ रहिरहे हामी बगरमा सुन फलाउँछाैँ,’ कुष्माढीकी किसान बिना पासवान भन्छिन् । 

सनीखोलाको बगरखेती अवलोकन गर्न टाढाटाढाबाट किसान समूह त्यहाँ पुग्ने गरेका छन् । यसबाट आफूहरूलाई खेतीमा लाग्न ऊर्जा मिलेको पासवानले बताइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad