खेल


जर्सी अभावमा टेप टाँसेर खेलेको एपीएफलाई कारबाही, ११ हजार जरिवाना

जर्सी अभावमा टेप टाँसेर खेलेको एपीएफलाई कारबाही, ११ हजार जरिवाना

तस्बिर : नेपालखबर


नेपालखबर
फागुन २२, २०८० मंगलबार १२:५७, काठमाडौँ

जर्सी अभावमा टेप टाँसेर खेलेको एपीएफ फुटबल क्लब कारबाहीमा परेको छ।

सोमबार भएको झापा गोल्डकप अन्तर्गतको क्वार्टरफाइनल भिडन्तमा एपीएफले टाइब्रेकरमा बागमती युथ क्लबलाई ४-३ गोलले हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो। 

तर, एपीएफको उक्त खेललाई लिएर विवाद भएको छ। बागमती युथविरुद्धको खेलका क्रममा एपीएफले जर्सी अभाव भएपछि टेप टाँसेर खेलेको थियो। 

एपीएफको उक्त कदमलाई लिएर झापा गोल्ड कप २०८० को नियमावलीको दफा १० को प्रावधान बमोजिमको खेलाडीको जर्सी तथा जर्सीको रङसम्बन्धी नियम उल्लंघन गरी खेल खेलेको ठहर आयोजकले गरेको छ।

यस्तोमा एपीएफले फुटबल खेलको मर्यादा तथा झापा गोल्ड कपको गरिमा आँच पुर्‍याउने काम भएको भन्दै आयोजकले प्रतियोगिता नियमावलीको दफा २३ (ख) बमोजिम कारबाही गरिएको जनाएको छ।

आयोजकबाट प्रतियोगिता नियमावलीको पूर्ण परिपालना गर्ने तथा भविष्यमा यस्ता गल्ती नदोहोर्‍याउने लिखित प्रतिबद्धता एपीएफ फुटबल क्लबबाट माग गर्ने निर्णय गरेको अध्यक्ष विनोद बस्नेतले बताएका छन्। 

उनका अनुसार बागमती युथविरुद्ध टेप टाँसेर खेलेको विषयलाई लिएर एपीएफ फुटबल क्लबलाई ११ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ। 

बागमतीविरुद्धको खेलपछिको पोस्ट म्याच कन्फ्रेन्समा प्रतिक्रिया दिँदै एपीएएका प्रशिक्षक सुनिल श्रेष्ठले रणनीतिअनुसार खेल प्रदर्शन गर्न नसकेको बताएका थिए। 

उनले झापा जस्तो प्रतिष्ठित गोल्ड कपमा जर्सीमा टेपिङ गर्नुपर्ने अवस्था आउनु लज्जास्पद भएको स्वीकारेका थिए। टेपिङका कारण खेलाडीले अपेक्षाकृत खेल्न नसकेको पनि उनले बताए। जर्सी अभावका कारण एपीएफले टेप टाँसेर खेल खेलाएको उनैले स्वीकारेका थिए।

एपीएफ गत सिजन ए डिभिजन लिगबाट रेलिगेसनमा परेको छ। यद्यपि, एपीएफले अर्को क्लबमाथि गरेको उजुरी छानबिन नभएसम्म निर्णय भएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .