ad ad

खेल


रंगशाला पुगेर फुटबल हेर्न पाउँदा दर्शक उत्साहित

रंगशाला पुगेर फुटबल हेर्न पाउँदा दर्शक उत्साहित

भारतीय टाेलीविरुद्ध बल अघि बढाउँदै नवयुग र खेल हेर्दै दर्शक। तस्बिर : विक्रम राई


लक्ष्मी जि.सी
भदौ १८, २०७८ शुक्रबार १३:५५, काठमाडौँ

कोभिड १९ पूर्ण रुपमा नियन्त्रण त भइसकेको छैन तर यसविरुद्धको खोप अभियान र वैशाख १६ यता जारी निषेधाज्ञा हटेसँगै जनजीवन सामान्य बन्ने क्रममा देखिन्छ। 

यहीबीचमा नेपाल र भारतको राष्ट्रिय फुटबल टोलीबीच मैत्रीपूर्ण खेल भइरहेको छ। कुल दुई खेल खेल्न आएको भारतीय टोलीले नेपालसँग बिहीबार पहिलो खेल खेलिसकेको छ भने आइतबार अर्को खेल हुँदै छ। 

कोरोनाकै कारण खेलमा दर्शकसहितको खेल भएका थिएनन्। वैशाख/जेठमा भएको नेपाल सुपर लिग (एनएसएल) दर्शकविना नै आयोजना भएको थियो। 

त्यसको एक महिनाअघि चैतमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू २३ बीच त्रिदेशीय प्रतियोगिता भएको थियो। नेपाल र बंगलादेशबीचको फाइनल हेर्न दर्शक रंगशाला पुगेका थिए।

काेराेनाकाे प्रभाव कायमै रहँदा यसपटक नेपाल र भारतबीचको खेल दर्शकविना हुने तय थियो। तर, अन्तिम समयमा एक तिहाइ दर्शक राख्ने गरी अखिल नेपाल फुटबल संघ (एन्फा)ले सरकारबाट बुधबार मात्र स्वीकृति लिएको थियो।

त्यसकै फाइदा उठाउँदै झण्डै ४ हजार दर्शकले रंगशाला नै पुगेर नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल हेर्न पाए। कोरानाविरुद्धको दुवै खोप लगाएका वा कोरोना परीक्षण नेगेटिभ आएका समर्थकलाई मात्र टिकट काटेर हेर्न पाउने शर्त राखिएको थियो। गेटमा जाँचका क्रममा त्यसको पालना भएको थियो।

दंग छन् दर्शक 
शर्तसहित पनि दर्शक खेल हेर्न रंगशाला पुगे। खेल हेरेर फर्किने दर्शकका आआफ्नै अनुभूति थिए।

डेढ वर्षअघि स्वदेशमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा पुरुष फुटबलको फाइनल दशरथ रंगशालामै भएको थियो। त्यो फाइनल हेरेपछि दामोदर मैनाली पहिलोपटक बिहीबार रंगशाला छिरे।

लामो समयपछि रंगशाला पुगेर फुटबल हेर्न पाउँदा दंग उनले भने, ‘एक समय थियो फुटबलमा बललाई अगाडि मात्रै लैजानुपर्छ भन्ने थियो। तर अहिले त्यो सोचमा परिवर्तन देखियो। पहिला र अहिलेको खेलमा निकै परिवर्तन देखियो। नयाँ प्रशिक्षक आएपछि केहि प्रगति देखिएको छ।’

‘महंगो टिकट’
कतिपयले टिकट महंगो भएको गुनासो पनि गरे। एन्फाले भीआईपी प्यारापिटतर्फ २ हजार र साधारण प्यारापिटतर्फ १ हजार टिकट दर तोकेको थियो। 

मैनालीलाई भने टिकट दर महंगो लागेन। धेरै दर्शक आउन इच्छुक छन् तर कोरोनाको मापदण्डका कारण आउन नसकेको उनको भनाइ थियो। 

उनले भने, ‘भौतिक दूरीलाई कायम गर्दै सिटको व्यवस्थापन गरिएको छ। सायद थोरै दर्शकलाई प्रवेश दिइएको भएर टिकट मूल्य बढी राखिएको होला। त्यो ठीकै छ।’

‘दुवै टोलीले राम्रो खेले’
लगनखेलबाट खेल हेर्न पुगेका सातबोखत राउत पनि खेलको नतिजाबाट सन्तुष्ट देखिए। 

उनले भने, ‘दुवै टोलीले राम्रो खेले। बराबरी भयो, खुसी लाग्यो।’ 

सम्भव हुँदासम्म राउत रंगशाला पुगेरै खेल हेर्न मन पराउँछन्। 

‘यहाँ खेल हुँदा सधैँ हेर्न आउँछु, नयाँ प्रशिक्षक आएपछि नेपाली टोलीमा केही परिवर्तन देख्न पायौँ। त्यो राम्रो हो’, खेल हेरेर फर्किँदै गर्दा उनले भने। 

सन् २०१५ मा विश्व कप छनोटमा गोलरहित बराबरी खेलेपछि दशरथ रंगशालामा नेपाल र भारतीय टोली पहिलोपटक आमनेसामने भएका हुन्। 

खेलअघिको पत्रकार सम्मेलनमा भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालसँग खेल्न सधैँ गाह्रो हुने बताएका थिए। 

नेपाली टोलीले पहिलो हाफमा त्यही छनक पनि दियो। भारतीय टोली नेपालविरुद्ध खुलेर खेल्नै सकेन। अन्जन विष्टको गोलबाट नेपालले अग्रता पनि बनाएको थियो। यद्यपि त्यो अग्रतालाई नेपालले जोगाउन सकेन।

३६औँ मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाए। 

भारतले चिनग्लेनसाना सिंह कोन्सामको ब्याकपासलाई गोलरक्षक गुरुप्रित सिंह सन्धु अगाडि बढेको मौका छोप्दै अन्जन विष्ट उनलाई बिट गर्दै समय लिएर बललाई खाली पोष्टमा गोल गरे।

दोस्रो हाफमा दबाब
भारतीय प्रशिक्षकले दोस्रो हाफमा चार खेलाडी परिवर्तन गरे। त्यसपछि भारतीय टोलीले खेलमा दबाब बढायो। 

६०औँ मिनेटमा कप्तान सुनिलले पेनाल्टी बक्सबाहिरबाट कडा प्रहार गरे। त्यसलाई गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाए पनि बल मैदानमा खस्यो।

त्यसको फाइदा उठाउँदै भारतीय खेलाडी अनिरुद्ध थापाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

बच्चा लिएर खेल हेर्न रंगशालामा
सानी छोरीलाई लिएर रंगशाला पुगेकी सुनिता श्रेष्ठ खेल सकिएपछि निदाएकी छोरीलाई काखमा बोकेर फर्किँदै थिइन्। उनी नेपालको प्रदर्शनबाट खुसी देखिइन्। 

‘मलाई फुटबल हेर्न मन लाग्छ, त्यसैले छोरीलाई लिएरै भने पनि आएँ’, उनले नेपालखबरसँग भनिन्। 

खेल हेरेर फर्किँदै गरेकी दर्शक हिरा पन्थीलाई पनि नेपालको खेल राम्रो लाग्यो। अर्का दर्शक उमेश पुनको बुझाइमा नेपालले भारतसँग पहिलेभन्दा राम्रो प्रदर्शन गर्यो। 

पुनले भने, ‘पहिला एट्याकिङ खेल्न डराउँथ्यो। यसपटक त्यस्तो देखिएन। तर पनि डिफेन्स लाइनमा अझै सुधार गर्नुपर्ने देखिन्छ।’ 

नियमित रक्षक रोहित चन्दविनै नेपाली टोली भारतविरुद्ध उत्रेको थियो।

अब्दुल्लाह अल्मुताइरीले नेपाली टोलीको प्रशिक्षण सम्हालेयता टोलीले दशरथ रंगशालमा खेलेको त्यो पहिलो खेल थियो। 

जित्न नसकेकामा प्रशिक्षकको ‘सरी’
अलमुताइरीले जित दिलाउन नसकेकोमा समर्थकहरुसँग माफी नै मागे। यद्यपि टोलीको प्रदर्शनमा भने सन्तुष्ट रहेको बताए।

उनले अर्को महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपका लागि यही प्रदर्शनले मात्र नपुग्ने पनि जनाए। 

‘खेलाडीको प्रदर्शनमा म खुसी छु’, खेलपछि उनले भने, ‘तर यो प्रदर्शनले साफ च्याम्पियनसिपलाई पुग्दैन। हामीले अझै मिहिनेत गर्नुपर्नेछ।’

सधैँको बलियो प्रतिद्वन्द्वी भारत
नेपालका लागि भारत सधैँ बलियो प्रतिद्वन्द्वी रहँदै आएको छ। 

२० खेलमा नेपालले अहिलेसम्म २ खेल मात्र जित्नसकेको छ। 

३ खेलमा हार व्यहोरेको नेपालले भारतविरुद्ध बिहीबार खेलेको पाँचौँ बराबरी खेल हो।

२ हजार टिकट बिक्री 
एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहका अनुसार २ हजार टिकट बिक्री भएको थियो। 

भीआईपी र साधारण प्यारापिट दुवैतर्फ एक लाइनमा दुई सिट छाडेर दर्शकलाई बस्न दिएको थियो। 

सिंहका अनुसार झण्डै १५ सयलाई भने पास वितरण गरिएको थियो। कोरोना पूर्ण रुपमा नियन्त्रण नभएसम्म विगतमा जस्तै रंगशालामा भरिभराउ दर्शक देख्न पाइनेछैन। 

तर, नेपाल र भारतबीचको खेलपछि अब फुटबलमा दर्शकसहित खेलाउन सकिने संकेत भने मिलेको छ। 

एन्फाले कात्तिक अन्तिमबाट सुरु गर्ने सहिद स्मारक ए डिभिजन लिगका लागि पनि दर्शकको उपस्थिति रहने आशाले फुटबलमा केही रौनक फर्किने अपेक्षा राख्न सकिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .