ad ad

खेल


दशकअघि आफैँ विश्वकप खेले, अब चेलाको खेल हेर्न आतुर छन् शक्ति गौचन

दशकअघि आफैँ विश्वकप खेले, अब चेलाको खेल हेर्न आतुर छन् शक्ति गौचन

शक्ति गौचन। तस्बिर : सरोज नेपाल


लक्ष्मी जि.सी
जेठ ७, २०८१ सोमबार ९:११, काठमाडौँ

नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल अलराउन्डर हुन् शक्ति गौचन।

उनले नेपालले पहिलो पटक खेलेको सन् २०१४ को आईसीसी टी२० विश्वकप खेले। यसअघि नै यू–१९ विश्वकपको अनुभव चाखिसकेका थिए।

अहिले नेपालले १ दशकपछि फेरि टी२० विश्वकपमा पुनरागमन गर्दै छ। र, पहिले आफैँ खेलेका शक्ति अहिले नयाँ अनुभव बटुल्नेवाला छन्। 

नेपालले दोस्रो पटक विश्वकप खेल्दा आफ्नो चेलालाई खेलाडीका रुपमा मैदानमा देख्नेछन्।

यसपटक शक्तिका चेला कुशल मल्ल आश गरिएकामध्येका खेलाडी छन्। त्यसैले पनि शक्तिका लागि यो विश्वकप विशेष छ। 

‘ड्रिम मोमेन्ट’ पर्खिँदै छु
विश्वकपको यो क्षणलाई शक्तिले एक प्रशिक्षकका रुपमा आफ्नो लागि यो ‘ड्रिम मोमेन्ट’को रुपमा व्याख्या गर्छन्। 

शक्तिले सानैदेखि कुशललाई क्रिकेट सिकाएका थिए। एउटा प्रशिक्षकको रुपमा गर्नुपर्ने सबै दायित्व पूरा गरेका थिए।

अहिले पनि त्यो जिम्मेवारी पूरा गरिरहेको सुनाउँछन् शक्ति। 

‘५ कक्षादेखि मैले एउटा ट्यालेन्टलाई हेरेको थिएँ, यो ट्यालेन्टले नेपाली क्रिकेटलाई केही दिन सक्छ भन्ने थियो’, उनी भन्छन्, ‘अहिलेसम्म उसलाई पनि भनेको छैन, सुरुमा उसको परिवारलाई गाह्रो थियो। उसलाई र परिवारलाई कन्भिन्स गराएर राम्रो सुविधा दिएर प्रशिक्षण गराइरहेँ।’ 

कुशलको लागि शक्तिले एक प्रशिक्षकले गर्नुपर्नेभन्दा धेरै कुराहरु गरेका छन्। 

शक्तिले क्रिकेटमा हुर्काएका कुशल विश्वकप खेल्दै छन् र यो नै शक्तिका लागि ठूलो खुसीको क्षण हुँदै छ। 

आफैँ खेल्न लागेजस्तो अनुभव
शक्तिले अहिले त्यो क्षण महसुस गरिरहेका छन्। सन् २०१४ मा शक्तिले खेलेजस्तै अहिले ग्रासरुटदेखि हुर्काइरहेका खेलाडीले खेल्दा कता कता शक्ति आफैँले खेल्न लागेको महसुस गरिरहेका छन्। 

कुशललाई विश्वकप खेल्ने टोलीमा देख्दा प्रशिक्षकको रुपमा आफूलाई गौरवान्वित महसुस गरिरहेका छन्। 

त्यसो त शक्तिले उत्पादन गरेका कुशल मात्र सिनियर टोलीमा पुगेका हैनन्। शक्तिका अन्य चेलाहरुले पनि सिनियर टोलीका यात्रा तय गरेका थिए। 

शक्ति भन्छन्, ‘कुशल मात्र हैन अन्य खेलाडी पनि थिए मेरा, राष्ट्रिय टिममा कति होलान् नहोलान्।’ 

सुसान भारी, सौरभ खनाल, यू–१९ मा प्रकाश केसी सबै शक्तिले नै सिकाएका खेलाडी थिए। 

‘उसमा सानैदेखि केही गर्छु भन्ने विश्वास थियो’
तर खेल जीवनमा सबैको एकैनास हुँदैन, उतारचढाव आउँछ। अन्तर्राष्ट्रिय स्तरमा कतिले आफूलाई समाहित गर्न सक्दैनन्। तर कुशलले त्यसलाई जितेर आएका छन्। 

‘समग्रमा कुशलले त्यो कठिनाइ पार गर्यो’, शक्ति थप्छन्, ‘उसमा सानैदेखि केही गर्छु भन्ने थियो। विश्वास थियो।’ 

यसले शक्तिलाई कुशल आज नेपाली क्रिकेटको उच्चस्तरको हिस्सा बन्ने विश्वास थियो। कुशल विश्वकप खेल्ने टोलीमा परेपछि शक्तिले अन्तिम पटक खेलाडीको विदाइमा कुशललाई भेटेका थिए। 

‘कुनै खेलाडीको प्रदर्शनमा तलमाथि हुँदा केही कुरा बिर्सिरहेको हुन्छ मेन्टरको रुपमा सम्झाउनुपर्छ’, कुशलबारे उनी भन्छन्, ‘खेलाडीको रुपमा उसले त्यो कुरा बुझ्यो भने बाधाहरु हटाउन सकिन्छ।’ 

कुशलले पनि मैदानमा राम्रो गर्न नसक्दा उनी यस्तै भनेर सम्झाउँछन्। 

कुनै कारणले रन नबन्दा, फर्म बिग्रिँदा अनेक कारण हुनसक्छन्। ती सबै सन्तुलनमा आउँदा एउटा खेलाडीले राम्रो प्रदर्शन गर्नसक्ने शक्ति बताउँछन्। 

म त एक माध्यम न हुँ उसको लागि
कुशलको विश्वकप यात्रासम्म शक्ति आफूलाई एक माध्यमको रुपमा मात्र मान्छन्। 

‘उसलाई त्यहाँसम्म पुर्याउने सानो पात्र मात्र हो म त’, उनी भन्छन्, ‘अहिले मोन्टी सर (मोन्टी देसाई) हुनुहुन्छ।’ 

९० प्रतिशत समय क्रिकेट राष्ट्रिय टोलीको कोचिङ स्टाफ र टिम सदस्यसँग बिताइरहेकाले अहिले कुशललाई पहिलेझैँ सम्झाउनु नपरेको शक्तिको भनाइ छ। 

अन्तर्राष्ट्रिय खेलको पनि थुप्रै अनुभव भएकाले शक्ति उनलाई हिजोआज साना कुरामा मात्र सम्झाइरहेका हुन्छन्। 

अबको २/३ वर्षभित्र नेपालको यू–१९ टिममा पनि आफ्नै एकेडेमीका खेलाडीलाई देख्न पाइनेमा शक्ति विश्वस्त छन्। 

शक्ति गौचन (आईसीसी)

त्यो विश्वकप नेपालको लागि एउटा चाडजस्तै थियो
कुशलको कुरा गरिरहँदा शक्तिले सन् २०१४ को विश्वकप सम्झिए। उनका लागि भन्दा पनि पूरा नेपालको लागि त्यो विश्वकप चाडपर्वजस्तो रहेको उनी बताउँछन्। 

‘पहिलो पटक विश्वकप खेल्न पाउने। त्यो बेला भाग्यमानीभन्दा पनि अवसरको रुपमा लिएका थियौँ’, उनले सम्झिए। 

शक्ति आफ्नो लागि मात्र नभई सबै टिमको लागि उत्कृष्ट समय भएको सुनाउँछन्। 

‘वन अफ दि बेस्ट ड्रिम मोमेन्ट’ थियो। हामी एकदमै उत्साहित थियौँ’, उनी भन्छन्, ‘पहिलो खेल खेल्ने बेलामा जब मैदानमा जाँदै थियौँ।

बंगलादेशले आयोजना गरेको थियो। मैदानमा राष्ट्रिय गान बज्यो। नेपाली समर्थकको साथ थियो। सबै दिदीबहिनी दाइभाइहरु आउनुभएको थियो।’ 

बंगलादेशी समर्थकको पनि राम्रो साथ रहेको उनले सुनाए। 

‘त्यो समय हाम्रो लागि कहिल्यै बिर्सिन नसक्ने क्षण हो। त्यो जीवनभरकै एक सपना हो, कहिल्यै पनि बिर्सिन्नँ’, उनी भन्छन्।  

विश्वकपमा आफूले विकेट लिनेदेखि गरेका अन्य खेल गतिविधिका भिडिओ क्लिप हेरेर उनी रमाइरहेका हुन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .