ad ad

खेल


दौड जित्दै गर्दा यसरी चम्किँदै गयो जुम्लाकी सुनमायाको जीवन

घरमा भन्थे : उमेर गएपछि के गरेर खान्छेस्?
दौड जित्दै गर्दा यसरी चम्किँदै गयो जुम्लाकी सुनमायाको जीवन

अल्ट्रा दौडले चम्किएकी सुनमाया बुढा। तस्बिर : विक्रम राई/नेपालखबर


लक्ष्मी जि.सी
माघ ४, २०७८ मंगलबार २१:२, काठमाडौँ

मंसिर २५ गतेको एउटा सफलताले सुनमाया बुढाको जीवनमा नयाँ मोड आयो, जसले उनलाई चर्चामा ल्यायो। अल्ट्रा दौडको सफलताले उनलाई चर्चा दिलायो। थाइल्यान्ड बाई युटीएमबी वर्ल्ड सिरिज २०२१ जितेपछि उनले धेरैको ध्यान खिचिन्।

अल्ट्रा दौडमा मीरा राईको विशेष चर्चा हुने गर्छ। मीरालाई पनि पछि पार्दै सुनमायाले थाइल्याण्डमा सफलता प्राप्त गरेकी थिइन्। थाइल्याण्डमा १ सय १० किलोमिटरको त्यो अल्ट्रा दौड सुनमायाले १४ घण्टा ५४ मिनेट १ सेकेन्डमा पुरा गर्दै उपाधि जितेकी थिइन्। 

जुम्लामा जन्मिएकी सुनमायाले छोटो दौडबाट सुरुवात गरेकी थिइन्। थाइल्याण्डमा यत्रो सफलता प्राप्त गर्छु भन्ने विश्वास उनलाई थिएन। तर, उनले आफूलाई अब्बल साबित गरिन्। 

दौडको अनुभव सुनाउँदै सुनमाया भन्छिन्, ‘सायद नेपालमा त्यो दौड भएको भए २०–२१ घण्टा लाग्थ्यो होला। तर त्यहाँ नेपालको जस्तो अग्ला डाँडा छैनन्। त्यसैले सहज भयो।’

उनले जुम्लामा गरेको अभ्यास त्यहाँ निकै काम लाग्यो। जुम्लामा ३ हजार मिटर अग्ला डाँडामा दौडेकी उनलाई थाइल्याण्डका २१ सय मिटरसम्मको उचाइमा सजिलो भयो। 

वर्षौँको मेहनतले अहिले सुनमाया चर्चाको केन्द्रमा रहन सफल भएकी हुन्। थाइल्याण्डकै अल्ट्रा दौडका लागि मात्र उनले ९ महिना तयारी गरेकी थिइन्। तयारी गर्दैमा सफलता पाइन्छ भन्ने छैन। तर, सुनमायाले भने सफलताको स्वाद चाखेकी छिन्।

थाइल्याण्डको रेस जितेर स्वदेश फर्केपछि उनी जुम्ला पुगेकी छैनन्। काठमाडौँ आएपछि बुबासँग फोनमा कुरा भयो। रेस जित्दा पनि उनले त्यसको खुसी परिवारसँग साट्न पाएकी थिइनन्। मोबाइल नबोक्ने आमालाई उनले सफलताको खुसी सुनाउन पाइनन्। न उनको गाउँमा इन्टरनेट छ। रेस त्यति प्रतिष्ठित हो भन्ने पनि उनको परिवारलाई थाहा छैन।

भिडिओ

‘पहिला घरमा म यहाँ जान लागेँ मात्र भन्थेँ। त्यति नै बेला जितेँ भन्न पनि लाज लाग्थ्यो। पछि जितेँ भनेर सुनाउँदा ए राम्रो गरिस् भन्नुहुन्थ्यो,’ सुनमाया सुनाउँछिन्।

सुनमायाको जीवन सहज थिएन। खेलकुद पृष्ठभूमि भएको परिवार पनि उनको होइन। कमजोर आर्थिक अवस्था र ‘छोरीलाई पढायो भने पोइला जान्छन्’ भन्ने मानसिकता भएको समाजसँग लडेर आउनु उनको लागि कम्ता चुनौती थिएन। तर उनले हिम्मत हारिनन् लगातार मेहनत गरिरहिन्। 

कक्षा सातमा पढ्दा सुनमायाले पहिलो पटक दौडमा भाग लिएकी थिइन्। आफ्ना शिक्षकले भाग लिन सल्लाह दिएपछि उनी सहभागी भएकी थिइन्। उनी आफ्नो औपचारिक दौड भने ६ वर्षअघि सुरु भएको मान्छिन्। पहिला ट्रयाकमा छोटो दुरीको दौडबाट सुरु गरेकी उनले विस्तारै आफूलाई लामो दौडका लागि तयार गर्दै लगिन्। 

जुम्लाबाट सदरमुकाम खलंगा पुगेर कर्णाली स्पोर्टस् क्लबमा आबद्ध भइन्। ओलम्पियन हरि रोकायाले स्थापना र प्रशिक्षण दिने कर्णाली स्पोर्ट्समा जोडिएपछि मात्र उनको औपचारिक प्रशिक्षण सुरु भएको हो। 

त्यो बेलामा साथमा पैसा हुँदैन थियो। जसोतसो १ हजार जुट्यो। कसरी जुट्यो, अहिले उनलाई याद छैन। 

‘त्यो बेलामा पैसा पनि थिएन घरमा माग्ने अवस्था थिएन। तर, सायद घरमा नै १ हजार रुपैयाँ मागेँ होला,’ पुराना दिन सुनाउँदै सुनमायाले भनिन्, ‘त्यो पैसाले ट्रयाकसेट किनेँ, अर्को लुगा किन्ने अवस्था थिएन। त्यही लुगा धुँदै लगाउँदै गरेँ। जुत्ता च्यातिने बेलामा पनि कसरी किन्ने भन्ने चिन्ता हुन्थ्यो।’ 

दौडनकै लागि खलंगा पुगे पनि उनले परिवारलाई भने पढ्न जान लागेको बताएकी थिइन्। खलंगामा एउटा कोठा लिएर बसिन्। रासनपानी सकिँदा कसरी किन्ने भन्ने चिन्ता पनि उत्तिकै हुन्थ्यो। 

सुनमायालाई दौडन जति गाह्रो थियो, त्योभन्दा पनि पारिवारिक समस्या र नयाँ परिवेशमा भिज्न कठिन भयो। यहीबीचमा नेपालगञ्ज पुगेर उनी १ हजार ५ सय र ५ किलोमिटरको दौडमा सहभागी भइन् र जितिन्।

नेपालगञ्जको सफलताले उनलाई निरन्तर भाग लिने बाटो खुल्यो। बसमा लामो दुरीको यात्रा तय गरेर काठमाडौँसम्म आइन्। बसमा वान्ता हुने समस्या थियो त्यसैले यो रात केही नखाइ सुतिन्। भोलिपल्ट चना र अण्डा खाएर दौडिइन्। 

काठमाडौँको नयाँ परिवेश अनि भिडभाड। सुरुवातमा बाटो काट्न अनि बोल्न पनि डर लाग्थ्यो। भाषाकै कारण सुनमाया आफूलाई लागेका कुरा भन्न पनि धकाउँथिन्। 

‘बोल्दा कतिले जिस्काउँथे बोल्न पनि आउँदैन भनेर। त्यसले मनमा नराम्रो त लाग्थ्यो। मनमा थियो, एकदिन मज्जाले बोल्नेछु,’ बढेको आत्मविश्वासका साथ सुनमाया भन्छिन्। 

परिवारमा ७ दिदिबहिनी र १ दाजुमध्येकी चौथी सन्तान हुन् सुनमाया। सानोमा विद्यालय जान पनि गाह्रो थियो उनलाई। दिदीहरू भएकाले आफूलाई विद्यालय जाने अवसर मिलेको सुनमायाको बुझाइ छ। 

बिहानबेलुका घर र खेतबारीको काम, त्यसपछि स्कुल जान्थिन्। १० कक्षा पास गरेपछि पढ्छु भन्दा बुबाले भनेका थिए– ‘पढाउने पैसा छैन, बिहे गरेर जा। उतै पढाए पढ।’

बुबाको यो जवाफ उनी अहिले पनि सम्झिरहन्छिन्। 

घरमा विवाहको कुरा चल्दा उनी हल्का रुपमा लिन्थिन्। तर, बुबाले पटक पटक भन्न थालेपछि भने उनलाई साँच्चै विवाह गरिदेलान् कि भन्ने लाग्यो। तर, उनी दौडिन चाहन्थिन्। पढ्न पैसा नभए पनि खेलेर केही गर्छु भन्ने थियो। 

परिवारको सहयोगबिना नै खेलमा लागेकी सुनमायाले धरानमा १० किलोमिटरको दौड जितेपछि भने घरमा थाहा पाएका थिए। घर पुग्दा बुबाले दौडन सुरु गरिस् भनेर सोधेका थिए। उनले ‘हो’ भनेर जवाफ दिएकी थिइन्।

सुरुमा दौडमा भाग लिएर ७ हजार रुपैयाँ कमाएकी थिइन्। उनको पहिलो कमाइ त्यही नै थियो। त्यो पैसाले उनले कोठाभाडा तिरिन् र अरु आवश्यक सामान किनिन्। त्यति बेला डाइटको बारेमा उनलाई ज्ञान थिएन। प्रशिक्षक हरि रोकायाले खेलाडीका लागि खानपानको महत्व बताएपछि बल्ल त्यतातर्फ उनको ध्यान गएको हो। तर, त्यसका लागि आर्थिक अवस्था बाधक थियो। सामान्य खानपानमै उनको खेल जीवन अघि बढ्यो। 

दौडहरूमा भाग लिन थालेपछि भने घरबाट उनलाई विवाहको दबाब हुन छाड्यो। कहिलेकाहीँ गाउँ फर्कंदा गाउँलेहरु उनलाई भन्छन्, ‘उमेर हुँदासम्म यसरी दौडेर कमाएर खान्छेस्। उमेर गएसी के गर्छेस्? कसैले जागिर पनि दिन्न, पढाइ पनि छैन।’

‘उमेर गएसी जागिर खान गाह्रो हुन्छ। १०–१५ हजारको जागिर खा, पछिसम्म राम्रो हुन्छ।’ यस्ता सल्लाह पनि उनलाई बेलाबेलामा आउने गरेको छ। गाउँमा केहीले दौडेर खाएको पैसाले पछि राम्रो हुन्न भनेर आमालाई सुनाउने रहेछन्। 

सुरुमा दौडँदा कतिले उनलाई डर देखाउँथे।

‘दौडियो भने अनुहार बिग्रन्छ, बिहे गर्न केटा पाइँदैन, पाठेघर खस्छ’, साथीहरुले नै भन्थे।

त्यस्तो सुन्दा भने उनलाई नमज्जा लाग्थ्यो। सुरुमा साथ नभए पनि अहिले परिवार उनको समर्थनमा छ। भन्छिन्, ‘सुरुवातमा हो सहयोग नहुने। राम्रो गर्दै गएपछि सहयोग हुने रहेछ।’

अहिले बहिनी राममाया बुढाले पनि दौडिन थालेकी छन्। बहिनीले आफ्नो पदचाप पछ्याएकोमा सुनमाया दंग छिन्। खेलेर सुनमायाले घरमा सहयोग गर्न नसके पनि दाइको छोरा र कान्छी बहिनीलाई पढाएकी छिन्। आफूसहित ४ जनाको खर्च उनी आफैँले जुटाउने गरेकी छिन्।  

कसैलाई रोल मोडल मानेर उनी दौडिन सुरु गरेकी होइनन्। परिवारको कमजोर आर्थिक अवस्थाले दौडमा लाग्न प्रेरणा दिएको उनको भनाइ छ।

अहिले नर्थफेस कम्पनीले सुनमायालाई प्रायोजन गरेको छ। उनले भाग लिने हरेक प्रतियोगितामा नर्थफेसले सहयोग गर्छ। प्रतियोगिताको तयारीका लागि प्रशिक्षकको व्यवस्था पनि मिलाइदिन्छ। थाइल्यान्ड जानुअघि नर्थफेसले अस्ट्रेलियन प्रशिक्षकबाट उनलाई प्रशिक्षण दिलाएको थियो।

दौडन सुरु गर्दा आफ्नो क्षमता उनलाई थाहा थिएन। न धेरैको साथ नै थियो। बिस्तारै सफलतासँगै सहयोगी हात पनि थपिँदै गए। थाइल्याण्डअघि फ्रान्समा भएको दौडमा उनले भाग लिएकी थिइन् तर, सोचे जस्तो प्रदर्शन गर्न सकिनन्।

‘थाइल्याण्डमा भने राम्रो गरेँ। अहिले केही समयसम्म रेस्टमा छु,’ उनले भनिन्, ‘टिम नर्थफेसले आराम गर्न भनेको छ। अब फेरि फ्रान्समा दौडने योजना छ। तर समयको टुंगो भएको छैन।’

कमजोर आर्थिक अवस्था सुधारमा लागेका धेरै खेलाडीको चाहना प्रहरी, सेनाजस्ता विभागीय टोलीमा जाने हुन्छ। नियमित प्रशिक्षण र पारिश्रमिकले विभागमा खेलाडीको आकर्षण हुनु स्वभाविक पनि हो। तर सुनमाया भने विभागतिर आकर्षित भएकी छैनन्। विभागमा आबद्ध हुन प्रस्ताव आए पनि उनी गइनन्। 

‘विभागमा जाने चाहना छैन। विभागमा नगई राम्रो गर्न सक्छु भन्ने लाग्छ,’ उनी भन्छिन्।

पछि दौडिन नसक्दा पनि केही न केही गरेर जीवन चलाउँछु भन्ने विश्वास उनलाई छ। केही वर्ष अझै आफूलाई निखार्ने उनको योजना छ।

‘सकेसम्म दौडिन्छु। समयअनुसार चल्नुपर्छ। पछि अरुलाई पनि सिकाउने चाहना छ। मेहनत गर्दै जाँदा हुने हो,’ उनी भन्छिन्, ‘आफ्नो चाहना भयो भने मात्र अगाडि बढ्न सकिन्छ। इच्छाशक्तिबिना केही गर्न सकिन्न।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .