ad ad

खेल


अन्नपूर्णको फेदीमा म्याराथन हुँदै, ४ हजार मिटर उचाइबाट दौड सुरु, २ हजार मिटरमा समापन

अन्नपूर्णको फेदीमा म्याराथन हुँदै, ४ हजार मिटर उचाइबाट दौड सुरु, २ हजार मिटरमा समापन

नेपालखबर
जेठ ७, २०८१ सोमबार २२:११, पोखरा

अन्नपूर्ण हिमालको फेदीमा आयोजना हुँदै आएको अन्नपूर्ण म्याराथनको चौथो संस्करण जेठ २१ गते हुने भएको छ। अन्नपूर्णको सफल आरोहणको दिन पारेर यो म्याराथन गरिँदै आएको छ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए। ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई ‘अन्नपूर्ण आरोहण दिवस’ का रूपमा पनि मनाइन्छ।

सेन्चुरी पर्यटन विकास समिति यो म्याराथनको आयोजक हो। अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकाससँगै पर्यटन प्रवद्र्धन म्याराथनको मुख्य उद्देश्य भएको आयोजक संस्थाका अध्यक्ष  अध्यक्ष एवं अन्नपूर्ण म्याराथन मूल आयोजक समितिका संयोजक ललित गुरूङले बताए।

‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ २०७५ सालमा पहिलो पटक यो म्याराथन सुरु भएको थियो।  

यो म्याराथन अन्नपूर्ण आधार शिविर अर्थात् ४ हजार १२० मिटरको उचाइबाट सुरु भइ माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै २ हजार १२ मिटर उचाइमा रहेको घान्द्रुक आइ समापन हुने  समितिका महासचिव दिलीप गुरूङले बताए।

अन्नपूर्ण म्याराथनको पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मीका हरिकुमार रिमालले जितेका थिए। दोस्रोमा डोटीका खगेन्द्रबहादुर भाटले उपाधि चुमे भने तेस्रो संस्करणको उपाधि जुम्लाका धीरबहादुर बुढा र महिलातर्फ गणना भण्डारीले जितेका थिए।

महिला तथा पुरुष दुवैतर्फका लागि हुने म्याराथनमा पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमश: नगद १ लाख ५० हजार, १ लाख र ७५ हजार रुपैयाँको साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। 

विदेशीका लागि प्रोत्साहन पुरस्कारस्वरुप विशेष पुरस्काको व्यवस्था गरिएको छ। पुरुषतर्फ दर्ता शुल्क ७ हजार र महिलातर्फ ५ हजार तोकिएको छ।

महोत्सव सम्पन्न गर्न ४२ सदस्यीय रहेको मूल व्यवस्थापन समिति, १३ वटा विभिन्न उपसमितिसहित सल्लाहकार समिति गठन गरिएको समितिका महासचिव दीलिपले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .