खेल


टोक्यो ओलम्पिक : खेलाडीको प्रतिस्पर्धा भन्दा पदाधिकारीलाई घुम्ने बहाना

नेपालको उपलब्धी राष्ट्रिय कीर्तिमान सुधार
टोक्यो ओलम्पिक :  खेलाडीको प्रतिस्पर्धा भन्दा पदाधिकारीलाई घुम्ने बहाना

लक्ष्मी जि.सी
साउन १५, २०७८ शुक्रबार १२:५०,

विदेश घुम्ने रहरले नेपाली खेलकुद पदाधिकारीलाई नराम्ररी गाँजेको छ। जापानको टोक्योमा जारी ओलम्पिकमा पनि खेलाडी भन्दा पाँच गुणा बढी  पदाधिकारीको लर्को लागेको छ। 

त्यहाँ खेल्न गाएकाभन्दा पाँच गुणा धेरै पदाधिकारीको भ्रमणले चर्चा भएको छ। शुक्रबारसम्मको नतिजा अनुसार नेपालका कुनै खेलाडीले खुसी हुने नतिजा दिन सकेनन्। सरस्वती चौधरी १०० मिटर दौडमा हिट चरणबाटै बाहिरिएसँगै नेपालको यात्रा सकिएको छ। तर खेल पदाधिकारीहरूको घुमफिर भने रोकिएको छैन। 

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले व्यवस्थापकका नाममा छानेका खेल पदाधिकारीबारे नेपालमा हुँदैदेखि आलोचना भइरहेको थियो। खेल पदाधिकारीका रुपमा सांसददेखि दलका नेतासम्म जापान घुम्न गएका छन्। 

नेकपा एमालेकी नेतृ एवम् संघीय सांसद तुलसा थापा पनि खेल व्यवस्थापकका रुपमा जापान पुगेर फर्किसकेकी छिन्। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु दुई दिनअघि उनी जापान उडेकी थिइन्। 

जुडो खेल व्यवस्थापकका रुपमा टोक्यो ओलम्पिकमा सहभागी उनी उद्घाटनको मार्चपासमा पनि हात हल्लाउँदै अग्रपंक्तिमा देखिएकी थिइन्। तर जुडो खेलसँग उनको कुनै सम्बन्ध र साइनो छैन।

एमाले उपाध्यक्ष वामदेव गौतमकी पत्नी उनी राजनीतिक आडमै नेपाल कबड्डी संघको अध्यक्ष बनेकी छन्। पछिल्लो निर्वाचनमा सचिवमा निर्वाचित हुँदै एनओसीमा उनले औपचारिक प्रवेश पाएकी छन्। त्यसैले ओलम्पिकमा जान उनले जुडो खेलको सहारा लिनुपरेको हो।

थापा मात्रै होइन, एनओसीका अन्य पदाधिकारी र सदस्य कुनै सम्बन्ध नभएको खेल व्यवस्थापक बनेर टोक्यो पुगेका थिए। एनओसीका सदस्य प्रकाश शमशेर राणा पनि जुडो व्यवस्थापकका रुपमा जापान गएका थिए। 

तेक्वान्दोका दुई खेलाडीलाई वाइल्ड कार्डका लागि एनओसीले पहल गरेको थियो। तर, कुनै खेलाडीले त्यो सुविधा पाएनन्। त्यही पनि तेक्वान्दोका अध्यक्ष राणालाई जापान जान कसैले रोकेन। खेलाडी नै सहभागी नभएको खेलका पदाधिकारी उनलाई जापान जान न समस्या भयो, न त नैतिक अफ्ठेरो नै लाग्यो।

नेपाल फेन्सिङ संघका अध्यक्ष एवम् एनओसी उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ हुन्। तर ओलम्पिकमा उनी सुटिङको व्यवस्थापक बनेर जापान पुगे। अमेरिकामा बस्दै आएका एनओसीका सह–महासचिव पिताम्बर तिम्सिना एथलेटिक्सको व्यवस्थापक बनेर जापान जाने तयारीमा थिए। तर, अन्तिम समयमा नजाने बताएपछि अन्ततः एथलेटिक्स टोली व्यवस्थापकविहीन भयो। 

खेलाडीको प्रदर्शन 

यसपटक टोक्यो ओलम्पिकमा नेपालका पौडीबाट २, जुडो, सुटिङबाट १ खेलाडीले भाग लिएका थिए। एथलेटिक्सकी सरस्वती चौधरी आज भएको खेलमा पहिलो चरणमै बाहिरिइन्। उनले राष्ट्रिय कीर्तिमान पनि सुधार्न सकिनन्। उनीहरुका ४ प्रशिक्षक छन्। 

टोक्यो ओलम्पिकमा सहभागी पौडीबाज गौरीका सिंह, एलेक्स शाह र सुटिङकी कल्पना परियारले आफ्नो राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन्। उता एथलेटिक्सकी सरस्वती चौधरी र जुडोकी सोनिया भट्टले भने पहिलो पटक ओलम्पिकको अनुभव बटुल्ने मौका पाए।  

गत शनिबार बिहान भएको सुटिङ खेलमा महिलातर्फ १० मिटरमा ६१६.८ अंक बनाउँदै आफ्नै कीर्तिमान तोडेकी हुन्। यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा पनि कल्पनाले नै ६१४.५ स्कोरका साथ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। 

पौडीकी गौरीका सिहंले बुधबार महिला एक सय मिटर फ्री स्टाइलमा १ मिनेट ११ मिलिसेकेण्डमा दुरी पार गर्दै आफ्नै कीर्तिमान सुधार गरिन्। यसअघि १ मिनेट ६२ मिलिसेकेण्डमा दुरी पार गर्दै राष्ट्रिय कीर्तिमान आफ्नो नाममा गरेकी थिइन्। 

पौडीकै एलेक्स शाहले १ सय मिटर फ्री स्टाइलमा ५३.४१ सेकेन्डमा दुरी पार गर्दै आफ्नै नाममा रहेको कीर्तिमान तोडे। यसअघि एलेक्सको नाममा ५६.२८ सेकेन्डमा दुरी पार गरेको कीर्तिमान थियो।

गोपीलाई अन्याय, पदाधिकारीलाई मस्ती

आन्तरिक छनोट पूरा गरेर टोक्यो ओलम्पिकको म्याराथनमा भाग लिन पाउने भनिएका धावक गोपीचन्द्र पार्कीमाथि अन्याय भयो । उनले ओलम्पिकमा भाग लिनै पाएनन्। 

म्याराथन सहभागीका लागि दिएको समयमा नाम दर्ता नभएपछि गोपीले ओलम्पिक खेल्ने मौका गुमाए। तर एथलेटिक्सबाटै एनओसी छिरेका तिम्सिनाले त्यसबारे केही बोलेनन्। गोपीको सट्टा सरस्वती चौधरीले १ सय मिटर दौडमा भाग लिइन्। तर उनले आफ्नै कीर्तिमान सुधार्न सकिनन्।

उनको प्रशिक्षकका रुपमा पठाउन एथलेटिक्स संघले इन्द्रकुमार मल्ललाई पोखराबाट काठमाडौं झिकाएको थियो। अन्त्यमा उनी पनि जापान जान पाएनन्। कोरोनाको पहिलो परीक्षण पोजेटिभ आएको भन्दै उनको ठाँउमा गोपीका प्रशिक्षक सन्तोष श्रेष्ठ टोक्यो पुगे। तर, त्यो रिपोर्टमा शंका लागेको भन्दै मल्लले आफूलाई अन्याय भएको बताउँदै आएकी छिन्। 

मल्लले आफूलाई अन्याय भएको बताइरहँदा उनलाई जवाफ दिन जरुरी नसम्झिने एनओसी पदाधिकारी र सदस्यहरु भने जापान भ्रमणमा रमाइरहेका छन्। 

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले अर्को खेल पौडी व्यवस्थापकका रुपमा जापान पुगेका थिए। संघीय सांसद समेत रहेका जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ एनओसीको प्रतिनिधिका रुपमा ओलम्पिकमा भाग लिनु स्वभाविक हुन सक्छ। 

ओलम्पिकमा हरेक देशका ओलम्पिक कमिटी अध्यक्ष र महासचिवलाई निमन्त्रणा हुन्छ। तर, व्यवस्थापक छनोटमा भने यो पटक पनि एनओसी नराम्ररी चुकेको छ। एनओसी कार्यसमितिकै पदाधिकारी सदस्यहरुलाई खुसी पार्न व्यवस्थापक तोकिएको खेल वृत्तमा चर्चा छ। 

सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई सन्तुलनमा राख्न एनओसीले राखेप सदस्य सचिवलाई ओलम्पिकमा ‘सेफ द मिसन’को जिम्मेवारी दिएको थियो। राखेपकै अन्य दुई सदस्यमा सुभाष श्रेष्ठ र सम्पन्न श्रेष्ठ पनि समान्य व्यवस्थापनको जिम्मेवारी लिँदै जापान पुगे। युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने एनओसी अट्याचीका रुपमा ओलम्पिकमा सहभागी भए।

सुरु देखि नै जापान जाने सूचीमा रहेका राखेपका उपाध्यक्ष शिव कोइराला र एनओसी उपाध्यक्ष समेत रहेका प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेज गुरुङ र पछिल्लो समय एनओसी सह-महासचिव तिम्सिनाले अन्तिम समयमा आएर ओलम्पिक नजाने घोषणा गरेका थिए।
 
ओलम्पिकमा पुगेका पदाधिकारी

  •  जीवनराम श्रेष्ठ – अध्यक्ष, एनओसी (अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको आमन्त्रण)
  •  निलेन्द्रराज श्रेष्ठ – महासचिव, एनओसी (अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको आमन्त्रण)
  • चतुरानन्द राज वैद्य – उपाध्यक्ष तथा कार्यकारी निर्देशक, एनओसी (कोभिड लाइसेन्स अफिसरको भूमिकामा)
  • सुनिलकुमार श्रेष्ठ – उपाध्यक्ष, एनओसी तथा अध्यक्ष फेन्सिङ (ओलम्पिकमा सुटिङ व्यवस्थापक)
  • कुमारी तुलसी थापा – सचिव, एनओसी तथा कबड्डी अध्यक्ष (ओलम्पिकमा जुडो व्यवस्थापक)
  • प्रकाश शमशेर राणा – सदस्य, एनओसी तथा तेक्वान्दो संघ अध्यक्ष (ओलम्पिकमा जुडो व्यवस्थापक)
  •  राम अवाले – सदस्य, एनओसी तथा बक्सिङ अध्यक्ष (ओलम्पिकमा पौडी व्यवस्थापक)
  •  केदार न्यौपाने – सचिव, युवा तथा खेलकुद मन्त्रालय (ओलम्पिकमा एनओसी अट्याची)
  • रमेशकुमार सिलवाल – सदस्यसचिव, राखेप (ओलम्पिकमा सेफ द मिसन)
  • सुभाष श्रेष्ठ – सदस्य, राखेप (ओलम्पिकमा प्रशासन सदस्य)
  • सम्पन्न श्रेष्ठ – सदस्य, राखेप (ओलम्पिकमा प्रशासन सदस्य)
  • नविशमान सिंह प्रधान – मेडिकल
  • प्रेम बराल – कर्मचारी, टोकियो नेपाली दूतावास
  • रुपेश डंगोल – स्वयंसेवक, टोक्योस्थित नेपाली स्वयंसेवक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .