ad ad

खेल


बीचैमा छोडेर गए ह्वाटमोर

बीचैमा छोडेर गए ह्वाटमोर

राष्ट्रिय क्रिकेट टाेलीका प्रशिक्षक ह्वाटमाेर। तस्बिर : क्यान


लक्ष्मी जि.सी
असोज ४, २०७८ सोमबार १४:३६, काठमाडौँ

गत पुसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि अनुभवी प्रशिक्षक डेभ ह्वाटमोरसँगै नेपालले सन् २०२२ मा अस्ट्रेलियामा हुने टी–२० विश्वकप र सन् २०२३ मा भारतमा हुने एक दिवसीय विश्वकपको सपना देख्न थालेको थियो। 

ह्वाटमोरले सन् १९९६ मा श्रीलंकालाई विश्वकप जिताएका थिए। त्यसपछि ह्वाटमोर सन् २००३–००७ सम्म बंगलादेश राष्ट्रिय टोलीको प्रशिक्षक बने।

२००७ मा उनले बंगलादेशलाई विश्वकपको सुपर आठसम्म पुर्याए। त्यतिबेला बंगलादेशले भारत र दक्षिण अफ्रिकाजस्ता शक्तिशाली क्रिकेट टोलीलाई पराजित गरेको थियो।

भारतले अन्तरिम प्रशिक्षकका रुपमा रवी शास्त्रीलाई नियुक्त गरेपछि ह्वाटमोरलाई नेसनल क्रिकेट एकेडेमीको निर्देशकमा नियुक्त गरेको थियो। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पछि ह्वाटमोरलाई २००७ मा भारतको यू–१९ टोलीको जिम्मा दियो। 

जुन टोलीको कप्तान विराट कोहली थिए। त्यही टोलीले २००८ को यू–१९ क्रिकेट विश्वकप समेत जितेको थियो।

तीनै विश्व क्रिकेटमा अनुभवी प्रशिक्षकलाई पाएपछि नेपालले विश्वकप सपना देख्नु स्वाभाविक पनि थियो। उनलाई नियुक्त गर्दा टी–२० विश्वकपको नेपालले २०२२ फेब्रअरीमा सिधै ग्लोबल छनोट खेल्दै थियो। जसमा सहभागी हुने १६ टोलीमध्ये ४ टोलीले विश्वकपमा स्थान बनाउने प्रावधान छ। सोही चार टोलीमा पर्न सके नेपाल २०२२ अक्टोबरमा हुने विश्वकपमा खेल्न पाउने हो। 

यता २०२३ मा भारतमा एक दिवसीय विश्वकप हुँदै छ। त्यसका लागि अहिले नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ खेलिरहेको थियो। 

उक्त विश्वकपमा १० टोलीले सहभागिता जनाउनेछन्। जसमा आयोजक भारतसहित अहिले चलिरहेको क्रिकेट  वर्ल्डकप सुपर लिगबाट ७ वटा टोली र नेपाल खेलिरहेको क्रिकेट विश्वकप लिग–२ बाट दुई टोलीले स्थान बनाउनेछन्।

विश्वकप लिग–२ मा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। यस प्रतियोगिताको शीर्ष तीनमा रहनसके नेपालले १० टोली सहभागी विश्वकप छनोटमा भाग लिन पाउनेछ। २०२३ को फेब्रुअरीमा हुने उक्त छनोटको शीर्ष दुईमा रहनसके विश्वकपमा स्थान बनाउनेछ।

विश्वकप लिग–२ मा शीर्ष तीनभित्र रहनुपर्ने नेपाल ओमानमा भर्खरै सम्पन्न त्रिकोणात्मक शृंखलासँगै चौथो स्थानमा पुगेको छ। यीनै दुई विश्वकपको सपनासहित क्यानले ह्वाटमोरलाई कोरोना कहरबीच काठमाडौंमा स्वागत गरेको थियो। तर एक वर्ष कार्यकाल पनि पूरा नगरेर ह्वाटमोरले नेपाल बसाई टुंग्याउने निर्णय लिएपछि नेपाली सपनामा समेत धक्का पुगेको छ। 

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा राष्ट्रिय टोलीका व्यवस्थापक विनोद दास ह्वाटमोरलाई लामो समयका लागि नेपाली टोलीसँग राख्ने योजना रहेको तर दुर्भाग्यवश त्यो पूरा हुन नसकेको बताउँछन्।

‘दुर्भाग्यवश उहाँले छोडेर जाँदै हुनुहुन्छ। हामीले उहाँसँग लामो समय सहकार्यको योजना थियो। तर त्यो सम्भव भएन’, दासले नेपालखबरसँग भने, ‘जति समय बिताउनुभयो सफल रुपमै बिताउनुभयो। ट्राई सिरिज जित्यौँ र अहिलेको सिरिजमा पनि माथि उक्लियौँ। औसतमा राम्रो प्रदर्शन भएको छ।’

पूर्वकप्तान दास ह्वाटमोरले छोटो कार्यकालमा भएका स्रोत साधनको राम्रो सदुपयोग गरेको बताउँछन्।  तर दीर्घकालीन टोलीमा केही परिवर्तन ल्याउने समय उनीसँग नभएको ह्वाटमोरले बताए।  

‘छोटो कार्यकालमा परिवर्तन सम्भावना पनि थिएन। उहाँसँग जे जति स्रोतसाधन थियो, त्यसलाई राम्रोसँग सदुपयोग गर्नुभयो। यो बीचमा लामो समय पनि थिएन। दीर्घकालीन प्रभाव पार्न उहाँसँग समय पनि थिएन’, उनले भने। 

श्रीलंकामा जन्मेर अस्ट्रेलियामा बसोबास गर्दै आएका ह्वाटमोरले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए। 

छोटो समयमा नै नेपाली क्रिकेटलाई आशा जगाएका ह्वाटमोरको प्रशिक्षणमा नेपालले दुईवटा सिरिज खेल्यो। घरेलु मैदानमा भएको टी–२० आई त्रिकोणात्मक सिरिज र ओमानमा भएको ओडीआई सिरिजमा ह्वाटमोरले टोली सम्हालेका थिए। 

ह्वाटमोरले नेपाली टोलीको जिम्मेवारी सम्हाल्दा क्रिकेटजगत् उत्साहित थियो। तर ओमान भ्रमणको सिलसिलामा नै उनले नेपाली टोली छाडेर भारतीय टोली हेर्ने समाचार बाहिरियो। जसले क्रिकेट समर्थक आश्चर्यमा परेका थिए। 

गत पुसमा राष्ट्रिय टोली सम्हालेका ह्वाटमोरले माघमा प्रधानमन्त्री कप र फागुनमा काठमाडौं मेयर्स कप प्रतियोगितामा खेलाडीको प्रदर्शन हेर्ने मौका पाएका थिए। 

गत वैशाखमा नेपालले ह्वाटमोरको प्रशिक्षकमा नेदरल्यान्ड्स र मलेसियाविरुद्ध त्रिकोणात्मक टि–ट्वान्टी आई सिरिजमा उत्कृष्ट प्रर्दशन गर्दै उपाधि जितेको थियो। त्रिकोणात्मक सिरिजमा नेपालले अन्तिम तीन खेलमा लगातार दुई सयमाथिको योगफल बनाएको थियो। नेपालले फाइनलमा नेदरल्यान्ड्सविरुद्ध २ सय ३८ रन जोड्दै टी–२० आई इतिहासकै सर्वाधिक ठूलो योगफल थियो। 

त्यो सिरिजबाट नेपाली क्रिकेटमा देखिँदै आएको कमजोर ब्याटिङ र ओपनिङको समस्या हल हुने आशा गरिएको थियो। ह्वाटमोरले नै ओपनिङमा कुशल भुर्तेल र आशिफ शेखको जोडीलाई स्थापित गराए। 

ह्वाटमोरको प्रशिक्षणमा नेपालले ५ टी–२० आई क्रिकेट र ६ एक दिवसीय क्रिकेट खेल्यो। टी २० आई क्रिकेटका ६ मध्ये ४ खेलमा जित निकाल्दा १ खेलमा नेपालले हार भोगेको थियो। 

६ एक दिवसीय क्रिकेटमा ४ खेलमा जित निकाल्दा २ खेलमा पराजित भएको थियो। 

ओमान भ्रमणका क्रममा नेपालले ६ वन डे क्रिकेट खेलेको थियो। पपुवा न्युगिनीसँगको २ अभ्यास खेलमा नेपालले दुवै खेलमा जित निकालेको थियो। आइसीसी लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत अमेरिका र ओमान सम्मिलित खेलमा नेपालले ४ खेलमध्ये २ खेलमा हार र २ खेलमा जित निकालेको थियो। अमेरिकालाई पहिलो खेलमा ५ विकेटले हराएको नेपालले दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो। 

ओमानसँग पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा ७ विकेटले पराजित गर्दै ऐतिहासिक जित निकालेको छ। 

प्रशिक्षक ह्वाटमोरको प्रशिक्षणमा खेलेको अन्तिम खेलमा नेपालले ओमानलाई हराउँदै जित निकालेको थियो। 

सिरिजको अन्तिम खेलमा जित निकालेपछि प्रशिक्षक डेभ ह्वाटमोर निरन्तर साथको लागि धन्यवाद दिदै भविष्यमा नेपाल फर्किने इच्छा व्यक्त गरेका छन्। 

‘नेपाली टोलीसँग भविष्यमा फेरि हामी यो यात्रालाई निरन्तरता दिन सक्नेछौँ’, अन्त्यमा उनले टोलीसँग भविष्यमा काम गर्नेबारे इच्छा पनि जाहेर गरे, ‘हुनसक्छ भविष्यमा फेरी हामी यो यात्रालाई निरन्तरता दिन सक्नेछौँ।’ 

ह्वाटमोरले आफ्नो नेतृत्वको अन्तिम खेलपछि नेपाली खेलाडीको प्रशंसा गर्दै भने, ‘नेपाली टोली एकदम क्षमतावान खेलाडीले भरिएको छ।’ 

नेपालको प्रशिक्षक रहँदा समर्थकको निरन्तर साथको लागि उनले धन्यवाद व्यक्त गरे। 

समर्थकका लागि ह्वाटमोरले भने, ‘मैले धेरै सुनेको थिएँ– त्यसको केही झलक महसुस पनि गर्न पाएँ,  नेपालमा भएको त्रिकोणात्मक सिरिजमा सरकारले दर्शकलाई प्रतिबन्ध लगाउनुअघि समर्थकसहितको वातावरणमा पनि खेल्यौँ, समर्थकहरु मैदानमा आएर टोलीको साथ दिएको देख्दा खुसी लग्यो।’ 

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले सामाजिक सञ्जालमार्फत प्रशिक्षक ह्वाटमोरसँग काम गर्न पाएकोमा खुसी व्यक्त गर्दै लेखेका छन्, ‘हाम्रो प्रशिक्षकलाई शुभकामना, भविष्यमा हामीलाई राम्रो क्रिकेटर बन्न मद्दत गर्नुभएकोमा धन्यवाद!’ 

ह्वाटमोरले सन् २०२० मा बरोडासँग सम्झौता गरेका थिए। तर भिसामा कारण भारत जान नपाएपछि उनी नेपाल आएका थिए। 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले प्रशिक्षक डेभ ह्वाटमोरले छाडेकोमा दुःख लागेको बताएका छन्। 

कप्तान ज्ञानेन्द्रले भने, ‘जितका साथ प्रशिक्षक डेभ ह्वाटमोरलाई बिदाइ गर्न पाउँदा खुसी लागेको छ। प्रशिक्षक ह्वाटमोरको साथ नहुँदा पक्कै दुख लाग्छ। मलाई लाग्छ केहि चाडो नै छोडेर जानुभयो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .