खेल


७३ मिनेटमै च्याम्पियन

७३ मिनेटमै च्याम्पियन

यज्ञराज जोशी
फागुन ५, २०७६ सोमबार ७:२२,

दुई दिनदेखि विमल घर्तीमगरलाई हल्का ज्वरो आइरहेको थियो। शनिबार मछिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबको सामना गर्दासमेत उनको ज्वरो घटेको थिएन।

लिगको नयाँ विजेता कोे होला? छिनोफानो यही खेलबाट हुँदै थियो। दबाब थियो– मछिन्द्रलाई। आर्मीले बराबरीमा मात्रै रोके पनि ऊ च्याम्पियन बन्नेवाला थियो। उता नयाँ विजेताका रूपमा उदाउन मछिन्द्रसँग जितको विकल्प थिएन।

यही दबाबबीच मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले पूर्णरुपमा ‘फिट’ नभए पनि एक दिनअघि मात्रै अनुबन्ध भएका राष्ट्रिय टोलीका स्ट्राइकरसमेत रहेका विमललाई मैदान उतार्ने जोखिम उठाए।

उक्त जोखिम मोल्नाको कारण खोतल्दै प्रशिक्षक कटुवाल सुनाउँछन्, ‘विमल बिरामी थिए। दुई दिनदेखि तातो पानी खाइरहेका थिए। तर पनि उनलाई खेलाउनुपर्ने बाध्यता थियो। किनभने विमल मैदान उत्रँदा अर्काे टिममाथि दबाब सिर्जना हुन्थ्यो।’

विमल दुई महिनाका लागि मछिन्द्रसँग आवद्ध भएका हुन्

प्रशिक्षकको त्यस्तो रणनीतिले केही हदसम्म काम पनि गर्यो। १–० ले खेल गुमाएपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पनि आफ्ना खेलाडीहरू खेल अवधिभर दबाबमा परेको स्वीकारे। जसका कारण नयाँ च्याम्पियन बन्ने आर्मीको सपना चकनाचुर भयो।

एन्फाको प्रतिबन्धपछि पहिलोपटक मैदानमा ७३ मिनेट बिताएका ‘विरामी’ विमलको प्रदर्शन अपेक्षाबमोजिम भने थिएन। तर, उनको जोश मैदानमा कम थिएन। खेलको तीन चौथाइ समय मैदानमा बिताएका मुख्य स्ट्राइकर विमलबाट गोल नै हुन नसके पनि उनको खेलबाट प्रशिक्षक कटुवाल भने सन्तुष्ट देखिए।

‘विमलले उसको बेस्ट दिएको हो,’ उनले भने, ‘फिजिकल, टेक्निकअनुसार उनको प्रदर्शन उत्कृष्ट थियो। उसले खेल्नुभन्दा पनि खेलमा उसको उपस्थिति हाम्रा लागि फाइदाजनक हो।’

७३ मिनेट खेलेर च्याम्पियन बन्ने सौभाग्य
गत कात्तिक अन्तिममा विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने दिनको अघिल्लो रात ठमेलका विभिन्न डिस्कोमा गई अनुशासन विपरीतका गतिविधिमा संलग्न भएको भन्दै एन्फाले विमलसहित ४ खेलाडीलाई कार्बाही गरेको थियो। एन्फाको ९० दिने प्रतिबन्धपछि विमल पहिलोपटक शनिबारै घरेलु फुटबलमा फर्किएका हुन्।

शुक्रबार मात्रै (फाइनलको १ दिनअघि) मछिन्द्रले विमललाई अनुबन्ध गरेको थियो। यही अवसर सदुपयोग गर्दै आफू ‘अनफिट’ हुँदाहुँदै पनि फुटबलसँगको लगावका मैदानमा उत्रिएको विमल बताउँछन्।

‘म सानैदेखि फुटबल खेलमा संलग्न भइरहेको छु। फुटबलले नै मलाई चिनाएको हो,’ विमल भन्छन्, ‘औषधि लिएर हुन्छ कि के गरेर, जसरी पनि फाइनल खेल्छु भन्ने मनमा लागेको थियो। त्यसैले मैदानमा उत्रिएँ।’

पहिलो हाफको इन्जुरी समयमा विपक्षी खेलाडीको ट्याकलमा विमल घाइते पनि भए। लगत्तै ५२औं मिनेटमा दीपक राईलाई राम्रो पास उपलब्ध गराए। तर दीपकले गोलकिपर विकास खवासलाई बिट गर्न नसक्दा मछिन्द्रले दोस्रो गोल गर्ने मौका गुमायो।

७१औं मिनेटमा उनी अफसाइड भेटिए। त्यसलगत्तै ७३औं मिनेटमा सुजल श्रेष्ठले उनको ठाउँबाट खेल्न मैदान प्रवेश गरेका थिए। दर्शकहरूलाई नमस्ते गर्दै मैदानबाट बाहिरिएका विमललाई दर्शकले ताली बजाउँदै अभिभावदन फर्काएका थिए।

साढे २ महिना चलेको लिगको अन्तिम खेलको ७३औं मिनेट मात्रै मैदान विताएका उनले च्याम्पियन खेलाडी बन्ने सौभाग्य पाए। यसअघि च्यासल युथ क्लबबाट ए डिभिजन लिग खेलेका विमलले उचालेको यही एउटा ए डिभिजनको उपाधि हो।

‘क्लबले मलाई ठूलो अवसर दिएको हो,’ दुई महिनाका लागि मछिन्द्रमा आबद्ध विमलले भने, ‘यस्तो अवसर सबै खेलाडीले पाउदैनन्। यसरी एउटा खेल खेल्दै उपाधि उचाल्न पाउनु निकै ठूलो अवसरको कुरो हो। क्लबले अवसर दिएकामा धन्यवाद।’

बाँकी समय विमलले मछिन्द्रबाट मोफसलका प्रतियोगिताहरू खेल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad