ad ad

खेल


आशिफलाई विभेद गरेपछि मधेश सरकारसँग क्रिकेटप्रेमीको आक्रोश

आशिफलाई विभेद गरेपछि मधेश सरकारसँग क्रिकेटप्रेमीको आक्रोश

आइसीसी लिग डिभिजन टु खेलका क्रममा आशिफ शेख। तस्बिर : सरोज नेपाल/नेपालखबर


जयन्त ठाकुर
चैत ३, २०७९ शुक्रबार १९:१४, जनकपुरधाम

आइसीसी क्रिकेट विश्वकप लिग २ मा यूएईलाई पराजित गर्दै विश्वकप छनौट चरणमा स्थानमा पक्का गर्ने टोलीका सदस्यहरु गुलशन झा र आरिफ शेषलाई पुरस्कृत गर्ने निर्णय मधेश प्रदेश सरकारले  बिहीबार गर्यो।

बिहीबारको खेलमा जितका लागि निर्णायक भूमिका निर्वाह गरेका खेलाडीद्वय झा र आरिफलाई जनही २ लाख नगद पुरस्कार प्रदान गर्ने घोषणा मुख्यमन्त्री सरोजकुमार यादवले गरे। 

खेलाडीहरु देशकै गहना रहेकाले उनीहरुको मनोबल उच्च बनाउन मधेश सरकारले झा र शेखलाई पुरस्कृत गर्ने घोषणा गरेको उनले बताए। 

मधेश सरकारको यो निर्णयलाई लिएर चौतर्फी प्रशंसासँगै आलोचना पनि भइरहेको छ।

आइसीसी विश्वकप क्रिकेट लिग २ प्रतियोगितारी उत्कृष्ट प्रदर्शन गरेका आशिफ शेखलाई पुरस्कारबाट बञ्चित गरिएको विषयलाई लिएर चर्को आलोचना भइरहेको छ। 

मधेश सरकारको यो निर्णयलाई लिएर सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ। 

नेपाल पत्रकार महासंघ धनुषा शाखाका उपाध्यक्ष नेहा झा लेख्छिन्, ‘आशिफ पनि यहीँका खेलाडी हुन्, उनलाई कस्तो महसुस भएको होला कमसेकम हाम्रो प्रदेश सरकारले सोच्नु पर्नेथ्यो।’

त्यस्तै नेपाल पत्रकार महासंघ धनुषाकै कोषाध्यक्ष राजकमल सिंहले सामाजिक सञ्जालमा प्रदेश सरकारको यो निर्णय आसिफसँगको विभेदपूर्ण निर्णय रहेको लेखे। 

उनी लेख्छन्, ‘मधेश सरकारले विश्वकप क्रिकेट लिग २ मा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीका सदस्यद्वय गुल्सन झा र आरिफ शेषलाई पुरस्कृत गर्ने निर्णय प्रशंसनीय हो। यद्यपि त्यही टोलीमा रहेर प्रतियोगितभर टिमलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका आशिफ शेखलाई पुरस्कृत नगरिनु अन्याय हो। पूरै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कारबाट बञ्चित गर्नु विभेदपूर्ण निर्णय हो।’

यूएईसँगको बिहीबारको खेलमा नेपालको टप अर्डरका ब्याट्सम्यान चल्न नसक्दा मध्यक्रमका ब्याट्सम्यानद्वय आरिफ र गुलसनको अर्धशतकीय पारी सहयोगमा डिएल मेथोडमा नेपालले जित निकाल्न सफल भएको थियो। 

तर नेपालको ओडीआई मान्यता नै गुम्ने स्थितिबाट विश्वकप क्रिकेटको छनौट चरणसम्म पुर्‍याउन प्रतियोगिताभर नेपालका ओपनर आशिफले महत्वपूर्ण योगदान गरेका छन्। 

आशिफले अन्तर्राष्ट्रिय वानडे श्रृंखलामा ३५ म्याच खेल्दै ३३.५३ को औसतले १ हजार ७३ रन बनाएका छन्। 

उनी नेपाली क्रिकेट टिमबाट अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गर्ने केही खेलाडीमध्ये पर्छन्। तर उनी मधेश सरकारले घोषणा गरेको पुरस्कृत हुने सूचीमा नपर्दा क्रिकेटप्रेमीहरुको मन खिन्न भएको छ। 

एकजनाले सामाजिक सञ्जालमा लेखे ‘मधेश सरकारले घोषणा गरेको यो निर्णय खेलाडीको मनोबल तोड्ने खालको छ। कुनै पनि खेलाडीको प्रदर्शनको मापन एउटा खेलको प्रदर्शनले गर्नु हुँदैन, आशिफले प्रतियोगिताभर अब्बल प्रदर्शन गरे, वेल डन आशिफ।’

त्यस्तै अर्का क्रिकेटप्रेमीले मधेश सरकारलाई यो निर्णयलाई कायम राख्दै प्रतियोगिताभर राम्रो प्रदर्शन गरेका आशिफलाई समेत सम्मानपूर्वक पुरस्कृत गर्न सुझाव दिए। 'त्यसो नभए मधेस सरकारको विभेदपूर्ण निर्णय सावित हुनेछ, आशिफमाथि अन्याय हुनेछ’, उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .