खेल


खस्किँदो प्रदर्शन, संकटमा नेपालको एक दिवसीय मान्यता

खस्किँदो प्रदर्शन, संकटमा नेपालको एक दिवसीय मान्यता

फाइल तस्बिर


लक्ष्मी जि.सी
असार २९, २०७९ बुधबार ७:१०, काठमाडौँ

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक सिरिज खेलिरहेको छ। यो लिगले नेपालको एकदिवसीय मान्यता जोगाउने कुराको टुङ्गो लगाउनेछ। 

नेपाललाई आगामी वर्ष हुने विश्वकपको ग्लोबल छनोट सिधै खेल्न र एक दिवसीय मान्यतालाई जोगाइराख्न सबै खेल जित्नु पर्ने दबाब छ। 

सिधै विश्वकप ग्लोबल छनोट खेल्न नेपाललाई शीर्ष तीनमा रहनुपर्ने हुन्छ। शीर्ष तीनमा रहन नसके प्लेअफ खेल्नुपर्ने हुन्छ। 

प्लेअफबाट ६ टोलीको खेलमा फेरि शीर्ष दुईमा पर्न सके मात्रै नेपालले विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ। एक दिवसीय मान्यता जोगाइराख्न अंक तालिकाको शीर्ष पाँचमा रहनुपर्ने हुन्छ।

तर, सोमबार भएको नामिबियासँग हारेपछि नेपाल अंक तालिकामा एक स्थान तल झरेको छ। १५ अंक भएको नेपाल छैटौँ स्थानमा छ। लिग–२ अन्तर्गतका १७ खेल खेलेको नेपालले ७ मा जित, ९ मा हार र १ खेलमा बराबरी गरेको छ।

एक खेल कम खेलेको नामिबिया पाँचौ स्थानमा उक्लिएको छ। लिग–२ का १६ मध्ये ८ खेलमा जित र त्यति हार भोगेको नामिबियाले १६ अंक बनाएको छ। एक दिवसीय वरियतामा टिकिरहन दबाबमा रहेको नामिबिया सिरिज जित्ने लक्ष्यमा छ। 

छैटौँ झरेपछि नेपाली टोलीमाथि दबाब बढेको छ। आगामी खेल थप नसुधारे नेपालको एकदिवसीय मान्यता संकटमा पर्न सक्छ। पछिल्लो खेलले पनि नेपाल एक दिवसीय मान्यता बचाउन नसक्ने अवस्थामा आएको भन्ने आशंका जन्माएको छ।  

स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली टोलीले सिरिजको पहिलो खेलमा नामिबियालाई नतिजा सुम्पियो। नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा अलआउट भयो। 

नेपालका कप्तान सन्दीप लामिछानेसहित ४ ब्याटरले दोहोरो अंकको स्कोर छुन नसक्दा दुईजनाले खाता नै खोल्न सकेनन्। मध्यक्रमका ब्याटर आरिफ शेखले ५० रनको नटआउट इनिङ्ग खेले पनि टोलीको हार टार्न भने सकेनन्। 

ओपनर कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि मात्र ३० रनको साझेदारी गरे। नेपालको ब्याटिङ लाईन झनै धरासायी बन्दै गएको छ।
यता नेपाली टोलीलाई पनि एक दिवसीय वरियता जोगाउने चुनौती छ। तर, कप्तान सन्दीप लामिछानेले आफूहरु विश्वकप छनोट खेल्ने लक्ष्यमा रहेको र त्यो सम्भव भए वरियता आफैँ जोगिने यसअघि नै बताइसकेका छन्। 

क्यानडा भ्रमणमा जानुअघि कप्तान सन्दीपले स्कटल्याण्डका खेलिने ४ मध्ये ३ खेल जित्ने सोचमा रहेको बताएका थिए। 

उनकै भनाइलाई मान्ने हो भने नेपाली टोलीले अबका तीनै खेल जित्नुपर्ने दबाब छ। सन्दीपले भनेका थिए, ‘हामी तीन खेल जित्ने सोचमा छौं। चारै खेल जिते सुनमा सुगन्ध हुनेछ।’ 

लिगका ४ मध्ये ३ खेलमा जित निकाल्ने लक्ष्यसाथ नेपाली टोली अभ्यासका लागि क्यानडा हिँडेको थियो। तर वर्षाका कारण एक खेल रद्द भयो। अर्को खेलमा ८३ रनको लज्जास्पद हार भोग्यो। 

सिरिजको पहिलो खेलमा नै नामिबियासँग हारेको नेपालले बुधबारको खेलमा स्कटल्याण्डलाई जित्नु फलामको चिउरा चपाउनु सरह हुनेछ। पहिलो खेलमा स्कटल्याण्डले नामिबियामाथि ७७ रनको फराकिलो जित हात पारेको थियो। लिगमा पनि स्कटल्याण्ड सबैभन्दा कम खेल हार्ने टोली हो। लिगको दोस्रो स्थानमा रहेको स्कटल्याण्डले सोझै विश्वकप छनोटको ग्लोबल क्वालिफायर्समा छनोट हुने सम्भावना बलियो बनाइसकेको छ। 

एक दिवसीय मान्यता जोगाउन मात्र पनि अहिले नामिबियालाई भन्दा धेरै चुनौती नेपाली टोलीलाई छ। एक दिवसीय वरीयतामा नेपाल १९ औँ स्थानमा रहँदा नामिबिया १८ औँ स्थानमा छ।  

निराशाजनक प्रदर्शन
एक दिवसीय शृङ्खलाको पछिल्ला ११ खेलमा नेपाली टोलीले ३ खेल मात्रै जितेको छ। एक खेल बराबरी हुँदा आउँदा बाँकीमा भने हार भोगेको छ। 

जितेका तीनमध्ये नेपालले पपुवा न्यु गिनीलाई एक खेलमा ७ र अर्को खेलमा २ विकेटले तथा ओमानलाई ७ विकेटले हराएको थियो।

एउटा खेल अमेरिकासँग बराबरीमा सकिएको थियो। 

अन्य खेलमा भने नेपाल सोमबारको खेलमा नामिबियासँग ४० रनले पराजित हुनुअघि अमेरिकासँग नेपाल ३९ रनले हारेको थियो। 

त्यस्तै ओमानसँग १३, पपुवा न्यू गिनीसँग ३ विकेट र ६ रनले पराजित भएको थियो। साथै यूएईसँग ९९ र ४८ रनको फराकिलो अन्तरले पराजित भएको थियो। 

नेपालको ब्याटिङ सधै कमजोर देखिँदै आएको छ। एक दिवसीयको लागि उत्कृष्ट मानिएका ब्याटरको गैरजिम्मेवारपूर्ण ब्याटिङको मार नेपालले भोग्दै आएको छ। 

दीपेन्द्रसिंह ऐरी र रोहित पौडेल जस्ता ब्याटर चल्न नसक्दा नेपाल हारको शिकार बन्दै आएको छ। हारेका केही खेल नेपालको हातमा आएर पनि फुत्केका छन्। नेपाली टोलीले पुवुदु दासानायकेलाई मुख्य प्रशिक्षक पाएपछि नेपालको स्तर सुधार हुने अनुमान थियो। तर पुवुदु सफल हुन सकिरहेका छैनन्। 

के भन्छ क्यान?
नेपालको ब्याटिङ लाइन सुधारका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ब्याटिङ कन्सलटेन्ट ल्याउने तयारी गरेको छ। 

त्यसका लागि भारत र श्रीलंकासहित तीन देशसँग कुरा भइरहेको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बताए। 

‘नेपालको ब्याटिङ सुधारका लागि छिट्टै कन्सलटेन्ट ल्याउने तयारी भइरहेको छ। त्यसमा काम भइरहेको छ’, उनले भने, ‘खेलाडीको सुविधा बढाएका छौँ। प्रशिक्षक र खेलाडीका माग क्यानले पूरा गरिरहेको छ।’

अहिले नेपालसहित नामिबिया र युएई एक दिवसीय वरियता जोगाउन संघर्ष गरिरहेका छन्। तर, अबका बाँकी खेलमा नेपालले नतिजा आफ्नो पक्षमा पार्न सक्यो भने मात्रै एक दिवसीय वरियता जोगाउनेछ। तर अहिलेकै प्रदर्शनले नेपालको साख जोगिन मुस्किल छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .