खेल


अब कसले किन्ला साढे ४ अर्ब डलर मूल्यवान् म्यानचेस्टर युनाइटेड?

संसारकै तेस्रो ठूलो मूल्यवान् क्लब बिक्रीको बाटो खुल्ला
अब कसले किन्ला साढे ४ अर्ब डलर मूल्यवान् म्यानचेस्टर युनाइटेड?

म्यानचेस्टर युनाइटेड । तस्बिर : स्काई न्युज


नेपालखबर
मंसिर ७, २०७९ बुधबार १२:१५, काठमाडौँ

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका मालिकहरुले चर्चित फुटबल क्लब बिक्री गर्न चाहेको बताएका छन्। 

उनीहरुले मंगलबार क्लबको रणनैतिक विकल्पहरुको खोजी प्रक्रिया सुरु भएको भन्दै बिक्रीको इच्छा देखाएका हुन्। 

ती विकल्पमा ग्लेजर परिवारबाट क्लब पूर्ण बिक्री समेत हुनसक्नेछ। ग्लेजर परिवारले सन् २००५ मा म्यानचेस्टर युनाइटेडको पूर्ण स्वामित्व लिएको थियो। 

‘प्रक्रियागत रुपमा निर्देशकीय बोर्डले सबैखाले रणनैतिक विकल्पहरुबारे सोच्नेछ, यसमा क्लबमा नयाँ लगानी भित्र्याउने, पूर्ण बिक्री वा अन्य कारोबार समावेश छन्’, क्लबले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

तर वक्तव्यमा क्लबको बिक्रीको सुनिश्चितता भने गरिएको छैन। 

‘अहिले भइरहेको समीक्षामा कम्पनी बदलिने गरी हुने कारोबारको कुनै सुनिश्चितता छैन’, वक्तव्यमा उल्लेख छ। 

अव्राहम र जोयल ग्लेजरलाई समेत उद्धृत गरिएको वक्तव्यमा थप भनिएको छ, ‘हामीले क्लबको सफलताको इतिहास निर्माणलाई निरन्तरता दिँदै गर्दा बोर्डले रणनैतिक विकल्पहरुको समीक्षा गर्न आधिकारिक रुपमा अनुमति दिएको छ।’

वक्तव्यमा सबैखाले विकल्पको समीक्षा गर्दै फ्यान र क्लबलाई ध्यानमा राखेर आज र भोलिका दिनमा क्लबमा महत्वपूर्ण अवसर वृद्धिको सिर्जना गर्ने उल्लेख छ। 

‘यो प्रक्रियाअनुसार हामी पूर्णरुपले फ्यान, सेयरसदस्य र अन्य धेरैको उत्कृष्ट चाहनालाई ध्यान दिनेछौँ’, विज्ञप्तिमा भनिएको छ। 

त्यसैगरी म्यानचेस्टर युनाइटेडले रेनी ग्रुपले ग्लेजर परिवारको वित्तीय सल्लाहकारको रुपमा काम गरिरहेको पनि पुष्टि गरेको छ। त्यस्तै लाथम र वाट्किन्स एलएलपीले कानुनी पाटो हेरिरहेको पनि उल्लेख गरिएको छ। यता रोथचाइल्ड एन्ड कम्पनीले ग्लेजर परिवारका सेयर सदस्यको वित्तीय सल्लाहकारको काम गरिरहेको उल्लेख छ। 

खेल र वित्तीय क्षेत्रमा क्लब विरलैमध्येको एक हो। यो मुख्य खेल फ्रेन्चाइजमा सार्वजनिक रुपमा व्यापार भइरहेको थोरैमध्ये एक हो। युनाइटेडका दुई प्रतिस्पर्धीको सेयर पनि युरोपेली सेयरबजारमा यसरी कारोबार भइरहेको छ।  तिनमा फ्रांकफर्टमा कारोबार भइरहेको जर्मनीको बोरुसिया डर्टमन्ड र मिलानमा सूचीकृत इटालीको युभेन्टस रहेको छ। 

फोर्ब्सका अनुसार म्यानचेस्टर युनाइटेड संसारकै तेस्रो धेरै मूल्यवान् क्लब हो। यसको बजार मूल्यांकन ४ अर्ब ६ करोड अमेरिकी डलर रहेको छ। यसभन्दा अगाडि दुई स्पानिस क्लबहरु रियल मड्रिड र बार्सिलोना छन्। 

तर क्लबले सन् २०१७ यता कुनै उपाधि जित्न सकेको छैन। सर एलेक्स फर्गुसन यसका व्यवस्थापक हुँदासम्म भने क्लब खेल क्षेत्रमा निकै सफल थियो। फर्गुसनले सन् २०१३ मा अवकाश लिएका थिए। 

हाल यसका प्रशिक्षकमा एरिक टेन ह्याग आएका छन् जो युनाइटेडमा फर्गुसनपछि स्थायी मेनेजर हुने पाँचौँ प्रशिक्षक हुन्। उनीभन्दा अगाडि डेभिड मोयस, लुइ भान गाल, जोसे मौरिन्हो र ओले गनर सोल्स्कर रहेका थिए। 

मंगलबार नै क्लबले चर्चित फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छाडेको जनाएको थियो। रोनाल्डोको केही दिनअघिको एक अन्तर्वार्ता विवादित भएको थियो। योसँगै क्लब र रोनाल्डोको मौखिक सहमतिमा यस्तो निर्णय भएको क्लबले जनाएको छ। रोनाल्डो प्रशिक्षक ह्याग र मालिक ग्लेजर परिवारप्रति निकै असन्तुष्ट थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .