खेल


नेपालले उपाधि जित्छ : सन्दीप लामिछाने

नेपालले उपाधि जित्छ : सन्दीप लामिछाने

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १९:२४, काठमाडौँ

नेपालका स्पिनर सन्दीप लामिछानेले आइसिसी ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्वालिफायरको सेमिफाइनलमा प्रवेश गरे घरेलु टोली उपाधि नै जित्ने विश्वास व्यक्त गरेका छन्। 

मंगलवार मलेसियामाथि ६ विकेटको जित निकाल्दै नेपाल समूह ‘ए’ बाट एक खेल अगावै जारी एशिया क्वालिफायरको सेमिफाइनलमा पुगेको छ। त्यो सफलतासँगै भएको पत्रकार सम्मेलनमा सन्दीपले नेपालको अहिले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा निकै राम्रो रहेकाले उपाधि जित्ने नै विश्वास व्यक्त गरे।

साथै, उनले अहिले नेपालको घरेलु मैदानमा नेपालसँग खेल्न कुनै टोलीका लागि पनि सहज नहुने बताए। यो समूहबाट नेपालसँगै ओमान एक खेल बाँकी छँदा नै सेमिफाइनलमा पुग्न सफल भयो।

यी दुईबीच समूह विजेताका लागि अन्तिम खेल आगामी बिहीबार हुनेछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १६६ रनको लक्ष्य नेपालले १८ औं ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालको जितमा आक्रामक ब्याट्सम्यान कुशल मल्लले ६५ रनको अर्धशतकीय इनिङ खेले। कुशल मल्लले खेल फिनिस गर्ने अवसर आएपनि सफल नभएकोमा दुःख लागेको बताए।

कुशलले ३४ बलमा दुई चौका र सात छक्का प्रहार गरे।

जितनजिक पुग्दा उनी १७ औं ओभरमा मोहम्मद अमिरद्वारा आउट हुन पुगे। त्यसअघि आक्रामक सुरुआत गरेको नेपालले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गर्‍यो। यो साझेदारीमा ओपनर कुशल भुर्तेलको नै ४३ रनको योगदान दिए।

स्पिनर पवनदीप सिंहले भुर्तेललाई आउट गर्दै नेपालको पहिलो विकेट लिए। कुशलको इनिङमा समान चार चौका र छक्का रह्यो। अर्का ओपनर आसिफ शेख दोस्रो विकेटका लागि कुशल मल्लसँग ६७ रनको साझेदारी गरे।

११.४ ओभरमा अमिरले नै आसिफलाई ३२ रनमा आउट गर्दै त्यो साझेदारी तोडे। कप्तान रोहितकुमार पौडेल २ रनमा नै पवेलियन फर्किए। उनी पनि अमिरकै शिकार भए। तर, सन्दीप जोराले अविजित १८ रन बनाउँदै १२ बल अगावै जित सुरक्षित गराए।

मलेसियाको बलिङमा अमिरले तीन तथा पवनदीपले एक विकेट लिए। यो समूहबाट लगातार दुई हारसँगै मलेसियाका र सिंगापुरको यात्रा समूहचरण बाटै अन्त्य भएको छ। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६६ रनको चुनौतिपूर्ण लक्ष्य प्रश्तुत गरेको थियो।

निकै आक्रामक शुरुवात गरेको मलेसियाले पनि २७ बलमा नै ५० रन जोड्दै नेपालका बलरमाथि दबाब बनाए। ओपनरद्वय सैइद अजिज र जुबैदी जुलकिफलले ५८ रनको साझेदारी गर्दै मलेसियालाई राम्रो सुरुवात दिए। अविनाश बोहोराले ५.५ ओभरमा जुबैदीलाई २४ रनमा आउट गर्दै ‘ब्रेक थ्रु’ दिलाए । पहिलो विकेट पतनपछि पनि मलेसियाले आक्रामक ब्याटिङ जारी राख्यो। 

एक छेउबाट ओपनर सैइद अजिजले इनिङ अगाडि बढाए। तर, सातौं ओभरमा मलेसियाले कप्तान अहमद पैmजलाई ३ रनमा नै रनआउटका रूपमा गुमायो।

एक छेउबाट अजिजले आक्रामक ब्याटिङ जारी राखे। तथापि, लेग स्पिनर सन्दीपले अनुभवी ब्याटर विरनदीप सिंहलाई ४ रनमा नै पवेलियन फर्काउँदै नेपाललाई तेस्रो सफलता दिलाए। त्यो विकेटसँगै नेपालले मलेसियाको आक्रामक ब्याटिङलाई रोक्ने प्रयास गर्‍यो।

ओपनर सैदले चौथो विकेटका लागि सार्भिन मुनैदीसँग ३४ रनको साझेदारी इनिङ उकास्ने प्रयास गरे। तर, नेपालका कप्तान रोहितले सार्भिनलाई १३ रनमा कट एण्ड बोल्ड गर्दै उक्त साझेदारी तोडे। १४ औं ओभरमा चौथो विकेट पतन हुँदा मलेसियाले ११९ रन जोडेको थियो।

यद्यपि, मलेसियाले खातामा थप ६ रन जोड्दा महत्ववपूर्ण ब्याट्सम्यान सैइदलाई ६८ रनमा गुमायो। गुल्सन झाले उनलाई कुशल भुर्तेलद्वारा क्याच आउट गराए। सैइदको इनिङमा आठ चौका र दुई छक्का रह्यो। त्यसपछि नेपालका बलरले कसिलो बलिङ गरे।

यद्यपि, तल्लो क्रमका ब्याटर विजयी उन्नीले नटआउट १३ रन जोड्दै मलेसियालाई राम्रो योगफलतर्पm अग्रसर गराए। नेपालको बलिङमा अविनाश बोहोराले चार ओभरमा सर्वाधिक चार विकेट लिँदा २७ रन खर्चिए।

सन्दीप, रोहित र गुल्सनको नाममा एक विकेट रह्यो। अनुभवी बलर सोमपाल कामी र करण केसी विकेटविहिन भएसँगै महँगा पनि रहे।

लामिछानेले ब्याटिङमा पुराना समस्या हटेको र एक जना चल्न नसक्दा राम्रो ब्याकअप पाउनु निकै सुखद् पक्ष रहेको बताए। सन्दीपले आजको खेलमा कुनैपनि समय नेपाल पछि नपरेको उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .