खेल


सागमा चेलीहरु छाएको दिन

सागमा चेलीहरु छाएको दिन

यज्ञराज जोशी
मंसिर १९, २०७६ बिहिबार १९:३,

१३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गतको पाँचौ दिनको स्वर्णको खाता नेपालले बिहीबार महिला खेलाडी निमा घर्तीमगरको स्वर्णबाट खोलेको थियो। त्यसपछि दिनभरि नेपालले ७ स्वर्ण जित्दा नेपाली चेलीहरु छाइरहे। जसमा ५ स्वर्ण महिला खेलाडीकै नाममा रहे।

१) निमा घर्तीमगरः लगातार दुई स्वर्णको इतिहास


लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा उसुअन्तर्गतको थाउलोको महिला नान्दोमा कूल १८.९१ अङ्क जोड्दै निमाले बिहानै नेपाललाई स्वर्ण दिलाइन्। यो उनको सागमा लगातार दोस्रो स्वर्ण पनि हो। यसअघि सन् २०१६ मा भारतमा भएको १२ औँ सागमा पनि निमाले स्वर्ण जितेकी थिइन। उसुमा लगातार सागमा दुई स्वर्ण जित्ने उनी पहिलो महिला खेलाडी समेत बनिन।

सम्बन्धित समाचार: थोत्रो म्याटको तयारीले स्वर्ण

जितपछि निमाले भनिन्, ‘एकदम खुशी लागिरहेको छ। प्छिल्लो पटक भारतमा जितेको थिए। यसपटक नेपालमै परिवार, साथीभाईको अघि जित्न पाए। यसले अझै राम्रो गर्दै जाने प्रेरणा मिलेको छ।’

२) लक्ष्मी मगरः पहिलो स्वर्ण

साइक्लिङमा अघिल्लो दिन नै नेपालले दुई स्वर्ण जितिसकेको थियो। बिहीबार साइक्लिङमा तेस्रो स्वर्ण जिताइन लक्ष्मी मगरले। काठमाडाँैको गोकर्णमा बिहीबार क्रस कन्ट्रीको चार किलोमिटर दूरी १ मिनेट २०.२० सेकेण्डमा पार गर्दै उनले स्वर्ण जितेकी थिइन। यो उनको सागको पहिलो सहभागितामै स्वर्ण थियो।

यो स्वर्णसँगै यसपटक नेपालले आठौं सागमा हालसम्मकै सर्वाधिक ३१ स्वर्ण जितेको कीर्तिमानको बराबरी गरेको थियो। अघिल्लो दिन बुधबार भएको साइक्लिङको डाउनहिल स्पर्धामा पनि नेपालका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्णपदक जितेका थिए।

लक्ष्मीकै विधामा नेपालकी उषा खनालले बिहीबार नै रजत पदक जितेकी थिइन। उनले १ मिनेट ३५.५२ सेकेण्डमा दुरी पूरा गरेकी थिइन।

३) गौरिका सिंह, खेलमै पहिलो व्यक्तिगत स्वर्ण

गौरिकाले बिहीबार हात पारेको स्वर्ण नेपाली पौडीको ऐतिहासिक स्वर्ण थियो। उनले नेपाली पौडीको अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो एकल स्पर्धामा स्वर्ण जितेकी थिइन। सातदोबाटोस्थित पौडी पोखरीमा उनले दुई सय मिटर फ्री स्टाइलमा स्वर्ण जित्दै इतिहास रचेकी हुन्।
‘सबैजनाले हुटिङ गरेको देख्दा मेरो त सातो उड्यो। ओलम्पिक जस्तो अनुभव भयो,’ स्वर्ण जितेपछि गौरिकाले भनिन्, ‘जहिलेपनि प्रतिस्पर्धामा उत्रिदा गाह्रो नै हुन्छ। तपाईले आफ्नो सक्दो राम्रो मात्रै गर्नसक्ने हो। आज मैले मेरो राम्रो गर्न सकेँ त्यसमा खुशी छु।’

सम्बन्धित समाचार: ‘तर म त नेपाली हो, यो मेडल नेपाललाई हो’

खुशीसँगै उनको मन दुखाई पनि थियो। बेलायतै आमाबुबासँग बस्दै आएकी उनलाई कतिले नेपाली नै हैन् भन्ने पनि उनले सुनेकी रहिछन्। राष्ट्रिय गान बज्दा आँशु झारेकी गौरिकाले भनिन्, ‘धेरैमान्छे तिमी नेपाली हैन भन्छ। तर म त नेपाली हो यो मेडल नेपाललाई हो। यो मेडल नेपाललाई समर्पित गर्न चाहान्छु।’ 

४) सन्जु चौधरीः खेलमै पहिलो स्वर्ण जित्ने महिला

भारोत्तोलनकी सञ्जु चौधरीले बिहीबार यस खेलमा पहिलो स्वर्ण जित्ने महिलाको इतिहास रचिन।

महिला ५९ केजी तौल समूहमा सञ्जु श्रीलङ्काले खेलाडीलाई पछि पार्दै स्वर्ण जितिन। सञ्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा कूलतर्फ)सहित स्वर्ण जितेकी हुन्।

एक वर्षअघि मात्र नेपाल प्रहरीमा प्रवेश गरेकी सञ्जुले सागको पहिलो सहभागितामै सिनियरतर्फ स्वर्ण जितेकी हुन्। साग भारोत्तोलनमा गत वर्षबाट मात्र नेपालले महिलातर्फ सहभागिता जनाएको हो। यसअघि दशौँ संस्करणको कमलबहादुर अधिकारीले जितेको स्वर्ण सागमा नेपालले भारात्तोलनमा जितेको एकमात्रै स्वर्ण थियो।

यस्तै भारोत्तोलनमा नै सङ्गीता राईले कास्य पदक जित्दै राष्ट्रिय कीर्तिमान कायम गरिन। उनले ४५ केजी तौल समूहमा १२७ केजी भार बहन गर्दै करिना चौधरीको नाममा रहेको कीर्तिमान भङ्ग गरेकी थिइन। उनले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७० गरी कुल १२७ केजी भार बहन गरेकी थिइन।
यसअघि छनोट चरणमा करिनाले नाममा स्न्याचमा ४७ र क्लीन एण्ड जर्कमा ६५ सहित ११२ केजीको राष्ट्रिय कीर्तिमान राखेकी थिइन। जुन संगिताले भंगल गरिन।

५) जुनु राईः पहिलो स्वर्ण

उसुको महिला स्पर्धामा नेपालकी जुनी राईले अर्को स्वर्ण पदक हासिल गरिन। उनले उसुको सान्सौंतर्फ ५६ किलो तौल समूहमा स्वर्ण जितेकी हुन्। फाइनलमा जुनीले श्रीलङ्काकी मधुमलीलाई २–० अङ्कले पराजित गर्दै उसुबाट पाँचौ स्वर्ण दिलाइन। त्यस्तै महिला उसुको थाउलो ताइजिनमा नेपालकी मीना ग्लानले रजत जितेकी थिइन।

६) सावित्रा भण्डारीः नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल


नेपाली महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारीले बिहीबार नेपालका लागि सर्बाधिक गोलकर्ताको बनेर इतिहास रचिन। पोखरा रंगशालामा बिहीबार भएको खेलमा माल्दिभ्स विरुद्ध ह्याट्रिक गोल गर्दै उनले यो उपलब्धि हासिल गरेकी हुन्।

सावित्राले पूर्वकप्तान अनु लामाको ३५ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान भंग गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ३८ पुर्याएकी छिन्। कीर्तिमान राखे पनि नेपाललाई अन्तर्राष्ट्रिय उपाधि हासिल नगराउँदासम्म आफ्नो सपना साकार नहुने सावित्राले बताइन।

उनले भनिन्, ‘मैले नयाँ कीर्तिमान कायम गरेको छु तर देशलाई उपाधि हासिल नगराउँदासम्म त्यसको सार्थकता छैन। प्राप्त अवसरलाई सदुपयोग गर्दै टोलीलाई उपाधि दिलाउन म लाग्नेछु।’

सम्बन्धित समाचार: सावित्रालाई ऐतिहासिक उपलब्धि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad