समाज


सिराहामा यौन दुर्व्यवहारमा परेकी २५ वर्षीया महिला मृत भेटिइन्

घटना अनुसन्धानमा प्रहरीको आलटाल, ६५ दिनपछि मात्रै जाहेरी दर्ता
सिराहामा यौन दुर्व्यवहारमा परेकी २५ वर्षीया महिला मृत भेटिइन्

मृतक आनन्दीदेवी सदाय


नेपालखबर
बैशाख ३, २०८२ बुधबार ९:३०, काठमाडौँ

सिराहामा यौन दुर्व्यवहारमा परेकी २५ वर्षीया महिला मृत भेटिएकी छन्। नरहा गाउँपालिकास्थित बर्छवा टोलकी २५ वर्षीया आनन्दीदेवी सदाय मंगलबार माइती घरमा मृत भेटिएकी हुन्।

उनी सिराहाकै नवराजपुर गाउँपालिका– ३ दोनबारी टोलस्थित माइतीघरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी सिराहा प्रहरीले जनाएको छ।

चार महिनाअघि गाउँकै दुई युवाले आफूमाथि बलात्कार प्रयास गरेपछि उनी न्यायको प्रतिक्षमा थिइन्। तर, प्रहरी प्रशासनले न्यायमा ढिलाइ गरेपछि उनले आत्महत्याकाे बाटाे राेजेकी आफन्तले बताएका छन्। याे घटनामा प्रहरीले घटना भएको ६५ दिनपछि मात्रै जाहेरी दर्ता गरेको पाइएको छ। 

घटनालगत्तै उनले दोषीमाथि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा जाहेरी दिएकी थिइन्। तर, प्रहरीले तुरुन्तै उजुरी दर्ता गरेर पीडकलाई पक्राउ गर्न ढिलाइ गरेको र पीडकले गाउँमै मिलापत्र गर्न दबाब दिएपछि उनले आत्महत्याको बाटो रोजेकी आमा बिलटौनदेवी सदायले बताइन्।

आनन्दीदेवीको शव हाल लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ। आनन्दीदेवीकी दुई वर्षीया एक छोरी छिन्। वलात्कार प्रयास भएपछि उनलाई पतिले पनि वेवास्ता गरेका आफन्तकाे भनाई छ।

मृतक महिलाकी आमा बिलटौनदेवी सदायसहितका आफन्त रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले यो घटना अनुसन्धानकै क्रममा रहेको बेला पीडिले आत्महत्या गरेको बताए।

‘अहिले आरोपी भारततिर भागेका छन् भन्ने छ। खोजतलास जारी छ,’ एसपी शर्माले नेपालखबरसँग भने, ‘म दुई साताअघि मात्रै सिराहा आएको हुँ। म आएपछि चलिरहेका मुद्दालाई ध्यान दिएर हेर्न निर्देशन दिएको छु। यो घटनामा के भएको रहेछ, म थप बुझ्छु।’

उनले यो घटनामा प्रहरीले उजुरी दर्ता गर्न केही दिन ढिला गरेको स्वीकार गरे। 

‘तर, मैले थाहा पाए अनुसार अनुसन्धान वेवास्ता गरेको भन्ने होइन। यस्तो घटनामा हदम्याद ६ महिना हुन्छ। तर त्यतिबेलै किन उजुरी दर्ता भएन, म सम्बन्धित निकायमा बुझ्ने छु।’ 

यस्तो छ घटना विवरण
गएको पुस ९ गते बरियारपट्टी गाउँपालिका– १ कचनारीको नरगीस्थित दिदीको घरमा जाँदै गर्दा आनन्दीदेवीलाई नवराजपुर गाउँपालिका– ३ जगतपुरका २२ वर्षीय संजिवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले एकान्त बलात्कार प्रयास गरेका थिए। 

उनीहरुले जबर्जस्ती गर्न थालेपछि उनले चिच्याउँदै भागेर ज्यान जोगाएकी थिइन्। त्यसलगत्तै आमाछोरी भएर महेशपुरपतारी प्रहरीमा किटानी जाहेरी दिएका थिए । तर, त्यहाँका प्रहरी इन्सपेक्टर रवीन मैनालीले उजुरी तुरुन्तै दर्ता गरेर पीडकलाई पक्राउ नगरेको आरोप पीडित पक्षको छ। 

घटनाको ६५ दिनपछि मात्रै महेशपुरपतारी प्रहरीले उजुरी दर्ता गरेको पीडित पक्षको गुनासो छ। त्यतिन्जेलम्म घटनालाई गाउँमै मिलापत्र गर्न दबाब दिँदै आएका आरोपी हाल फरार छन्। 

छोरीमाथि बलात्कार प्रयास गरेकाहरूविरुद्ध किटानी जाहेरी दर्ता गराउन गएको बेलादेखि नै प्रहरीबाट दुर्व्यवहारमा भएको मृतक आनन्दीदेवीकी आमाको आरोप छ। तर, इन्स्पेक्टर मैनालीले भने बलात्कार प्रयाससम्बन्धी जाहेरी दर्ता हुनुअघि नै प्रहरीकै सहयोगमा घाउजाँच केस गराइएको र दर्तापछि अनुसन्धान गरिरहेको दाबी गरेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad