ad ad

खेल


मन्दिराको उतारचढावपूर्ण फेन्सिङ यात्रा

मन्दिराको उतारचढावपूर्ण फेन्सिङ यात्रा

लक्ष्मी जि.सी
असोज २७, २०७९ बिहिबार १०:४४, काठमाडौँ

सफलताको शिखरमा पुग्नु र त्यहाँ टिक्नु दुई फरक विषय हुन्। शिखर पुग्न भन्दा पनि त्यहाँ टिक्न झन् कठिन हुन्छ। खेलाडीले सधैँ सफलता पाउँछ नै भन्ने छैन। अझ सफलतालाई निरन्तरता दिन त झनै कठिन छ। यस्तै, सफलतालाई निरन्तरता दिनबाट चुकेकी छिन्, फोयल फेन्सर नेपाल एपीएफ क्लबकी मन्दिरा थापा। 

विजेताका रुपमा मन्दिरा नवौं राष्ट्रिय खेलकुदको फेन्सिङ खेल्न पोखरा आएकी थिइन्। तर, यहाँ उनले कास्य पदकमा चित्त बुझाउनु पर्यो। गत फागुनमा काठमाडौंमा भएको गणेशमान सिंह स्मृति फेन्सिङमा उनले स्वर्ण पदक जितेकी थिइन्। आन्द्राको ट्युमर शल्यक्रियापछि पुनरागमन गरेकी उनी त्यतिबेला आफ्नो पहिलो प्रतियोगितामा नै स्वर्ण जित्न सफल भएकी थिइन्। नवौं खेलकुदमा त्यसको निरन्तरताको अपेक्षासहित उनी प्रतिस्पर्धा उत्रेकी थिइन्। तर, खेल उनले सोचे जस्तो भएन। धन्न पदकविहीन भने हुन परेन। 

फेन्सिङको फोयलमा मगंलबार मन्दिरा नेपाली सेनाकी रमा सिहंसँग सेमिफाइलमै पराजित भएकी थिइन्। फागुनमा आफैँले फाइनलमा हराएको खेलाडीबाट यसपटक सेमिफाइनलमा पराजित हुनुपर्दा उनी दुःखी थिइन्।

सेमिफाइनलमा रोकिएकी मन्दिराले भनिन्, ‘मेहनत गरे अनुसारको नतिजा ल्याउन सकिनँ। प्रशिक्षण राम्रै थियो। तर केही दिनअघि मात्र डेंगी भयो। त्यसले पनि असर पर्यो। प्रशिक्षणका आधारमा स्वर्ण पदककै आशा लिएर आएकी थिएँ।’ 

एक पटक रमाको ७ र मन्दिराको १ अंक थियो। उत्कृष्ट पुनरागमन गर्दै मन्दिराले १३ अंक पुर्याउँदा रमाको १४ अंक थियो। तर, अन्त्यमा रमाले १५ अंक पुर्याइन भने मन्दिरा १३ अंकमै रोकिइन्। भन्छिन्, ‘सोचेको जस्तो खेल्न नसकेपछि त्यहीँ रुन आइसकेको थियो। जसोतसो सम्हालिएर खेल सकेँ।’ 

मन्दिराले फेन्सिङ खेल्न थालेको झण्डै ७ वर्ष भयो। मंगलबारको खेल हार्दा खेल जीवनकै सबैभन्दा ठूलो दुःख लागेको उनले सुनाइन्। ‘क्लब, प्रशिक्षक र साथी साथीहरुबाट ठूलो सहयोग पाएको थिएँ। उहाँहरुले जे अपेक्षा गरेर पठाउनुभएको थियो त्यो पुरा गर्न सकिनँ त्यसमा एकदम दुःख लागेको छ,’ उनले थपिन्। 

मन्दिरा खेल जीवन सुरु गर्नुअघि सशस्त्र प्रहरी बलमा भर्ती भएकी थिइन्। त्यहाँ सेवा अवधि ९ वर्ष पुगिसक्यो। त्यहीँ उनले फेन्सिङको बारेमा सुनिन्। त्यतिबेला फेन्सिङ नेपालमा भर्खर सुरु भएको थियो। 

मन्दिराले भनिन्, ‘त्यो बेलामा हाम्रोमा पुरुषको मात्र टोली थियो, पहिलो पुस्ताका खेलाडी उनीहरु नै हुन्।’

२०७३ देखि उनले राष्ट्रिय प्रतियोगिता खेल्न थालिन्। पहिलो सहभागितामा नै उनले व्यक्तिगतमा कास्य पदक जितिन्। उनी सम्मिलित समूहले स्वर्ण पदक जित्यो।

सोही वर्ष पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा उनले व्यक्तिगततर्फ रजत र समूहमा स्वर्ण पदक जितिन्। राखेप च्याम्पियनसिपमा व्यक्तिगत र समूह दुवैमा स्वर्ण पदक जितेकी थिइन्। लुम्बिनीमा भएको आठौं राष्ट्रिय खेलकुद भने उनका लागि स्मरणीय रह्यो। एकल र टिम दुवैमा स्वर्ण पदक जित्न सफल भइन्। स्वर्ण पदक जितेपछि उनमा अझै राम्रो गर्ने उत्साह जाग्यो। आफ्नो खेललाई अझै निखार्न लागि परिन्। 

कास्य पदकबाट सुरु भएको उनको खेल जीवनले एक पछि अर्को सफलता प्राप्त गर्दै गएको थियो। यसपटक कास्यमा सीमित हुनुपर्दा भने फेरि सुरुवातकै दिन उनलाई सम्झना भएको छ। आँसु लुकाउन नसकेकी मन्दिराले भनिन्, ‘मन बुझाउन गाह्रो भइरहेको छ। अर्को विकल्प पनि त छैन।’ 

खेल जीवन सुरु गर्दा उनी १९ वर्षको आसपासमा थिइन्। फुटबल, क्रिकेटको प्रशिक्षण सुरु गर्न त्यो उमेर बढी भइसकेको ठानेर उनले फेन्सिङ रोजेकी थिइन्। फेन्सिङमा उमेरको त्यस्तो बन्देज छैन। यद्यपि उचाइको भने अर्थ हुन्छ।

‘यो दिमागी खेल हो। यसका लागि फिटनेस चाहन्छि। दिमाग छिटो चलाउनुपर्छ। सक्छु भन्ने लागेर या खेल रोजेकी हुँ।,’ उनले भनिन्।

फेन्सिङका सामाग्री अन्य खेलभन्दा केही महंगा छन्। यसमा प्रयोग हुने तरवार चिनियाँ कम्पनीको ३ देखि ५ हजार रुपैयाँसम्म पर्छ। मंहगो ब्रान्डको ६० हजार रुपैयाँसम्म पर्छ। मन्दिराका अनुसार ड्रेस पनि महंगो पर्छ। बुलेट प्रुफ मास्क र पन्जा पनि यो खेलमा आवश्यक हुन्छ। प्रदेशका खेलाडीलाई भन्दा विभागका खेलाडीलाई किटका लागि सहज छ। 

सागमा स्वास्थ्य बाधक
२०७६ मा स्वदेशमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) खेल्न उनलाई स्वास्थ्यले साथ दिएन। छनोट भएर सागको बन्द प्रशिक्षणमा थिइन्। तर दुर्भाग्य उनले साग खेल्न सकिनन्।  २०७६ भदौ ८ गते बन्द प्रशिक्षणमा बसेकी मन्दिराले भदौ १६ गते बन्द प्रशिक्षण छाड्नुपर्यो। आन्द्रामा देखिएको ट्युमरको शल्यक्रिया गर्नुपर्ने भएपछि उनले प्रशिक्षण त्याग्नुपर्यो। त्यसअघि पनि दुखाइ महसुस गरेपनि उनले खासै वास्ता गरिनन्। इन्जेक्सन लगाएर खेल्थिन्। तर बन्द प्रशिक्षणमा बसिरहँदा दुखाइ सहिनसक्नु हुन थाल्यो। त्यसपछि शल्यक्रियाको विकल्प भएन। बीएन्डबी अस्पतालमा शल्यक्रिया गराइन्।

साग गुमाउँदाको पीडा शब्दमा बयान गर्न नसक्ने उनी बताउँछिन्। यसपटक पनि उनी उस्तै दुःखी भइन्।

‘स्वर्ण पदक जितेको भए अझ राम्रो प्रर्दशन गर्न सक्छु भन्ने हुन्थ्यो। १९ औं एसियाली खेलकुदका लागि यो छनोट पनि हो। त्यसले पनि पीडा झन् थपियो,’ उनले भनिन्।

हुन त साग गुमाएपछि उनले खेलमा फर्कने आशा मारिसकेकी थिइन्। तर, उनी पुनरागमन गर्न सफल त भइन् नै, स्वर्ण पदक नै जितेपछि भने उनीमा मनोबल बढेको थियो। शल्यक्रियाको चार महिनामै उनी खेलमा फर्केकी हुन्। डाक्टरले अलि बढी आराम गर्न सल्लाह दिएका थिए। तर उनको मन मानेन।

हारमा पीडा त थियो। हुनेवाला श्रीमान् (पुजन श्रेष्ठ) को पनि सपना पुरा गर्न उनी स्वर्ण जित्न चाहान्थिन्। पुजनलाई उनी आफ्नो लागि लक्की मान्छिन्। उनको अधिकांश खेल हेर्न पुजन पुग्ने गर्छन्। यसपटक उनी पोखरा आउन सकेनन्। खेल सकिएपछि उनले फोन गरिन्। पुजनले उल्टो चिन्ता नलिन भन्दै ढाडस दिए।

यसपटकको प्रदर्शनलाई बिर्सिएर फेरि उच्च प्रदर्शनका लागि प्रयास गर्नेमा मन्दिरा दृढ छिन्। ‘हारजित जे भए पनि हामी खेलाडीले मेहनत गर्न छाड्नु हुन्न,’ उनले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .