समाज


चार संक्रमितको उपचार भइरहेको नारायणी अस्पतालको दुर्दशाः न पर्याप्त स्वास्थ्यकर्मी, न स्वास्थ्य सामग्री

चार संक्रमितको उपचार भइरहेको नारायणी अस्पतालको दुर्दशाः न पर्याप्त स्वास्थ्यकर्मी, न स्वास्थ्य सामग्री

सागर न्यौपाने
बैशाख २, २०७७ मंगलबार १५:४१,

चैत २७ को बिहान नारायणी उपक्षेत्रीय अस्पताल, पर्साका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायलाई खबर आयो– वीरगञ्ज महानगरपालिका २ को एक मस्जिदमा १४ जना भारतीय छन्, उनीहरुको कोरोना जाँच गर्नुपर्‍यो।

अस्पताल प्रमुख उपाध्यायले तत्काल उनीहरु बसेको स्थानमा पुगेर स्क्रिनिङ गराइ नमुना लिन लगाए। संकलित नमुना त्यही दिन मकवानपुरको हेटौँडा पठाइयो।

हेटौंडाबाट चैत २८ गते खबर आयो– केहीलाई कोरोना पोजिटिभ छ। उनीहरुको निगरानी गर्नू।

‘त्यसलगत्तै हामीले केही व्यक्तिलाई चैत २८ गते नै यही नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राख्यौं,’ डा. उपाध्याय भन्छन्।

संक्रमण पुष्टि गर्न पुनपरीक्षणका लागि उनीहरुको नमुना काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। शनिबार बिहान ३ जनामा कोरोना संक्रमण पुष्टि भयो।

‘त्यसपछि हामीले उनीहरुको लक्षणअनुसारको उपचार सुरु गर्‍यौं। एकजनालाई खोकी लागेको छ,’ डा. उपाध्यायले नेपालखबरसँग भने, ‘अरु २ जनालाई ज्वरो आएको छ। सोही अनुसारको औषधि दिएर राखेका छौं।’

०७७ सालको पहिलो दिन रौतहतमा एक १९ वर्षीय युवालाई पनि कोरोना संक्रमण पुष्टि भयो। उनलाई पनि सोही अस्पतालमा ल्याइएको छ।

चारै जना संक्रमितको नियमित जाँच हुने गरेको डा. उपाध्यायले बताए।

नारायणी उपक्षेत्रीय अस्पताललाई सरकारले चैत ३० गते कोभिड १९ को उपचार गर्ने अस्पताल घोषित गर्दै अन्य सेवा बन्द गरेको छ।

मंगलबारदेखि उक्त अस्पतालका बहिरंग, इमर्जेन्सी, प्रसुती, गाइनो, मेडिसिन, सर्जरी लगायतका सेवा बन्द गरिएको छ।

‘हाम्रो अस्पतालमा भर्ना भएका सबै बिरामी आजैदेखि नेसनल मेडिकल कलेजमा सारिएको छ,’ डा. उपाध्यायले मंगलबार फोनमा भने।

narayanihospital2
डा. मदन उपाध्याय 

स्रोतसाधनको चरम अभाव
कोरोना संक्रमितको उपचारका लागि आवश्यक स्रोतसाधनको अस्पतालमा चरम अभाव छ।

‘जम्मा २ वटा भेन्टिलेटर छन्,’ डा. उपाध्यायले भने, ‘हामीसँग आईसीयू बेड ६ वटा छ। तर ती कोरोना संक्रमितको उपचार गर्नका लागि होइनन्।’

अस्पताललाई कोरोनाको उपचारमा केन्द्रित गर्ने हो भने एक सय बेड सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। स्रोत र साधन भएको बेड बनाउन ढिलाइ गर्न नहुने उनले सुझाव दिए।

यो अस्पतालमा डाक्टरदेखि तल्लो तहका कर्मचारीसमेत गरी एक सय ९९ सय जनाको दरबन्दी छ। ६० प्रतिशत दरबन्दी कर्मचारी छैनन्।

‘अहिले जनशक्ति कम रहेपनि डाक्टर, नर्स लगायतको टिमले काम गरिरहेका छौं, अब संख्या बढ्यो भने काम गर्न सकिदैँन,’ उनले भने।

अहिले कोरोना संक्रमित चार जनाको उपचारमा ३ डाक्टर र ५ नर्सको टोली खटिएको छ।

आइसोलेसन वार्डमा रहेका संक्रमितको उपचारमा खटिने डाक्टर र नर्सहरुलाई एकहप्ता काम गरेपछि क्वारन्टिनमा राखिने गरिएको छ।

‘एउटा टिम क्वारन्टिनमा बसेपछि अर्काे टिमले काम गर्नुपर्छ, अहिले हाम्रोमा जनशक्ति नै कम भइसक्यो,’ उनले भने, ‘कोरोना संक्रमित बढ्ने खतरा छ, यति मात्र जनशक्तिले उपचार नै गर्न सक्दैनौँ।’

बिरामीको अवस्था गम्भीर बन्यो भने कसरी उपचार गर्ने? अहिले यही विषयमा प्रदेश २ सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कुरा गरिरहेको उनी बताउँछन्। गम्भीर बिरामीको उपचार आईसीयूमा मात्रै गर्नुपर्ने र त्यसबेला डाक्टर र नर्सको संख्या नपुग्ने उनको चिन्ता छ।

‘सामान्य खालको उपचार गर्छौँ, अहिले ४/५ जना उपचार गर्न सक्छौं,’ उनले भने, ‘तर, यसभन्दा संख्या बढ्यो भने उपचार गर्न नसकिने चिन्ता छ।’

अस्पतालमा स्वाब संकलनका लागि आवश्यक भीटीएम किटसमेत अभाव रहेको उनले बताए।

‘अब जम्मा ५ वटा भीटीएम किट स्टक छ। यस्तो अवस्थामा भोलि मैले कसरी स्वाब परीक्षण गर्न पठाउने?’ उनले प्रश्न गरे।

कोरोना संक्रमितको उपचारमा लगाउनैपर्ने पीपीईको पूर्ण सेट अस्पतालमा उपलब्ध छैन।

narayanihospital3

संक्रमितको संख्या बढ्छ बढ्छ’
अस्पतालवरिपरि एकदमै त्रासको अवस्था छ। मानिसहरुको आवतजावत ठप्प जस्तै भएको छ। अस्पतालकै कर्मचारीले काम गर्न गाह्रो मानेका छन्।

‘डराउन थालेका छन्, आउनै मान्दैनन्,’ डा. उपाध्यायले भने।

यो क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्ने उनको अनुमान छ, जसले अस्पतालमा चाप बढाउने छ।

‘हामीले भारतबाट आएका केही व्यक्तिको सामान्य स्क्रिनिङ गर्दा ३ जना पोजिटिभ भेटियो। जबकि यिनीहरु क्वारन्टिनमा पनि बसेका थिएनन्,’ उनले भने, ‘संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको स्क्रिनिङ गर्न भ्याइएको छैन, कन्ट्याक्ट ट्रेसिङ हुँदैछ, पोजिटिभको संख्या बढ्छ, बढ्छ। अवस्था भयावह छ।’

उनले परीक्षणको दायरा बढाउनुपर्ने बताए।

‘जब हामीले टेस्टिङको दायरा बढाउँछौं, घेरामा ल्याउँछौं, आइसोलेट गर्छौं, अनिमात्रै थाहा हुन्छ,,’ डा. उपाध्याय भन्छन्, ‘अहिले त उनीहरुले कतिलाई भेटे, कहाँ कहाँ गए भन्ने नै थाहा छैन।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .