ad ad

खेल


घरेलु फुटबलको नयाँ शक्ति मछिन्द्र

जित मनिष डाँगीलाई समर्पण
घरेलु फुटबलको नयाँ शक्ति मछिन्द्र

लिग उपाधि रक्षा गरेपछि मच्छिन्द्र फुटबल क्लबका खेलाडी र प्रशिक्षक


लक्ष्मी जि.सी
फागुन ५, २०७८ बिहिबार १८:३५, काठमाडौँ

मछिन्द्र फुटबल क्लब घरेलु फुटबलको नयाँ शक्तिका रुपमा स्थापित भएको छ। मछिन्द्रले बुधबार ए डिभिजन लिग उपाधि रक्षा गरेको छ। 

ए डिभिजन लिग ६ दशक नाघिसकेको छ। तर आन्तरिक विवाद र अन्य कारणले यो नियमित हुन सकेको छैन। जारी लिग ४४ औं संस्करण हो। 

मछिन्द्र २०७६ मा पहिलो पटक लिग च्याम्पियन बनेको थियो। मछिन्द्र लिग जित्ने १६ औं क्लब हो। बुधबारको सफलतासँगै लिग उपाधि रक्षा गर्ने मछिन्द्र सातौँ टोली बनेको छ।

यसअघि पुलिस फोर्स, न्युरोड टिम, रानीपोखरी कर्नर टिम (आरसीटी), मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब र नेपाल पुलिस क्लब मात्र लिगमा लगातार च्याम्पियन बनेका थिए। 

लगातार तीन पटक लिग उपाधि जित्ने इतिहास भने ३ क्लबको मात्र छ। आरसीटी, मनाङ र पुलिसले मात्र अहिलेसम्म उपाधिमा ह्याट्रिक गरेका छन्। अब मछिन्द्रसँग ह्याट्रिक गर्ने अवसर हुनेछ। 

गत वर्ष स्टार खेलाडी भित्र्याएर पहिलो पटक च्याम्पियन बनेको मछिन्द्र यसपटक उपाधि रक्षा गर्न सफल भएको हो। 

तुलानात्मक रुपमा अघिल्लो पटकभन्दा यसपटकको च्याम्पियन यात्रा केही सहज रह्यो। २०७६ फागुनमा भएको पछिल्लो लिगको अन्तिम खेलमा जित निकाल्दै मछिन्द्र च्याम्पियन बनेको थियो।

यसपटक यो टोली अन्तिम २ खेल बाँकी हुँदै विजेता बन्न सफल भएको छ। 

दशरथ रंगशालामा बुधबार सातदोबाटो युथ क्लबलाई १–० ले हराउँदै मछिन्द्रले उपाधि पक्का गरेको हो। ११ खेलमा मछिन्द्रको २९ अंक र समान खेलबाट मनाङको २० अंक छ।  

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले खेलाडीको मिहिनेतकै कारण उपाधि रक्षा गर्न सफल भएको बताएका छन्। 

‘हाम्रो लक्ष्य सुरुबाटै लिग उपाधि रक्षा गर्ने भन्ने थियो, उनले भने, ‘त्यही अनुरुप सफलता मिल्यो। प्रशिक्षकले चाहेर मात्रै केही हुँदैन। मलाई सफल प्रशिक्षक बनाइदिन खेलाडीको भूमिका महत्वपूर्ण छ। यो जितको श्रेय उनीहरुलाई दिन्छु।’

गत वर्षको तुलनामा टोली बलियो रहेकाले लिग च्याम्पियन बन्न सहज भएको उनले स्मरण गरे। ‘गत वर्षको टोलीमा केही खेलाडी थपेर हामी थप बलियो भएका थियौं, उनले भने, ‘यसपटक केही सहज पनि भयो। बलिया टोलीसँग सुरु सुरुमै खेलेर नतिजा निकाल्यौँ। गत वर्ष अन्तिम खेलसम्म कुर्नुपरेको थियो। यसपटक ११ खेलमा च्याम्पियन बन्यौँ। सोचे जस्तै नतिजा भयो।’

मछिन्द्रका कप्तान सुजल श्रेष्ठले टोलीले सामूहिक भावनाले सफलता मिलेको बताए। ‘अरु टिमबाट खेलिसकेको छु। यहाँ जस्तो एकताको महसुस अहिलेसम्म गरेको थिइनँ’, उनले भने।

मनाङसँगको जितपछि लिग चुम्ने आधार बनेको सुजलको भनाई थियो। मछिन्द्रले छैटौं चरणमा मनाङलाई १–० ले हराएको थियो। त्यसअघि मनाङ पनि अपराजित थियो। 

सुजलले समग्रमा लिगको यात्रा संघर्षपूर्ण र अविस्मरणीय रहेको बताए। क्लबमा स्टार खेलाडी भए पनि त्यसकै कारण अरु समस्या नआएको उनले बताए। 

मनिषलाई समर्पण 
प्रशिक्षक कटुवा र कप्तान सुजल दुवैले टोलीका चोटग्रस्त फरवार्ड मनीष डाँगीका लागि जित समर्पण गरेका छन्।

शनिबार च्यासल युथ क्लबविरुद्धको खेलमा विपक्षी खेलाडीसँग टाउको ठोक्किएर घाइते हुँदै मैदानमा ढलेका थिए। 

झण्डै ३ मिनेट अचेत उनलाई उपचारका लागि ब्लु क्रस अस्पताल भर्ना गरिएको थियो। ४ दिन अस्पताल बसेका मनिषलाई समान्य अवस्थामा रहेको भन्दै मंगलबार डिस्चार्ज गरिएको थियो। 

टोलीको जितमा खुसीयाली साट्न मनिष बुधबार रंगशाला पुगेका थिए। प्रशिक्षक कटुवालले मनिषलाई चाँडै मैदानमा फर्केको हेर्न चाहेको बताए। 

‘हामीले टोली र उनको हौसलाका लागि खेल हेर्न बोलाएका थियौं। यो जित हामी उनलाई समर्पण गर्छौं’, उनले भने। 

उनको भनाइमा सहमति जनाउँदै सुजलले खेलपछि भनेका थिए, ‘दुःखद घटना भयो। सबैलाई थाहा छ। हामी यो जित उनलाई समर्पण गर्छौं।’ 

जितपछि अन्य खेलाडीले पनि मनिषको जर्सी नं २१ मा लेखिएको गेट वेल सुन प्रदर्शन गरेका थिए। अर्को साता थप परीक्षणपछि उनी मैदानमा फर्किने एकिन हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि नै बताइसकेको छ।

दोस्रो प्रयासपछि एएफसी कपमा
लिग च्याम्पियनहरूले खेल्ने एएफसी कप छनोटका लागि मछिन्द्र पहिलो पटक खेल्ने भएको छ। दुई वर्षअघि लिग च्याम्पियन बनेर पनि मछिन्द्र एएफसी क्लब लाइसेन्स नभएका कारण एएफसी कपबाट बञ्चित भएको थियो। 

त्यतिबेला दोस्रो स्थानको त्रिभुवन आर्मी फुटबल क्लबले नेपालको प्रतिनिधित्व गरेको थियो। यसपटक मछिन्द्र सातौं चरणको समाप्तिमा शीर्षस्थानमा रहेकाले एएफसी क्लबका लागि छनोट भएको थियो। 

ए डिभिजन लिग सकिँदा एएफसी कपमा नाम पठाउन ढिलाइ हुने भएकोले एन्फाले एएफसीलाई सातौं चरणको विजेताको नाम पठाउने अनुरोध गरेको थियो।

त्यहीअनुसार मछिन्द्र एएफसी कपका लागि छनोट भएको हो। लिगमा १४ क्लब भए पनि एएफसी कपका लागि मछिन्द्र, मनाङ, आर्मी र एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा थियो। 

नेपालमा यि चार क्लबसँग मात्रै एएफसी क्लब लाइसेन्स छ। एएफसी कप छनोटको दौडमा एपीएफ सुरुबाटै पछाडि थियो। आर्मी पनि पाँचौं चरणमा पुगेर पछि परेको थियो। छैटौं चरणमा मनाङलाई हराएपछि मछिन्द्र छनोट हुने ढोका खुल्यो।

मछिन्द्रले एएफसी छनोट चैत २२ गते दशरथ रंगशालामा खेल्ने तय भइसकेको छ। मछिन्द्रले श्रीलंकाको ब्लु स्टार क्लबको सामना गर्नेछ। 

त्यो खेल जितेको अवस्थामा दोस्रो चरणमा भारतको मोहन बगानसँग चैत २९ गते खेल्नेछ। त्यो खेल जिते मात्रै मछिन्द्र भारतको गोकुलम केरलाएफसी, बंगलादेशको वसुन्धरा किंग्स र माल्दिभ्सको माजिया स्पोर्टस् एण्ड रिक्रियसन क्लब रहेको समुह डी मा पुग्नेछ। 

प्रशिक्षक कटुवालले समूह चरणसम्म पुग्ने आशा राखेको बताए। उनले भने, ‘हाम्रो टोली सक्षम छ। अहिलेको टोलीमा केही खेलाडी थप्छौँ।

मछिन्द्रको प्रदर्शन

मछिन्द्रविरुद्ध एनआरटी (२–१)
आर्मीविरुद्ध मछिन्द्र (०–०)
जावलाखेलविरुद्ध मछिन्द्र (०–२)
शेर्पाविरुद्ध मछिन्द्र (०–३)
संकटाविरुद्ध मछिन्द्र (०–०)
मनाङविरुद्ध मछिन्द्र (०–१)
पुलिसविरुद्ध मछिन्द्र (०–१)
मछिन्द्रविरुद्ध फ्रेन्ड्स (१–०)
बिबिसीविरुद्ध मछिन्द्र (०–४)
मछिन्द्रविरुद्ध च्यासल (२–०)
सातदोबाटोविरुद्ध मछिन्द्र (०–१) 

लगातार उपाधि जित्ने क्लब
पुलिस फोर्स – वि.स २०१२, २०१३
न्युरोड टिम– २०१७, २०१८ 
रानीपोखरी कर्नर टिम– २०२८, ०२९, ०३०
मनाङ मर्स्याङ्दी क्लब– २०४२–४३, २०४३–४४, २०४६, २०७०,२०७५
थ्रीस्टार क्लब– २०५४, २०५५
नेपाल पुलिस क्लब– २०६३, ०६६–०६७, २०६८
मछिन्द्र फुटबल क्लब– २०७६, २०७८ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .