ad ad

खेल


झन् चर्कियो प्रशिक्षक अलमुताइरी र खेलाडीबीचको ‘शीतयुद्ध’

फेसबुक स्टोरीमार्फत यसरी चल्यो सवाल जवाफ
झन् चर्कियो प्रशिक्षक अलमुताइरी र खेलाडीबीचको ‘शीतयुद्ध’

लक्ष्मी जि.सी
जेठ ६, २०७९ शुक्रबार २०:८, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीमा देखिएको विवाद झन् चर्किएको छ। प्रशिक्षक र खेलाडीबीचको विवादपछि गठित समितिले अखिल नेपाल फुटबल संघ एन्फालाई प्रतिवेदन बुझाएको बेला खेलाडी र प्रशिक्षकको विवादले नयाँ रुप लिएको हो। 

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र क्याम्पबाट निकालिएका सिनियर टोलीका १० खेलाडीबीचको शीत युद्ध सामाजिक सञ्जालमै पोखिएको छ।

खेलाडी–प्रशिक्षक विवादपछि गठित समितिले छानविन प्रतिवेदन बुझाएको दुई दिनपछि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफ्नो भविष्यलाई लिएर प्रश्न चिह्नसहित फेसबुकमा एउटा स्टोरी पोष्ट गरे। 

छानविन समितिले अलमुताइरीलाई फिर्ता पठाएर अर्को प्रशिक्षक ल्याउने सुझावसहित प्रतिवेदन बुझाएको चर्चाबीच प्रश्नचिन्हसहितको उनको उक्त स्टोरीलाई अर्थपूर्ण मानिएको छ।

अलमुताइरीको उक्त स्टोरीको काउण्टरमा क्याम्पबाट निकालिएका सिनियर खेलाडी उत्रिएपछि विवादले भित्रभित्रै भुसको आगोको रुप लिएको पुष्टि भएको छ। खेलाडीहरूले

अलमुताइरीविरुद्ध पालैपालो फेसबुक स्टोरी पोष्ट गर्न थालेपछि यो शीतयुद्ध थामिने नदेखिएको हो। 

खेलाडी–प्रशिक्षक विवाद मिलाउन एन्फाले समयमै अभिभावकत्व लिन नसक्दा विवाद अब सामाजिक सञ्जालमा पोखिन थालेको छ।

बुधबार ३ सदस्यीय छानविन समितिले प्रतिवेदन बुझाएपछि विवाद सल्टिने आशा गरिएको थियो। तर दुई पक्षबीच शुक्रबार फेसबुकको स्टोरीमा दोहोरी चलेपछि उनीहरुबीचको दूरी झन् बढेको पाइएको छ।

अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो फोटो सेयर गर्दै ‘एण्ड’ लेखेर ३ वटा प्रश्नचिन्हसहित स्टोरी सेयर गरेका छन्। 

उनको त्यो प्रश्नको जवाफ क्याम्प छाड्न बाध्य पारिएका १० खेलाडीले फेसबुकमा स्टोरीबाटै दिएका छन्। 

सिनियर खेलाडी रोहित चन्द ठकुरीले फेसबुक स्टोरी सेयर गर्दै अलमुताइरीलाई जवाफ दिएका छन्, ‘सत्यलाई अस्वीकार गरेर तथ्य परिवर्तन हुँदैन।’ 

अर्का सिनियर खेलाडी सुजल श्रेष्ठले पनि अलमुताइरीसँगको शीत युद्धमा सहभागी हुँदै स्टोरी सेयर गरेका छन्।  

‘एण्ड प्लीज मोर, ह्यास्ट्याग साँचो बोल, अर्को स्टोरी पनि सेयर गर्दै सुजल थप्छन्, एण्ड.... लुकाउनु कुनै विकल्प होइन, प्रभावमा पार्नु कुनै समाधान होइन, सत्य कहिल्यै मर्दैन।’ 

क्याम्पबाट निकालिएका अर्का खेलाडी अनन्त तामाङले पनि कडा टिप्पणीसहित स्टोरी सेयर गरेका छन्। ‘एण्ड, तिमी आफ्नो रंग बदल्न सिपालु छौ’, अलमुताइरीप्रति अनन्तको कटाक्ष हो यो। 
फरवार्ड विमल घर्तीमगरले पनि स्टोरी सेयर गरेका छन्। ‘एण्ड, आफ्नो घमण्ड झूटद्वारा देखाउनुभन्दा बोलेको चरितार्थ गर्न गाह्रो छ’, उनले अलमुताइरीलाई कटाक्ष गरेका छन्।  

गोलरक्षक विशाल श्रेष्ठ पनि यो शीत युद्धमा जोडिएका छन्। ‘सत्य कुराले केही क्षण मात्रै पीडा दिन्छ, तर झूटले सधैँ दुखाइरहन्छ।’

अर्का सिनियर खेलाडी विशाल राई पनि यो शीत युद्धमा जोडिएका छन्। ‘केही समयमा सत्य कठोर लाग्न सक्छ, तर यो कहिल्यै मर्दैन। झूटले केही समयलाई खुसी मिल्छ तर त्यो खुसी सधैँ रहँदैन।’ 

उनीहरुसँगै सिनियर टोलीका अन्य खेलाडीले पनि स्टोरी सेयर गर्दै अलमुताइरीलाई जवाफ दिएका छन्। 

खेलाडी र प्रशिक्षकबीचको विवाद चर्किँदै गएपछि एन्फाले नेपाली सेनाका पूर्व उपरथी तथा पूर्व राष्ट्रिय खेलाडी भिक्टर राणाको संयोजकत्वमा पूर्व खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा सदस्य रहेको समिति बनाएको थियो।

समितिले १० दिन लगाएर तयार पारेको २८ बुँदे प्रतिवेदनमा एशिया कप छनोटपछि कतार फुटबल संघ सँगको सहयोगलाई निरन्तरता र सहमती कायम राख्दै मुख्य प्रशिक्षकको विकल्प खोज्न सिफारिस गर्दै प्रतिवेदन बुझाएको छ। 

यस्तै, प्रतिवेदनमा खेलाडीले क्याम्प छाडेर गएको तथ्यमा नदेखिएको उल्लेख छ। मुख्य प्रशिक्षकले बारम्बार अमर्यादित भाषामा प्रशिक्षण बाहिर जान भनेपछि खेलाडीहरु बाध्य भएको प्रतिवेदनमा उल्लेख छ। 

तर गत वैशाख १३ गते राति सहायक प्रशिक्षक र गोलरक्षक प्रशिक्षक लगायतले बाहिर जान रोक्दा पनि बाहिरिनु खेलाडीको गल्ती भएको उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .