ad ad

खेल


गुलशन झा : छोटै समयमा राष्ट्रिय टोलीमा, पूरा गर्लान् पेस बलिङको कमी

बाउन्सरले जितेका थिए वाटमोरको मन
गुलशन झा : छोटै समयमा राष्ट्रिय टोलीमा, पूरा गर्लान् पेस बलिङको कमी

लक्ष्मी जि.सी
भदौ २२, २०७८ मंगलबार ७:४७, काठमाडौँ

पहिलो पटक राष्ट्रिय टिममा परेका छन् तीव्र गतिका बलर गुलशन झा। उनले अमेरिका र ओमानसहितको त्रिकोणात्मक सिरिजबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने सम्भावना छ।

ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि नेपाली टोली हाल ओमानमा छ। नेपाली टोलीले सिरिजअघि पपुवा न्युगिनसिँग दुई खेलको एक दिवसीय सिरिज खेल्दैछ।  

पहिलो खेलमा नेपालले मंगलबार पपुवा न्युगिनी (पीएनजी) सँग खेल्न लागेको हो। जुन खेल गुलशनका लागि परीक्षणसरह हुन सक्नेछ। 

मंगलबारको खेलमा प्लेइङ सेटमा पर्दै राम्रो प्रदर्शन गरेमा उनले ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजमा पनि मौका पाउने छन्।

पहिलो घरेलु प्रतियोगिता खेलेको छोटो समयमा नै राष्ट्रिय टोलीमा पर्ने भाग्यमानी खेलाडी हुन् गुलशन झा। सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको टोलीमा गुलशन पहिलो पटक परेका हुन्। 

गत चैतमा भएको मेयर्स कप क्रिकेट प्रतियोगिता खेलेका गुलशन त्यसको ६ महिनापछि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइए। छोटो समयमै टोलीमा पर्नेमा स्वयम् गुलशनलाई पनि विश्वास थिएन। 

‘आफूले सकेको राम्रो गर्ने हो। सुरुवाती ११ मा परिन्छ की परिन्न, त्यो सोच्ने होइन’, उनी भन्छन्, ‘प्रशिक्षणमा बोलाइएपछि ब्याटिङ, बलिङ र अनुशासनसहित धेरै कुरा सिक्न पाएको छु। टोलीमा पर्दा प्रेसर त फिल गरेको छैन। जे सिकेको छु, त्यसलाई प्रदर्शन देखाउने कोशिस गर्छु।’

प्रशिक्षणका क्रममा सिनियर खेलाडीसँग धेरै सिक्न पाएको उनी सुनाउँछन्। ‘सिनियर दाइहरुसँग खेल्न पाउँदा खुसी लागेको छ। धेरै कुरा सिकिरहेको छु’, उनले सुनाए, ‘प्रशिक्षकको धेरै सर्पोट छ। केही गल्ती हुँदा आएर सिकाउनुहुन्छ। अहिले राम्रो गर्ने, बेस्ट दिने सोचेको छु।’

बाउन्सर प्रहार गर्दै विपक्षी खेलाडीलाई पवेलियन पठाउने उनको शैलीबाट मुख्य प्रशिक्षक डेभ वाटमोर प्रभावित भएका छन्। त्यहीकारण उनलाई टोलीमा अवसर दिएका हुन्। 

पहिलो घरेलु प्रतियोगिताबाट नै राष्ट्रिय टिममा पर्ने गुलशनले सोचेका थिएनन्। जुनसुकै समय मौका आउन सक्ने विश्वाससहित तयारी गरिरहेका थिए। १७ सदस्यीय टोलीमा आफ्नो नाम देख्दाको खुसी उनी व्यक्त गर्न सक्दैनन्।  

टोलीका कप्तान ज्ञानेन्द्र मल्ल पनि गुलशनको बलिङ शैलीबाट प्रभावित छन्। भन्छन्, ‘प्रशिक्षणमा राम्रो गरिरहेका छन्। धेरैलाई थाहा नहुन सक्छ उनी ब्याटिङ पनि राम्रो गर्छन्। पेस बलिङको कमी पूरा गर्न सक्छन् भन्ने लागेको छ।’ 

गुलशनलाई टिममा राखेर पोलिस गर्न सकियो भने आगामी प्रतियोगितामा पूर्ण  प्लेयर बन्ने  विश्वास छ मल्ललाई। अहिले ११ खेलाडी छान्न गाह्रो छ। त्यसैले टिममा जति खेलाडीबीच प्रतिस्पर्धा गर्न सक्यो, त्यो नै राम्रो हो।  

यसअघि सर्लाहीबाट प्रधानमन्त्री कप प्रदेश २ छनोट खेलेका उनले टोलीमा स्थान बनाउन सकेनन्। नेक्सस क्रिकेट एकेडेमीका प्रमुख भरत शाहीले उनलाई छात्रवृत्ति दिँदै होस्टेलमा राखेर तालिम दिन काठमाडौं बोलाए। 

नेक्ससले नेपाल पुलिस क्लबसँग मुलपानी क्रिकेट मैदानमा अभ्यास खेल खेलेको थियो। अभ्यास खेलमा राम्रो प्रदर्शन गरेका उनी नेपाल पुलिस क्लबको नजरमा परिसकेका थिए। त्यसैले गुलशनलाई मेयर्स कपका लगि पुलिस क्लबले टोलीमा समेट्यो।

विभागीय टोली नेपाल पुलिसबाट मेयर्स कप खेलेका गुलशनले पहिलो खेलमा विकेट लिन सकेनन्। तर प्रतियोगिताको फाइनल खेलमा अर्को विभागीय टोली एपीएफविरुद्ध उत्रेका उनले सात ओभरमा ३६ रन दिएर चार विकेट लिँदै चर्चा बटुले। 

एपीएफका ओपनर शंकर राना, कप्तान शरद भेषावकर, भुवन कार्की र कमलसिंह ऐरीलाई पवेलियन फर्काएपछि राष्ट्रिय टोलीको बाटो खुलेको हो। गुलशनको बाउन्सरबाट प्रभावित भएपछि छनोट समितिले बन्द प्रशिक्षणमा बोलायो। प्रशिक्षणमा राम्रो प्रदर्शन गरेका उनी टोलीमा परे।

यसअघि १४ खेलाडीले टोलीमा स्थान बनाउने गरेका थिए। तर अहिले कोरोना महामारीका कारण १७ सदस्य लैजान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले अनुमति दिएको छ।  

सर्लाहीको मलंगवामा बुवा अखिलेश कुमार र आमा अञ्जुकुमारी झाको कोखबाट जन्मेका गुलशनका एक भाइ र बहिनी छन्। 

सामान्य परिवारका जन्मेका गुलशनका बुबा इँटाभट्टामा काम गर्छन्। सानैदेखि क्रिकेट खेल्ने गुलशनका बुबा पनि क्रिकेटमा रुची राख्छन्। त्यसैले उनलाई क्रिकेटमा लाग्न गाह्रो भएन। 

सानोमा रहरले क्रिकेट खेल्ने गुलशनमा राम्रो क्रिकेटर बन्न सक्छु भन्ने सपना पलायो। जुन सपना साकार पार्न गुलशनका बुबाले सन् २०१७ मा भारत पठाउने निर्णय गरे।

भारतको झारखण्डस्थित अरुणोदय क्रिकेट एकेडेमीमा ४ वर्ष क्रिकेट सिकेर उनी नेपाल फर्के। गुलशनले एकेडेमीमा हुँदा भारतीय क्रिकेट टोलीका आक्रमक विकेट किपर ईशान किशन, सौरभ तिवारीसँगै रणजी खेलेका चर्चित खेलाडीसँगै खेलेको र नेटमा बलिङ पनि गर्ने गरेको सुनाउँछन्। जहाँबाट उनले प्रोफेसनल क्रिकेट सिक्ने मौका पाए। 

भारत र नेपालमा क्रिकेट सिकाइमा धेरै फरक नरहेको बताए। ‘नेपालमा आएर धेरै कुरा सिक्न पाएँ। कस्तो प्रेसरमा कस्तो बल फाल्ने, ब्याट्सम्यानलाई कसरी रिड गर्ने कुरा सिनियर दाइहरुले सिकाइरहनु भएको छ’, उनले सुनाए, ‘सिकिरहेको छु, अवसर पाएँ, सकेसम्म राम्रो दिनेछु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .