बलात्कार अभियोगबाट सन्दीप लामिछानेले उच्च अदालतबाट सफाइ पाएपछि उनका समर्थकहरूको बाक्लो उपस्थिति सडकमा देखिएको छ। उनीहरूले अदालतको फैसलाको स्वागत गरेका छन्।
ललितपुरमा उच्च अदालत रहेको क्षेत्रमा समर्थकहरूले जुलुस गरिरहेका छन्। केहीचाहिँ बाजागाजासहित त्यहाँ पुगेका थिए।
सुरक्षाकर्मीको बाक्लो तैनाथीबीच समर्थकहरूको भिडले ट्राफिक व्यवस्थापन गर्न प्रहरीलाइ हम्मे परेको थियो।
काठमाडौँ जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका लामिछानेले उच्च अदालत, पाटनबाट सफाइ पाएका हुन्।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले बलात्कार नठहर्ने फैसला गरेको हो।
बलात्कार मुद्दामा सन्दीपले पाए उच्च अदालतबाट सफाइ
मंगलबार र बुधबार लगातार भएको सुनुवाइपछि उच्च अदालतको यो निर्णय आएको हो।
जिल्ला अदालतको फैसलाविरुद्ध लामिछानेले गत फागुन १० गते उच्च अदालतमा पुनरावेदन दिएका थिए।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुसमा सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना हुने गरी सजाय सुनाएको थियो।





















Shares

प्रतिक्रिया