खेल


विश्व क्रिकेटको ध्यान तानिरहेका ‘अलराउन्डर’ दीपेन्द्र

विश्व क्रिकेटको ध्यान तानिरहेका ‘अलराउन्डर’ दीपेन्द्र

लक्ष्मी जि.सी
बैशाख ९, २०८१ आइतबार २०:४, काठमाडौँ

बल फ्याँकेर विकेट लिन र ब्याट चलाएर रन निकाल्न माहिर छन् दीपेन्द्र सिंह ऐरी।

यही खुबीले राष्ट्रिय क्रिकेट टोलीमा उनलाई ‘अलराउन्डर’को परिचय दिलाएको छ। समर्थकमाझ तारिफ बटुलेको छ।

रन कम बनिरहेको होस्, विकेट नझरिरहेको होस्! मैदानमा उनको प्रवेशले दुवै अवस्था बदलिने आशाको सञ्चार हुन्छ दर्शकमाझ। त्यसकारण उनीसँग हरेक खेलमा उम्दा प्रदर्शनको अपेक्षा नहुने कुरै भएन। 

यिनै अपेक्षा बुझेका दीपेन्द्र पनि त्यसरी नै खरो उत्रिने प्रयास गर्छन्। कतिपय खेलमा सफल हुन्छन्। कतिमा सोचेजस्तो हुँदैन। 

समूहले खेल्ने खेलमा एउटा खेलाडीकै कारण जित्ने र हार्ने नहुन सक्छ। तर पनि टोलीमा केही त्यस्ता खेलाडी हुन्छन् जसले खेल आफ्नो पक्षमा ल्याउने दम राख्छन्। तिनै खेलाडीको कोटिमा अटाउँछन् दीपेन्द्र।

नेपालका नम्बर १, विश्व वरीयतामा ११औँ 
उनी नेपालका लागि अहिलेका एक नम्बर अलराउन्डर हुन्। विश्व क्रिकेटकै अलराउन्डरमा उनी हालै मात्र ११औँ नम्बरमा उक्लेका छन्। 

टेस्ट मान्यताप्राप्त राष्ट्रका खेलाडी अलराउन्डरको शीर्ष १० पछि अरु कोही छ भने दीपेन्द्र नै छन्। यस अर्थमा दीपेन्द्र एसोसिएट राष्ट्रको पहिलो वरीयताका अलराउन्डर भन्दा फरक नपर्ला। 

यस्तोमा उनी नेपालको नम्बर १ त स्वाभाविक रुपमै हुने भए। हरेकजसो खेलमा उनीबाट ब्याटिङ वा बलिङबाट उच्च प्रदर्शन हुने अपेक्षा गरिन्छ। फिल्डिङमा त उनी सधैँ अब्बल छन् नै। त्यस अर्थ पनि उनी टोलीको केन्द्रमा रहने गरेका छन्। ७ वर्षयता टोलीको महत्त्वपूर्ण सदस्य रहेका उनी कीर्तिमानी खेलाडी हुन्। 

ओमानमा भएको प्रिमियर कपमा यसपटक नेपालको प्रदर्शन सोचेजस्तो हुन सकेन। समूह चरणमा अपराजित रहेको टोली सेमिफाइनल र त्यसपछि तेस्रो स्थानको खेलमा पनि पराजित भयो। त्यसका बाबजुद पनि दीपेन्द्रले आफ्नो भूमिकामा न्याय गरे।

कप्तान रोहित पौडेलले प्रिमियर कपको यात्रा टुंगिएपछि टोलीमा दीपेन्द्रबाहेक अन्यले खासै राम्रो ब्याटिङ गर्न नसके बताए। दीपेन्द्र त्यस्ता खेलाडी हुन् जसको धेरै भर गर्न सकिन्छ।

६ बल ६ छक्काको कीर्तिमान
यसपटक प्रिमियर कपमा दीपेन्द्रले एकै ओभरमा ६ छक्का हान्दै विश्व कीर्तिमान कायम गरे। दीपेन्द्रले समूह चरणमा कतारविरुद्ध २०औँ ओभरमा सबै बलमा छक्का हान्दै कीर्तिमान बनाए। उनी टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा ६ छक्का हान्ने तेस्रो खेलाडी बने। 

सन् २००७ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध भारतीय ब्याटर युवराज सिंहले एकै ओभरमा ६ छक्का हानेका थिए। त्यस्तै सन् २०२१ मा वेष्ट इन्डिजका काइरन पोलार्डले श्रीलंकाविरुद्ध त्यस्तै एकै ओभरमा ६ छक्का हानेका थिए। 

कतारका मध्यगतिका बलर कमरान खानलाई एकै ओभरमा ६ छक्का हानेका दीपेन्द्रले भने, ‘सुरुमा खेल्दा बल ब्याटमा कनेक्ट भएको थिएन। सोचेँ— १/२ ओभर बिल्ड गरौँ। बलरले यस्तो बल फालिरहेको छ भन्ने थाहा थियो। सुरुको २ छक्का हान्दा त्यस्तो केही थिएन, चौथो छक्का हानेपछि ६ छक्का हान्छु भन्ने भयो। भयो पनि त्यस्तै।’

दीपेन्द्रले नेटमा त्यस्तो अभ्यास गरेको पनि सुनाए। उनले थपे, ‘जुन किसिमको बल आइरहेको थियो। मैले नेटमा अभ्यास गरिरहेको थिएँ। त्यसैले ६ छक्का हान्न सकेँ।’ 

एसियाडको त्यो छिटो अर्धशतक
६ छक्कापछि अन्तर्राष्ट्रिय मिडियामा दीपेन्द्रको चर्चा भइरहेको छ। त्यसो त यसरी मिडियामा उनको चर्चा भएको यो पहिलो पटक होइन। 

उनले सबैभन्दा छिटो अर्धशतक हानेर यसअघि नै विश्व क्रिकेटको ध्यान खिचिसकेका छन्। गत असोजमा चीनको हाङझाओमा भएको १९औँ एसियाली खेलाकुदमा ९ बलमा अर्धशतक पूरा गर्दै सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान दीपेन्द्रले आफ्नो नाममा गरेका थिए। 

मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक पूरा गर्दा उनले भारतीय क्रिकेटर युवराज सिंहको कीर्तिमान तोडेका थिए। सिंहले २००७ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए।

त्यो अर्धशतक टी२० आईमा सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान थियो। एसियाली खेलकुदमा राखेको रेकर्डले आफूलाई सहज भएको दीपेन्द्रको विश्वास छ। 

उनी भन्छन्, ‘चाइनाको रेकर्डले गर्दा पनि सजिलो भयो। एक पटक कीर्तिमान भएपछि अर्को पटक गर्न सजिलो हुने रहेछ।'

एकपछि अर्को कीर्तिमानी प्रदर्शन गरेका दीपेन्द्र आफू खेल जीवनकै उच्च फर्ममा रहेको विश्वास गर्छन्। 

१ शतक, ९ अर्धशतक र ३७ विकेट 
६४ टी २० आईमा ५६ इनिङ्स खेल्ने क्रममा ३८.७१ को औसतमा १ हजार ६ सय २६ रन बनाएका छन्। त्यसक्रममा उनले १ शतक र ९ अर्धशतक प्रहार गरेका छन् । ३९ इनिङ्समा उनले बलिङतर्फ १८.२७ को औसतमा ३७ विकेट लिइसकेका छन्। 

प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा ६ छक्को कीर्तिमानसहित नटआउट ६४ रन बनाएका दीपेन्द्रले तेस्रो स्थानका लागि हङकङविरुद्धको खेलमा कठिन समयबाट नटआउट ४४ रन बनाएका थिए। 

प्रिमियर कपका ६ मध्ये ३ खेलमा उनले समान ३ विकेट पनि लिएका थिए। आठ महिनामा दुईवटा कीर्तिमान बनाएका दीपेन्द्रबाट अर्को कीर्तिमानको अपेक्षा पनि समर्थकलाई हुने नै छ। 

यो पनि- 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .