एसिया कपमा छनोट हुने लक्ष्य लिएर मलेसिया पुगेको नेपाली राष्टिय महिला क्रिकेट टोलीले शुक्रबार भुटानसँग खेल्दै एसीसी महिला टी२० च्याम्पियनसिपको सुरुवात गर्दै छ।
सन् २००७ देखि अन्तर्राष्टिय प्रतियोगिता खेल्न थालेको महिला टोलीले अहिलेसम्म उपाधि जित्न सकेको छैन।
पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको रुपमा २००७ मा महिला टोलीले एसीसी वुमन्स प्रतियोगिता खेलेको थियो। सो प्रतियोगितामा फाइनल यात्रा तय गरेको नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुन पुग्यो।
त्यही प्रर्दशनलाई आधार मान्दै धेरैले पुरुष टोलीले भन्दा पहिला महिला टोलीले विश्वकप खेल्ने बताएका थिए। तर, पर्याप्त लगानी र प्रशिक्षणको अभावमा नेपाली टोलीले त्यसयता सम्झिनलायक प्रर्दशन गर्न सकेको छैन।
तर यो पटक महिला टी२० च्याम्पियनसिप जित्दै एसिया कपमा छनोट हुने लक्ष्यमा महिला टोली छ। च्याम्पियनसिपअघि महिला टोलीले घरेलु मैदानमा युगाण्डासँग ५ टी२० सिरिज खेलेको थियो।
त्यो सिरिज आफूहरुका लागि निकै महत्वपूर्ण रहेको कप्तान रुविना क्षत्री सुनाउँछिन्। उनले भनिन्, ‘त्यो सिरिजले हाम्रो कमजोरी पत्ता लगाउन सहयोगी बन्यो। सुधार गर्नुपर्ने ठाउँको बारेमा थाहा भयो। त्यही अनुसारले नै हामीले प्रशिक्षण गरेका हौँ।’
युगाण्डासँगको सिरिजमा नेपाली टोली घरेलु मैदानमा पनि निकै कमजोर देखिएको थियो। महिला टोलीले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रर्दशन गर्न सकेको थिएन।
तर च्याम्पिनयसिपका लागि आफूहरुले निकै मेहनत गरेको कप्तान रुविना बताउँछिन्। यो प्रतियोगिता टोलीको लागि मात्र नभएर कप्तान कै लागि पनि निकै महत्वपूर्ण छ। त्यसको लागि सबैले निकै मेहनत गरिरहेको रुविनाले बताएकी थिइन्।
उनले भनिन्, ‘हाम्रो लक्ष्य एसिया कपका लागि छनोट भएर फर्किने हो, म खेलाडीसँग निकै खुसी छु, सबैले निकै मिहिनेत गरेका छौँ। कोचले पनि महिला टोलीले राम्रो गर्न सक्छ भनेर निकै मिहिनेत गरिरहेको छ।’
टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले पनि आफूहरुको लक्ष्य एसिया कपको छनोट नै भएको बताएका छन्।
प्रशिक्षक टमाटा भने, ‘खेलाडीले कति मेहनत गरेका छन् उनीहरुलाई पनि थाहा छ, अब नतिजाको पालो हो। हामी भनेको पर्दा पछाडिको हिरो हो। सबै गर्ने खेलाडीले नै हो। महिला क्रिकेटले राम्रो नतिजा दिनेमा विश्वस्त छु।’
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) पछि टमाटाले महिला टोली सम्हालिरहेका छन्। उनै टमाटाको प्रशिक्षणमा नेपाली राष्टिय पुरुष क्रिकेट टोलीले वान डे मान्यता पाएको थियो।
टमाटाले भने, ‘महिला टोलीको लागि एक्स्पोजर धेरै ठुलो कुरा हो, महिला टोलीलाई अझै एक्पोजरको खाँचो छ। लगातार २ वर्ष प्रशिक्षण गर्न पायौँ भने नतिजा आउने विश्वास थियो। अहिलेको सबैको सपना भनेको एसिया कप नै हो।’
एसीसी च्याम्पिनयसिपमा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन समूह बी मा छ। समूह ए मा यूएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन्। यो समूहबाट फाइनलमा पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछ।
Shares
प्रतिक्रिया