ad ad

खेल


नेपाल स्पोर्टस् कन्क्लेभ : खेलजीवनपछिको भविष्यबारे चिन्तन (तस्बिर)

नेपाल स्पोर्टस् कन्क्लेभ : खेलजीवनपछिको भविष्यबारे चिन्तन (तस्बिर)

तस्बिर : सरोज नेपाल


लक्ष्मी जि.सी
जेठ ४, २०८१ शुक्रबार २०:३१, काठमाडौँ

खेलाडीहरूले सक्रिय खेलजीवनमा रहँदा नै खेलपछिको भविष्यको बारेमा सोच्नुपर्ने विभिन्न खेलका खेलाडीहरूले अनुभव सुनाएका छन्।

शुक्रबार नेपाल ओलम्पिक कमिटिको आयोजना तथा माइस इन्टरनेसनल प्रालिको सहजीकरणमा नेपाल स्पोर्टस् कन्क्लेभ अन्तर्गत प्यासन टु प्रोफेसन सत्रमा बोल्दै खेलाडीहरूले खेल जीवनलाई रहरका रुपमा सुरु गरेपनि व्यवसायिक हुन अझै बाँकी रहेको सुनाए।

काठमाडौंको भृकुटीमण्डपमा भएको नेपाल स्पोर्टस् कन्क्लेभमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल ए टोलीका प्रशिक्षक ज्ञानेन्द्र मल्ल, फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा, १३ औँ दक्षिण एसियाली खेलकुदमा १० हजार मिटर दौडकी स्वर्ण पदक विजेता तथा धावक सन्तोषी श्रेष्ठ र राष्ट्रिय भलिबल टोलीकी महत्वपूर्ण सदस्य प्रतिभा मालीले आफ्नो खेल जीवनको अनुभव र भविष्यका बारेमा सम्बन्धित निकायले गर्नुपर्ने काम र अवसरका बारेमा आफ्नो अनुभव सुनाएका थिए।

धाविका सन्तोषी श्रेष्ठ श्रेष्ठले खेलाडीले अहिले उपाधि जित्दा मात्र पुरस्कृत गर्ने चलन केही राम्रो भएपनि भविष्यका लागि हानिकारक हुने बताइन्। खेलाडीले जित्छ र पुरस्कार दिन्छु भन्दा पनि जिताउने कसरी भनेर लगानी गर्नुपर्ने उनको धारणा छ।

इच्छाशक्ति र सामाजिक नीति नियम बनाउनुपर्ने भन्दै पुरस्कार घोषणासँगै क्रेडिट लिएर वाहवाही लिनुभन्दा खेलाडीमाथि लगानी बढाउन आवश्यक रहेको उनले बताइन्। खेलाडी सक्षम नभए उसको पक्षमा कोही नहुने भएकाले मेहनत गर्नुपर्ने उनको भनाई थियो।

खेलकुदको समग्र सामाजिक सुरक्षाका लागि आफ्नो पोजिसन होल्ड गर्ने काम गर्नुपर्ने बताइन्। आफूले दौडन सुरु गर्दा बिहान घाम लाग्नु अघि नै दौडेर फर्किसक्ने अनुभव सुनाइन्।

उनले भनिन्, ‘जब ब्याचलरमा पब्लिक हेल्थमा पढ्न सुरु गरेँ त्यो बेलामा रोगको रोकथामको कुरा आउँदा खेलकुद अगाडि आएपछि खेल्न सुरु गरेँ। आफूले नेपालका लागि मात्र सोचे पनि दक्षिण एसियाका साथीहरूले आफूबाट प्रेरित भएको सुन्दा खुसी लाग्छ।’

वर्तमानमा ध्यान दिएर भविष्यको चिन्ताभन्दा चिन्तन गर्नु जरुरी रहेको उनले बताइन्। उनले भनिन्, ‘खेलाडीलाई सरकारले संघले सहयोग गरेपनि व्यवसायिक संघसंस्थाले पनि प्रायोजन गर्यो भने खेल जीवन अघि बढाउन सजिलो हुनेछ।’

फुटबलर विक्रम लामाले अग्रजलाई हेरेर आफ्नो सपनालाई लिएर अघि बढ्दा फुटबल आफ्नो लागि व्यवसायिक बन्न पुगेको अनुभव सुनाए।

अन्तर्राष्ट्रिय खेलाडीको उदाहरण दिँदै उनले खेलपछि आफू जाने गन्तव्यका बारेमा खेल जीवनमा नै सोच्नुपर्ने बताए। खेल जीवनपछि भविष्यको बारेमा सोध्दा चुनौतीपूर्ण हुने सुनाए।

त्यसका लागि सम्बन्धित संघले खेल जीवनपछिको बारेमा पनि कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताए। आफ्नो अबको योजना व्यवस्थापनमा जाने भएकाले त्यही अनुरुप नै काम गरिरहेको बताए।

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पनि खेल जीवनमा रहँदा नै क्रिकेट एकेडेमी सुरु गरेको बताए।

पूर्वकप्तान मल्लले भने, ‘मैले खेल जीवन सुरु गर्दा क्रिकेटको माहोल नै थिएन, त्यसका लागि ठूलो ठाउँ चाहिने भएकाले पनि त्यति सम्भव थिए। खेलका लागि आफूले पढाइलाई राम्रोसँग अघि बढाउन नसक्दा पनि अहिले कहिलेकाँही खिन्नता हुन्छ।’

नेपाल विश्वकपमा पुगेपछि कर्पोरेट र सरकारले सहयोग गर्न थालेको अनुभव उनले सुनाए। खेललाई उपलब्धिको रुपमा मात्र हेर्दा पनि समस्या भएको बताए।

स्कुल जीवन सकिएपछि खेलमा लगाउँदा ढिला हुने हुँदा एकेकडेमीको सुरुवात गर्नुपर्छ भनेर आफूले १४,१५ वर्षअघि एकेडेमी सुरु गरेको उनले बताए।

भलिबलकी प्रतिभा मालीले खेलाडीका लागि खेल जीवन सहज नभएको बताइन्। आफूलाई खेलले आफ्नो परिचय दिएको र सोचेको भन्दा आफूले धेरै पाएको भन्दै आउने पुस्तालाई कसरी धेरै दिन सक्छौँ भनेर ध्यान दिन थालेको बताइन्।

चोटका कारण बारम्बार घाइते भएकाले समयअघि नै रिटायर लिनुपर्ने हो की भन्ने चिन्ताले सताउने गरेको सुनाइन्।

खेलाडीले पदक ल्याउनका लागि क्वालिटी प्रशिक्षण आवश्यक भएपनि प्रतियोगिता अघिको २,३ महिनाको प्रशिक्षण पर्याप्त नहुने उनले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .