खेल


आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित

तस्बिर : सरोज नेपाल


नेपालखबर
चैत १९, २०८० सोमबार १६:५६, काठमाडौँ

नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ टोलीले सान्तवना जित निकालेको छ। 

सोमबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ टोलीले ३ रनको रोमाञ्चक जित निकालेको हो। यससँगै आयरल्यान्डले सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ। 

नेपाल ‘ए’ टोलीले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन मात्रै बनायो। 

आयरल्यान्ड एक समय ७.१ ओभरमा ४–५२ को नाजुक अवस्थामा थियो। तर पाचौँ विकेटका लागि मोर्गन टपिङ र ग्यारेथ डेलेनीले १ सय २९ रनको साझेदारी गरेपछि आयरल्याण्डले जितको आधार खडा गरेको थियो। 

३७ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका मोर्गन टपिङ ६० रन बनाउँदा रासिद खानको बलमा पवन सर्राफको हातबाट क्याच आउट भए। 
ग्यारेथ ६८ रन बनाउँदा कमल ऐरिको बलमा एलवबीडब्लु धरापमा परे। उनले ३७ बलमा ५ चौका र ५ छक्का हाने। 

ओपनर रोस अडाएरले ३१ रन थपे। फियोन ह्यान्ड २२ रन बनाउँदा रनआउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

नेपालका लागि विपिन खत्रीले ३ विकेट लिएपनि टोलीको हार टार्न सकेनन्। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै मात्र २३ रन खर्चे। रासिद खानले दुई विकेट लिए। कमल ऐरि र नारायण जोशीले समान १ विकेट आफ्नो नाममा गरे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ए ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १३ रनको योगफल तयार पारेको थियो। 

नेपाल ए का लागि आरिफ शेखले ९३ र कमल ऐरी १९ रनमा नटआउट रहे। ४८ बलको सामना गरेका आरिफले ७ चौका र ६ छक्का हाने।

रासिद खान २४ रनमा पेभेलियन फर्के। बसिर अहमदले १९ र पवन सर्राफले १३ रन थपे। 

कप्तान विनोद भण्डारी ११ रनमा बोल्ड आउट भए।

नेपाल ‘ए’ र आयरल्यान्डले अब तीन खेलको ओडीआई सिरिज खेल्ने छन्। सिरिजको पहिलो खेल बुधबार हुनेछ। दोस्रो खेल शुक्रबार र सिरिजको अन्तिम खेल आइतबार हुनेछ।

सिरिजका लागि यसअघि नै विनोद भण्डारीको कप्तानीमा टोली घोषणा भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .