राष्ट्रिय टोलीको जर्सी लगाउने चाहना खेल जीवन सुरु गर्ने सबैजसोको हुन्छ। यो सपना देख्ने सबै सफल भने हुन सक्दैनन्।
राष्ट्रिय टोलीको जर्सीमा खेल्न पाउनु आफैंमा एक महत्वपूर्ण उपलब्धि हो। यद्यपि राष्ट्रिय टोलीमा पर्ने खेलाडी नै आफ्नो जीवनयापनका लागि विदेशिनुपर्ने बाध्यता उनीहरुमाथि देखिँदै आएको छ।
निरन्तर प्रतियोगिता नहुँदा खेलाडीहरूले विकल्पको रुपमा वैदेशिक रोजगारीलाई लिने गरेका छन्।
नेपालमा सर्वाधिक सफल मानिएका फुटबल, भलिबल, क्रिकेटजस्ता सामूहिक खेल मात्र होइन, व्यक्तिगत स्पर्धा हुने खेलका खेलाडी पनि विदेशिने क्रम बढ्दो छ।
हालै मात्र राष्ट्रिय फुटबल टोलीमा स्थान बनाइसकेका मिडफिल्डर सन्तोष तामाङ र फरवार्ड दर्शन गुरुङ अष्ट्रेलिया गए।
सन्तोष र दर्शनले आफ्नो सुरक्षित भविष्यका लागि अष्ट्रेलिया रोजे। उनीहरुले नेपालमा अवसर नपाएर मात्र हैन, नियमित आम्दानीका लागि पनि विदेश रोजेको उल्लेख गरेका छन्।
सन्तोष र दर्शन एएफसी एसियन कप छनोटको खेलका लागि २३ सदस्यीय नेपाली टोलीमा थिए। घरेलु फुटबलमा सन्तोष त्रिभुवन आर्मी फुटबल क्लबबाट मिडफिल्डमा खेल्दै आएका छन्। सन्तोषले २०७५ चैत ७ गते कुवेतविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए।
दर्शनले भने २०७७ कार्तिक २८ गते बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। घरेलु फुटबलमा ए डिभिजन टोली न्युरोड टिम (एनआरटी) का कप्तान रहेका दर्शन कुवेतविरुद्ध ४० वर्षपछि गोल गर्ने खेलाडी हुन्। दर्शनले उनले गत महिना एसियन कपको छनोटमा कुवेतविरुद्ध गोल गरेका थिए।
राष्ट्रिय टोलीमा स्थान बनाइसकेका फुटबलकै केही खेलाडीको अर्को गन्तव्य अष्ट्रेलिया बन्दै छ। पछिल्लो समय अष्ट्रेलिया नेपाली खेलाडीको गन्तव्य बन्दै आएको छ।
यसअघि राष्ट्रिय टोलीकै सदस्य सुमन लामा र आशीष लामा, मिडफिल्डर हेमन गुरुङ, गोलरक्षक एलन न्यौपाने र जगजीत श्रेष्ठसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका विमल बस्नेत पनि अष्ट्रेलियामै भविष्य खोजिरहेका छन्।
आर्थिक अवस्था सुधारकै लागि कति खेलाडीले रोजगारीका लागि युरोपियन राष्ट्र रोजे भने धेरै खेलाडीको गन्तव्य खाडी मुलुक बन्यो।
एथलेटिक्सकी कीर्तिमानी खेलाडी केशरी चौधरी पनि २०७४ को मंसिरमा पुलिसको जागिर छाडेर विदेश पसिन्। उनी रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (दुबई) पुगेपछि नेपाली खेल क्षेत्रमा ठूलो भुइँचालो गयो।
कीर्तिमानी खेलाडी केशरीलाई विदेश जानुपर्ने बाध्यता कसरी आइलाग्यो। परिवारको खुसी र आर्थिक स्थिति उकास्न उनी १० वर्ष आवद्ध रहेको नेपाल पुलिस क्लब छाडेर विदेश हानिएकी थिइन्।
‘नामले मात्रै भविष्य सुनिश्चित नहुने रहेछ। सम्बन्धित क्लबका खेलकुद विभाग, राज्य र सम्बन्धित निकायले राष्ट्रिय कीर्तिमान पदक विजेता खेलाडीको भविष्य सुनिश्चित गर्नुपर्छ। खेलेर मात्रै भविष्य बन्ला जस्तो नदेखेपछि विदेशिनुको विकल्प देखिनँ’, चौधरीले भनिन्।
उनले बढुवामा समेत पक्षपात हुने गरेको गुनासो गरेकी छन्।
‘विभागले बढुवामा पक्षपात गरेको छ। तर, त्यसको लागि राज्यले सम्बन्धित निकाय, विभागले खेलाडीको मनोबल हौसला बढाउनुका साथै भविष्य सुनिश्चितताको ग्यारेन्टी लिनुपर्छ,’ उनले सुनाइन्।
मातृभूमि, घरपरिवार छाडेर विदेशिने रहर कसैलाई पनि नहुने उनी बताउँछिन्। घरको आर्थिक अवस्था हेरेर भविष्यको खोजीमा बाध्यतावश विदेशिनुपरेको उनले बताइन्।
खेलाडीले आफ्नो उर्वर उमेर खेलमा लगाएका हुन्छन् तर आफ्नो भविष्य अन्योल देखेपछि विदेशिने बाध्यता रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ सुनाउँछन्।
‘विदेशिने बाध्यताले खेलाडीलाई मात्र होइन, राज्यलाई पनि घाटा हुन्छ। खेलकुदमा समयका साथै लगानी पनि आफैं गरेर प्रशिक्षण गर्नुपर्ने बाध्यता छ तर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको ग्यारेन्टी भएपछि उनीहरु बाहिरिन्छन्', उनले भने, 'एउटा खेलाडीमाथि राज्यले पनि लगानी गरिरहेको हुन्छ। ऊबाट केही राम्रो कुरा आउँछ भन्ने बेलामा विदेशी पलायन हुँदा राज्यको लगानी पनि डुब्छ। सरकारले गरेको लगानीको प्रतिफल त आएन तर लगानी गरेपछि त्यो अनुसारको भविष्य पनि सुनिश्चित गर्नुपर्छ भन्ने हो।’
कतिपय खेलाडीले भने विदेश जान नै खेलकुद रोज्ने प्रचलन पनि नेपालमा छ। खेलकुदका लागि भनेर विदेश जाने अनि उतै लुक्ने नेपाली खेलकुदको पुरानै रोग हो।
केही खेलाडीहरु अवसर पाए बाहिर जाने भनेर नै खेलकुदमा आउँछन्। उनीहरु विदेश गएपछि किन फिर्ता आउनु पर्यो? भन्ने सोच पनि भएका श्रेष्ठ सुनाउँछन्।
त्यसो त अध्यक्ष श्रेष्ठ आफैं पनि ३ महिना अमेरिका बसेर फर्केका हुन्। उनले सन् २००५ मा अमेरिकामा भिसा लगाएका थिए। त्यो बेलामा गोल्ड मेडल जित्यो भने सरकारले जागिर दिने चलन थियो।
तर अमेरिका खेलाडीको मात्र होइन, सारा नेपालीको सपनाको सहर हो। त्यहाँ पुगेपछि किन फर्किने? भन्ने हुन्छ। त्यो बेलामा श्रेष्ठलाई पनि अमेरिका बस्ने रहर नलागेको होइन।
उनी अमेरिका बस्ने सपना देखेर गएका थिए त्यहाँ हुँदा उनलाई त्यही बसेर प्रशिक्षण गर्ने र खेल्ने प्रस्ताव पनि आएको थियो। तर ३ महिना पनि पूरा बिताउन नपाउँदै उनलाई नेपाल फर्कन मन लाग्यो।
काठमाडौंमा जन्मे हुर्केको निम्न परिवारको भए पनि स्वतन्त्र जीवनयापन गरिरहेका श्रेष्ठ अमेरिकामा सकिँदैन, थोरै आम्दानी भए पनि नेपालमा नै ठिक छ भनेर स्वदेश फर्के।
तर पछिल्लो नेपाली खेलकुदको अवस्था देख्दा उनलाई अमेरिका नबसेकोमा कहिलेकाँही पछुतो पनि लाग्छ। यहाँ पँहुचवाला खेलाडीले जे पनि गर्न सक्ने, पहुँच नहुने खेलाडीलाई अवसर पाउन नै गाह्रो। त्यस्तो देख्दा उनी अमेरिका सम्झन्छन्।
श्रेष्ठसँग अहिले पनि अमेरिका र क्यानडाको भिसा छ। उनी भिषा नवीकरण गर्दै बस्छन्। उनी पनि कुनै दिन पलायन नहोलान् भन्न सकिँदैन, जुन कुरालाई उनी आफैं स्वीकार गर्छन्। उनी भन्छन्, ‘सकेसम्म नेपालको खेलकुदको लागि दिने हो पछि सकिएन भने बाहिर जाने हो। खेलकुदको अवरोध देख्दा अझै पनि बाहिर जाँउ भन्न सकिन्छ।’
नेपालबाट अहिलेसम्म कति खेलाडी विदेश पलायन भए यसको तथ्याङ्क कोहीसँग छैन। नेपाली खेलकुदको अभिभावक मानिने राष्ट्रिय खेलकुद परिषद् (राखेप) पनि यसबारेमा अनभिज्ञ छ।
राखेपका विभागीय प्रमुख मधुसुदन बस्नेतले राखेपसँग कुनै जानकारी नभएको सुनाए। उनले भने, ‘अहिले कोरोनाको कारण पनि नियमित प्रशिक्षण नहुँदा र प्रतियोगिता नहुँदा जीविकोपार्जनमा समस्या भएर जानुभयो होला तर को को जानुभयो, कस्तो खेलाडी जानुभयो भन्ने जानकारी छैन।’
नियमित प्रतियोगिता नहुनु र व्यवस्थापकीय कमजोरीका कारण धेरै खेलाडी विदेश भासिएका छन्। राष्ट्रिय टोलीबाट खेलिसकेका धेरै खेलाडी अहिले खाडी मुलुकमा पसिना बगाइरहेका छन्।
खेलकुदमा लागेका केही खेलाडी सानोतिनो कुरामा चित्त बुझाएर बस्ने हुन्छन् भने कोही ठुलो कुरा पाउँदा पनि चित्त बुझाउन सक्दैनन्।
खेलाडीको भविष्य सुनिश्चित छ है भनेर सरकारले जबसम्म प्रत्याभूति गराउन सक्दैन र खेलाडी पलायन रोक्न राखेपले योजना बनाउन सक्दैन त्यो बेलासम्म खेलाडी पलायन हुने अवस्था रोकिँदैन।
Shares
प्रतिक्रिया