खेल


दीपक विष्ट, बेइजिङ ओलम्पिक र लियोनल मेस्सी (भिडिओ)

दीपक विष्ट, बेइजिङ ओलम्पिक र लियोनल मेस्सी (भिडिओ)

यज्ञराज जोशी
साउन ४, २०७८ सोमबार ६:४१,

दीपक विष्ट नेपाली खेलकुदले पाएको सर्वश्रेष्ठ खेलाडी हुन्।

उनी रिङमा उत्रिँदा अनेक पटक साक्षी बनेका भेन्ट्रोन खेल पत्रकार हिमेश बज्राचार्य दीपकको शरीर र दिमागको अविश्वसनीय सम्मिश्रणले उनलाई सर्वश्रेष्ठ खेलाडी बनाएको बताउँछन्। हिमेशको शब्द सापटी लिँदा दक्षिण एसियामा विष्ट ‘अपराजित’ खेलाडी हुन्। 

नेपालमा आयोजना भएको १९९९ को आठौँ, २००४ को नवौँ (पाकिस्तान), २००६ को दसौँ (श्रीलंका) र २०१० को एघारौँ (बंगलादेश) सागमा लगातार चार स्वर्णपदक जित्नुले पनि तेक्वान्दो खेलाडी विष्ट अपराजित खेलाडी हुन् भन्ने पुष्टि गर्छ।

‘उनी पक्कै पनि अब्बल दर्जाका खेलाडी हुन्। उनको बचाउ जति राम्रो छ, उत्तिकै राम्रो आक्रमण पनि छ। खेलमा उनको शरीर मात्र चल्दैन, दिमाग पनि चल्छ,’ हिमेश भन्छन्, ‘उनी शरीर र दिमागको अविश्वसनीय सम्मिश्रण गर्छन्।’

‘उनी छोटो समयमा छरितो निर्णय गर्न पनि माहिर छन्। सबैभन्दा ठूलो उनी चलाख छन्,’ हिमेशले थपे, ‘छोटोमा भन्दा उनी जत्तिको सफल खेलाडी अरू कोही छैनन्।’

दक्षिण एसियाली खेलकुदमा चार स्वर्णपदक जित्ने कीर्तिमान विष्टका नाममा अहिलेसम्म कायम छ। यद्यपि अघिल्लो वर्ष नेपालमै भएको १३ औँ सागमा पौडीकी गौरिका सिंहले विष्टको चार स्वर्णको कीर्तिमान बराबरी गरेकी छन्।

तर, दीपकलाई सर्वश्रेष्ठ बनाउने अर्को ठूलो उपलब्धि हो– ओलम्पिकमा छनोट चरण पार गर्न सफल हुनु।

१९६४ को टोकियो ओलम्पिकदेखि यसवर्षको टोकियो ओलम्पिकसम्म आइपुग्दा नेपालले १४ पटक सबैभन्दा ठूलो खेल–मेलामा सहभागिता जनाउँदैछ। अहिलेसम्म ८५ खेलाडीले नेपालबाट ओलम्पिकमा सहभागिता जनाएका छन्। 

८५ मध्ये जम्मा दुई खेलाडीले मात्रै छनोट चरण पार गरेर आफ्नै बलबुतामा ओलम्पिक खेलेका हुन्। बाँकी सबै खेलाडी वाइल्ड कार्ड अर्थात् ओलम्पिकले कोही देश नछुटून् भनी छुट्टाइएको कोटामार्फत सहभागी भएका हुन्। 

२००४ मा संगीना वैद्यले छनोट चरण पार गरेर ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएकी थिइन्। 

त्यसको चार वर्षपछि विष्टले संगीनाकै सफलता दोहोर्‍याए। २००८ को बेइजिङ ओलम्पिकमा छनोट चरण पार गर्दै विष्टले नेपालको भण्डा बोकेका थिए। 

शनिबार शंखमुलस्थित विष्ट निवासको पदकहरुले सुसज्जित बैठक कोठामा उनले हामीलाई त्यो ओलम्पिकको कथा सुनाए। 

कोरियाको त्यो दुःख

सन् १९९९ को साग गेम्समा भारतका एके दिलीप सिंहलाई फाइनलमा ९–३ को सानदार स्कोरले हराउँदै दीपक २००० को सिड्नी ओलम्पिक छनोट खेल्न पुगे। तर उनीसँगै सबै नेपाली खेलाडीलाई निराशामात्रै हात पर्‍यो। कसैले पनि छनोट चरण पार गर्न सकेनन। 

२००४ को एथेन्स ओलम्पिकका लागि भएको एसियाली छनोट खेलहरु बैंककमा भएको थियो। त्यही छनोट चरण पार गर्दै ओलम्पिकको ढोका खोलेर तेक्वान्दोकै संगीना वैद्यले सनसनी मच्चाएकी थिइन्।

एकातिर सहकर्मी सफल हुनुको खुसी त थियो नै, सागमा लगातार दोस्रोपटक स्वर्ण जितिसकेका र ठूलो आशा लिएका दीपकलाई छनोट हुन नसक्दाको पीडा पनि उति नै थियो। 

‘साग र एसियन गेम्समा पदक जितिसकेको थिएँ। त्यसबेला मेरो अन्तिम धोको नै ओलम्पिक खेल्ने थियो,’ दीपक सम्झन्छन्, ‘बैंककमा संगीना छनोट हुँदा निकै खुसी त थिएँ। तर आफू छनोट नहुँदा खल्लो लाग्यो, जीवनमा ओलम्पिक खेल्नु रहेनछ कि भन्ने लाग्यो। ओलम्पिक नै खोल्ने सपना पुरा नहुने हो कि भन्ने चिन्ताले सतायो।’

ओलम्पिक खेल्ने खेलाडीलाई संसारभर उच्चकोटीको खेलाडी मानिन्छ। लगातार दोस्रो पटक छनोटमा असफल हुँदा दीपकलाई खल्लो लाग्नु स्वभाविक थियो। 

तर उनी हार मान्नेखाले थिएनन्। २००८ मा चीनको बेइजिङमा ओलम्पिक हुने तय थियो। बढ्दो उमेर र शारीरिक चोटका कारण त्यो आफ्नो अन्तिम ओलम्पिक हुने उनलाई थाहा थियो। त्यसअघि पाकिस्तानमा भएको साग गेम्समा दायाँ खुट्टा भाँचिएर सर्जरी गर्नुपरेको थियो। बायाँ खुट्टामा पनि समस्या देखिन लागिसकेको थियो। 

बेइजिङ ओलम्पिकको छनोट भियतनाममा थियो। त्यसको तयारीका लागि दीपक कोरिया पुगे। नेपालबाट विष्टसँगै पुष्प थापामगर प्रशिक्षणका लागि कोरिया पुगेका थिए। आठ महिना नियमित प्रशिक्षण गरेका थिए। त्यसबेलाको तयारीमा भएको असह्य पीडा सम्झँदा अहिले पनि दीपकको जिउ सिरिङ्ग हुन्छ।

कोरियामा हरेक दिन तीन–चार पटक अभ्यास गर्नुपर्थ्यो। अभ्यासका क्रममा कोरियाली खेलाडीहरु कुनै दया नदेखाई लात्ती–मुक्का हान्थे। घुँडा यति दुख्थ्यो कि सहकर्मी पुष्पले दिनदिनै मालिस गर्दिन्थे। घुँडा सुन्निएर लगातार बरफले सेक्नुपर्थ्यो। ट्वाइलेट जानसमेत सक्थेनन्। नेपाली खाना पनि पाइँदैनथ्यो। हरेक दिनको कडा प्रशिक्षणले उनको शरीर नै थिलथिलो बन्थ्यो। 

पुष्पले त कतिपटक दीपकलाई ‘गुरु नखेलुम् न यस्तो दुःख गरेर’ पनि भन्थे। तर, दीपक यही दुःखले पो ओलम्पिकमा छनोट गराउने हो कि भनेर आफूलाई ढाडस दिन्थे। 

क्वान हुन जोङ दीपकका कोरियाली प्रशिक्षक थिए। उनले घुँडामा नदुख्ने सुइ लगाइदिन्थे र प्रशिक्षणमा सहभागी गराउँथे। 

‘पचासौँ, सयौँ सुई लगाएँ। साइड इफेक्ट नहुने रहेछ। घुँडा त्यति बिग्रिसकेको थियो तर पनि लागिरहेँ। खुट्टा नै बिग्रिने हो कि ह्विलचेयरमै हिँड्नुपर्ने हो कि भन्ने सोच्थेँ,’ दीपकले सुनाए।

त्यो प्रशिक्षणले भियतनाममा नतिजा पनि दियो। पहिलो फाइटमा ‘बाइ’ बनेर अघि बढे। दोस्रो फाइट उनको इरानका हादी साइसँग भयो। १९९५ देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न थालेका हादीले विष्टसँग खेल्नुअघि विश्व च्याम्पियनसिप, ओलम्पिक, एसियन गेम्सलगायतमा १० स्वर्णपदक जितिसकेका थिए। यसअघिको २००४ को एथेन्स ओलम्पिकमा पनि उनले स्वर्णपदक जितेका थिए। 

पहिलो खेलमा बाइ पाएकाले दीपकलाई के सुविधा थियो भने हादीसँग हारेपनि अर्को खेलमा जित्नेबित्तिकै ओलम्पिकमा छनोट हुन्थे। लगातार विश्व च्याम्पियन बनिरहेका हादीलाई हराउन सजिलो थिएन। त्यसैले प्रशिक्षकले हादीसँग बचेर खेल्न सुझाव दिए। अर्को खेल जसरी पनि जित्ने रणनीति थियो। 

दीपकले राम्रै खेले तर हादीसँग हारे। अर्को खेल एसियन खेलमा दोस्रो भएका सिरियाका खेलाडीसँग थियो। उनका लागि यो गर या मरको खेल थियो। 

‘त्यो खेल हारेको भए मेरो ओलम्पिक सपना त्यहीँ सकिने थियो। त्यही भएर यो मेरो अन्तिम खेल हो भनेर मैले खेलेँ,’ दीपक सम्झिन्छन्, ‘पुरै तागत, दिमाग र ९ महिना कोरियामा प्रशिक्षणको दुःखका सबै कुरा मनमा राखेर त्यो खेल खेलेँ र जितेँ पनि।’

हादीसँगको उत्कृष्ट प्रदर्शन र सिरियाली खेलाडीलाई पनि हराउँदै ओलम्पिकमा छनोट भएका विष्टलाई आयोजकले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको अवार्ड पनि दियो। एसियाली प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बन्ने दीपक पहिलो र एक मात्रै नेपाली खेलाडी पनि हुन्। 

‘त्यो खेल जितेसँगै म खुसीले चिच्याएँ,’ दीपक भन्छन्, ‘मेरो सपना पुरा भएको थियो। त्यसबेला मेरो छनोट नभएको भए त्यो मेरो अन्तिम खेल हुन्थ्यो। मैले खेल जीवनबाट पनि सन्यास लिने ठानिसकेको थिएँ। त्यो नजितेको भए ओलम्पियन दीपक विष्ट भनेर नाम पनि कहिल्यै आउँदैनथ्यो।’ 

छनोट भएर नेपाल फर्केपछि विमानस्थलमा बाजागाजासहित विष्टलाई भव्य स्वागत गरिएको थियो। त्यही सम्मानका कारण खुट्टा भाँचिदा पनि खेल जीवनलाई निरन्तरता दिन उत्प्रेरणा आफूले पाएको उनी बताउँछन्। 

विमानस्थलको त्यो लफडा
नेपाल आइपुग्दा उनको घुँडाको समस्या झनै बल्झिरहेको थियो। डा. अजय राना, डा. सरोजकृष्ण श्रेष्ठ, डा. बाबुकाजी श्रेष्ठले जाँचेपछि घुँडाको अप्रेसन गर्नुपर्ने सुझाव दिए। 

त्यसबेला दीपकसँग दुई विकल्प थिए। अप्रेसन गरे आराम गर्नुपर्ने हुन्थ्यो। आराम गर्दा ओलम्पिक गुम्थ्यो। अप्रेसन नगर्दा उनको दुखाइ झनझनै बढ्दै जाने र पछि गम्भीर समस्या देखिनसक्ने चिकित्सकले बताएका थिए। 

दीपकलाई जसरी भएपनि ओलम्पिक खेल्नु थियो। दुःख–कष्ट लुकाउँदै उनले ओलम्पिक खेल्ने निर्णय लिए। फेरि कोरियामा तीन महिना प्रशिक्षण लिन गए। कोरियाको प्रशिक्षण पुरानै शैलीको थियो।

अन्ततः बेइजिङ उड्ने दिन आयो। तर जाने दिन विमानस्थलमा घटेको तितो घटना सम्झँदा अहिले पनि दीपकलाई निकै खल्लो महसुस हुन्छ। 

नेपालमा ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद् तथा अन्य खेलकुदभित्रको राजनीति पुरानै हो। त्यो दिन विमानस्थलमा खेलाडी तथा पदाधिकारी उड्ने बेलामा आफ्ना मान्छेहरु ओलम्पिक जान नपाएको भन्दै हंगामा मच्चाइएको थियो। 

‘एयरपोर्टमा जुलुस, नारा, लछारपछार थियो। हामी लुकेर भित्र छिरेका थियौँ। त्यो देख्दा निकै नराम्रो लागेको थियो,’ दीपक सम्झिन्छन्, ‘त्यो गन्जागोल देख्दा हत्तेरिका भन्ने महसुस भएको थियो। शुभकामना पाउनुपर्ने ठाउमा तानातान हानाहानको दृश्यसहित जानुपर्दा खल्लो महसुस भएको थियो। 

लगातार सागमा तीनपटक स्वर्णपदक र एसियन गेम्समा दुई कास्यपदक जितिसकेका दीपकले पदक जित्ने अपेक्षा धेरैले राखेका थिए। त्यसैले उनले विमानस्थलको त्यो हुलदंगालाई खासै वास्ता गरेनन्। आफ्नो प्रदर्शनमा ध्यान केन्द्रित गरे। 

छनोट खेल पार गरेर, त्यो पनि एसियाको पनि उत्कृष्ट खेलाडी बनेर गएका दीपकले नेपालको झन्डा बोक्ने अवसर पाएका थिए। त्यो आफ्ना लागि ठूलो सम्मान भएको महसुस उनले गरेका छन्।

सन् २००८ को ८ महिना ८ तारिखको दिन पारेर बेइजिङमा ओलम्पिकको उद्घाटन भएको थियो। बेइजिङको बर्डस् नेस्ट स्टेडियममा अद्भुत तरिकाले उद्घाटन समारोह आयोजना गरिएको थियो। त्यो माहौलमा देशको झण्डा बोकेर हिँड्दा उनको खुट्टा भुइँमै थिएनन्। उनलाई हावामा उडिरहेको महसुस भइरहेको थियो। 

फेरि इरानी खेलाडीसँगै पहिलो खेल
खेल तालिका पहिले नै हात परिसकेको थियो। ओलम्पिक छनोटमै भिडेका विश्व च्याम्पियन इरानका हादी नै उनको पहिलो प्रतिद्वन्द्वी थिए। 

पहिलो राउन्डमा विष्टले हादीलाई रोक्ने प्रयास गरे। जसका कारण हादीले स्कोर पनि ढिलो मात्रै गर्न सके। तर, दोस्रो र तेस्रो राउन्डमा रणनीति परिवर्तन गर्दै हादीले दीपकलाई हराए।

‘उ एकदमै बाठो खेलाडी थियो। निकै अनुभवी पनि। हामी वर्षमा एउटा दुईवटा गेम खेल्थ्यौं। उसले वर्षमा २०–३० खेल खेल्थ्यो,’ विष्ट भन्छन्, ‘खेल एक्सपोजरले पनि हामी त्यो लेबलमा पुग्न नसकेको महसुस भएको थियो। अहिले पनि खासै फरक छैन। नेपाली खेलाडीहरु त्यहीँ चुकिरहेका छन्।’

हादी फाइनल पुगेपछि उत्कृष्ट प्रदर्शनका आधारमा खेलाडीलाई पुनः मौका दिइन्छ। जसलाई तेक्वान्दोको भाषामा ‘रिपिचेज’ भनिन्छ। हारका बाबजुद हादीसँगको उत्कृष्ट प्रदर्शनले विष्टले पुनः मौका पाए। 

दोस्रो पटक उनले चिनियाँ खेलाडीसँग भिड्नुपर्यो। हल चिनियाँ समर्थकले खचाखच भरिएको थियो। हुटिङले नै विपक्षी खेलाडीको ध्यान भंग गर्थ्यो। चिनियाँ खेलाडीसँग राम्रो खेले पनि ‘टेक्निकल्ली’ पराजित भएको उनी बताउँछन्।

विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सहभागिता जनाउँदा पनि आफूले ‘नर्भस’ महसुस नगरेको उनको भनाइ छ।

‘जुनसुकै प्रतियोगितामा पनि भिड्ने त्यही रिङमा हो। फरक महसुस गर्ने खेलाडीले कहीँ पनि राम्रो गर्न सक्दैन,’ उनी भन्छन्, ‘सबैले खेललाई एकदमै सिरियस्ली लिनुपर्छ। यो सबैभन्दा ठूलो गेम चाँही थियो। खेल्ने, हान्ने त्यसरी नै थियो। ओलम्पिकमा अहिलेसम्म नेपालले पदक ल्याउन सकेको थिएन। जसरी पनि ल्याउनुपर्छ सोच्दा दबाब महसुस हुँदो रहेछ।’ 

पदकको लक्ष्य र भाग्य
दीपकले पदक ल्याउने अपेक्षा राखेका थिए। किनभने ओलम्पिकमा भिड्ने अरु देशका तिनै खेलाडी थिए, जोसँग उनले त्यसअघि एसियन च्याम्पियनसिप, ओलम्पिक छनोट, विश्व च्याम्पियनसिपमा पनि खेलिसकेका थिए। त्यहाँबाट पदक ल्याइसकेका थिए। 

तर, आफूले पदकको अपेक्षा पुरा गर्न नसकेको महसुस उनलाई अहिले पनि छ। 

‘केही कुरा भाग्यमा पनि भर पर्छ। टाइसिट तलमाथि भए वा हादीको स्थानमा पहिलो खेलमा अरु खेलाडी भए दुई तीन फाइट जितिन्थ्यो कि भन्ने लाग्छ,’ दीपक भन्छन्, ‘मनमा केही न केही मेडल आउँछ भन्ने लागेको थियो। तर सातौँ नम्बरमा खुम्चिए पनि मेरो प्रदर्शनबाट कोही असन्तुष्ट रहनुभएन।’

ओलम्पिकबाट निराश भएपछि उनले फेरि सागबाट पदक जितेर चित्त बुझाए।

‘पदक आइदिँदा मेरो जिन्दगीको सपना पुरा हुन्थ्यो भन्ने सोचेको थिएँ। तर भएन। नेपाल फर्केपछि म दुःखी थिएँ,’ विष्ट भन्छन्, ‘सोही कारण प्रतिकूल अवस्थाका बाबजुद मैले चौथोपटक साग खेल्दै पदक जितेर दुखेको घाउमा मल्हम लगाउने निर्णय लिएको थिएँ।’ 

ओलम्पिकमा आफ्नो प्रदर्शनबाट असन्तुष्ट भएकै कारण विष्टले नेपाल फर्केपछि ढाकामा हुने साग खेल्ने अड्डी कसे। जबकि माहौल उनको विपक्षमा थियो। उनको घुँडाको अप्रेसन नगरी नहुने भएको थियो। तीन स्वर्ण जितिसकेको र उमेर पनि बढी भइसकेकाले थुप्रैले अरु खेलाडीलाई मौका दिनुपर्ने आवाज चर्को बनाएका थिए। प्रशिक्षकले पनि उनलाई आराम गर्न सुझाव दिए। तर, उनले मानेनन्। त्यही विषयमा प्रशिक्षकसँग पनि भनाभन भयो।

‘रिस्क लिएर खेलेको हो। डाक्टरसँग प्लिज यो खेल खेल्न दिनू भनेर खेलेको हुँ। ज्यानको बाजी राखेर, वैशाखी, ह्विलचेयरको सहारामा बसौँला भनेर खेलेको हुँ,’ उनी भन्छन्, ‘ओलम्पिकमा धेरैलाई मैले निराशा दिएको छु। त्यो पीडा म सागमा पदक ल्याएर पूर्ति गर्न चाहन्थेँ। अन्ततः चौथो स्वर्ण पनि जित्न सफल भएँ। त्यसले ओलम्पिकमा पदक नजितेको पीडामा मल्हम लगाउन मद्दत ग¥यो।’

‘खेलाडीमात्र होइन व्यवस्थापनमा पनि प्रतिस्पर्धा हुनु आवश्यक’
सन् २००० मा मात्रै तेक्वान्दो खेललाई ओलम्पिकमा औपचारिक मान्यता दिएको थियो। त्यसअघि प्रदर्शनी खेलका रुपमा राखिँदा नेपालका विधान लामाले १९८८ को सोल ओलम्पिकमा कास्यपदक जितेका थिए। तर, प्रदर्शनी खेलका रुपमा मात्रै भएकाले त्यो पदकले मान्यता पाएन। 

‘पदक तालिकामा नगनिए पनि ओलम्पिकमा लडेरै लामाले नेपालका लागि पदक ल्याएका हुन्,’ विष्ट भन्छन्, ‘दुई जना छनोट पार गरेर पनि खेलिसकेका छौँ। त्यसले नेपालका खेलाडीहरु पनि प्रतिभावान् छन भन्ने पुष्टि गर्छ। ओलम्पिकका लागि अरु देशले खेलाडीको प्रदर्शनसँगै व्यवस्थापनमा सुधार्दै लागेका छन्। खेलाडीले मात्रै जित्ने होइन, ओलम्पिकमा पदक जित्न अरु देशका व्यवस्थापनलाई पनि जित्नुपर्छ।’

‘एउटा खेलाडीले खेलेरमात्रै जित्न सक्दैन। त्यहाँ प्रशासन, मन्त्रालय, ओलम्पिक कमिटी, संघ, प्रशिक्षकको सम्मिश्रणबाट पदक आउँछ,’ उनी थप्छन्, ‘खेलाडीलाई दिनदिनै चारचोटी प्रशिक्षण गराएर मात्रै पदक आउँदैन। म्याच एक्सपोजर गराउनुपर्यो। डाइट, न्युट्रिसन, फिजियोको व्यवस्था गर्नुप¥यो। त्यसपछि बल्ल पदकको अपेक्षा राख्न सकिन्छ।’ 

यसवर्ष तेक्वान्दोले वाइल्ड कार्ड इन्ट्री त पाएन। तर, पारा–तेक्वान्दोले भने सहभागिता जनाउँदैछ। पारा खेलाडी पलेशा गोर्वधन पारा तेक्वान्दोका साथ रिङमा उत्रिँदैछन्। 

पारा–तेक्वान्दोका सचिव समेत रहेका दीपक यसपटक सहभागिता मात्रै नभएर पदक नै जित्ने लक्ष्यका साथ पलेशाले प्रतिस्पर्धा गर्ने विश्वास व्यक्त गर्छन्। पारामा पदक आए पनि ओलम्पिक पदक नै भएकाले पारा खेललाई पनि सरकारले प्राथमिकतामा राख्नुपर्ने उनले बताए। 

मेस्सीसँगको भेट

बेइजिङ ओलम्पिकमा दीपकको अर्को अविस्मरणीय क्षण भनेको उनका मनपर्ने खेलाडी अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई भेट्नु हो। ओलम्पिक भिलेजमा विश्वकै चर्चित खेलाडीहरु एकै ठाउँमा उपस्थित हुन्थे। 

बेइजिङ पुगेको आठदस दिनपछि प्रशिक्षणबाट फर्किएका दीपक आफ्ना प्रशिक्षकसँग बसेर खाना खाइरहेका थिए। त्यहीबेला अर्को टेबुलमा रहेका खेलाडीहरुतर्फ उनको ध्यान गयो। त्यहाँ अर्जेन्टिनाको फुटबल टोली थियो। 

महेन्द्रनगरमा आईएस्सी पढ्दादेखि नै उनले मेस्सीलाई फलो गर्न थालेका थिए। अर्जेन्टिनी टोली देखेपछि दीपकको नजर मेस्सीलाई खोज्नतर्फ लाग्यो।

कुनामा उनले मेस्सी जस्तै खेलाडी पनि देखे। तर, मेस्सी हो कि होइन, खुट्याउन सकेनन। प्रशिक्षकलाई सोधे। प्रशिक्षकले पनि नचिन्ने बताए। 

खाना खाएर टेबुलबाट उठेपछि भने दीपक ढुक्क भए, मेस्सी तिनै थिए। मेस्सीसँग फोटो खिचाउने त्यो मौका उनी गुमाउन चाहँदैनथे।

हिम्मत जुटाएर उनी नजिक गए। एउटा फोटो खिच्ने अनुरोध गरे। मेस्सीले उनको अनुरोध सहजै स्वीकारे। प्रशिक्षकले उनीहरुको तस्बिर खिचिदिए। 

‘मेस्सी त्यति अंग्रेजी नबोल्ने रहेछन्। मैले एउटा नेपालको झन्डासहितको ब्याच चिनो स्वरुप दिएँ,’ दीपक मेस्सीसँगको भेट सम्झन्छन, ‘उनले ब्युटिफुल, नाइस भन्दै ग्रहण गरे। उनी एकदमै सौहार्द्रपूर्ण, प्यारा मान्छे रहेछन्। मेस्सीसँगको त्यो भेट मेरो जीवनकै अविस्मरणीय रह्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .