खेल


साफको सेमिफाइनलमा दोहोरियो इतिहास, भारतलाई हराएर बंगलादेश पन्छाउने नेपालको दाउ

साफको सेमिफाइनलमा दोहोरियो इतिहास, भारतलाई हराएर बंगलादेश पन्छाउने नेपालको दाउ

लक्ष्मी जि.सी
कात्तिक ९, २०८१ शुक्रबार १९:३४, काठमाडौँ

साफ महिला च्याम्पियनसिपको चार संस्करणमा उपाधिका लागि भारतसँग भिडेको नेपाली राष्ट्रिय महिला फुटबल टोली लगातार दोस्रो पटक सेमिफाइनलमा भिड्दैछ। 

साफ च्याम्पियनसिपको सातौँ संस्करणमा अघिल्लो संस्करणको इतिहास नै दोहोरिएको छ। यो पटकको सेमिफाइनलमा अघिल्लो पटक भेट भएका टोली नै एकआपसमा भिड्दैछन्। त्यसैले केही टोली अघिल्लो पटकको नतिजा दोहोर्‍याउने लक्ष्यमा छन्।

केही टोली भने अघिल्लो पटक भोगेको हारको बदला दिने दाउमा छन्। 

सन् २०२२ मा घरेलु मैदानमा भएको सेमिफाइनल भेटमा नेपालले पाँच पटकको च्याम्पियन भारतलाई १–० गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थियो। 

उता बगंलादेशले भने भुटानमाथि ८–० को फराकिलो जित दर्ता गरेको थियो। यो पटक पनि यी चार टोली नै एकआपसमा फाइनल प्रवेशका लागि भिड्दैछन्। 

समूह ए बाट बंगलादेश समूह विजेता र भारत समूह उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका छन्। समूह बी बाट घरेलु टोली नेपाल समूह विजेता र भुटान समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगिसकेका छन्। 

सेमिफाइनलका खेलहरू आइतबार हुनेछ। आइतबारको पहिलो सेमिफाइनलमा बंगलादेश र भुटान भिड्नेछन्। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल दिउँसो साढे १ बजे सुरु हुनेछ।

सोही दिन हुने दोस्रो सेमिफाइनलमा नेपाल र भारत भिड्नेछन्। सो खेल भने साँझ साढे ६ बजे सुरु हुनेछ। 

साफ च्याम्पियनसिपको सेमिफाइनल समीकरणमा लगातार इतिहास दोहोरिँदा नेपाली टोलीले नयाँ कीर्तिमान रच्ने योजनामा छ। 

नेपाली टोली यो पटक भारतलाई हराउँदै फाइनलमा साविक विजेता बंगलादेशको चुनौती पन्छाउने दाउमा छ। साफको फाइनलमा पाँच पटक भारतसँग नै पराजित भएको नेपाली टोली अघिल्लो पटक भारतलाई हराएको ऊर्जाका साथ मैदान उत्रने तयारीमा छन्। 

टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भारतको अघिल्ला खेलमा भएको गल्तीहरूलाई हेरेर सेमिफाइनलका लागि तयारी गर्ने बताएका छन्। 

‘भारतसँग पाँच वटा फाइनल हारेपनि २०२२ मा भारतलाई सेमिफाइनलमा जितेका थियौँ, त्यही मोरललाई लिएर काम गर्नेछौँ,’ तामङले भने, ‘पहिले र अहिलेको टोली केही फरक छ। भारत आयो भनेर खेलाडीलाई पेनिक बनाउनुभन्दा पनि आफ्नो काम गर्ने हो। सेमिफाइनल जसरी पनि जित्नुपर्छ भनेर काम गर्ने हो।’

नेपालका मुख्य डिफेन्डर हिरा कुमारी भुजेल र दिपा शाहीले चोटका कारण प्रतियोगिता गुमाइसकेका छन्। त्यसैले उनीहरूको अभाव अबको खेलमा खड्किन सक्नेछ। तर मुख्य प्रशिक्षक तामाङ भने भएका खेलाडीलाई प्रयोग गर्दै चुनौती पार गर्ने रणनीतिमा छन्।

नेपालको महिला फुटबलको इतिहासमा अहिलेसम्म राष्ट्रिय टोलीले अहिलेसम्म उपाधि जित्न सकेको छैन। 

नेपालले सन् २०१० देखि २०२४ सम्म ११ वटा ठूला प्रतियोगितामा फाइनल खेलेको छ। तर ती सबै प्रतियोगितामा नेपाल उपविजेतामा सीमित बन्न पुग्यो। नेपाल यो पटक फेरि भारतको चुनौती पार गर्दै उपाधि नजिक पुग्न चाहन्छ। 

अघिल्लो संस्करणको सेमिफाइनलमा नेपालले भारतलाई तथा बंगलादेशले भुटानलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए। 

साफ च्याम्पियनसिपको सात संस्करणसम्म आइपुग्दा भारतले पाँच पटक उपाधि जितेको छ। बंगलादेशले एक पटक उपाधि उचालेको छ। 

एक समय साफमा एकक्षत्र राज गरिरहेको भारत अघिल्लो संस्करण नेपालसँग पराजित हुँदै पहिलो पटक साफको सेमिफाइनलबाटै बाहिरिएको थियो। 

सेमिफाइनलमा भारतलाई पराजित गरेसँगै नेपालले उपाधि जित्ने आशा धेरैले गरेका थिए। तर नेपाली टोली बंगलादेशसँग पराजित हुँदै फेरि एक पटक उपविजेतामा सिमित बनेको थियो। 

साफको इतिहासमा नेपालले पाँच पटक फाइनल खेलेको छ। सन् २०१६ बाहेकका हरेक संस्करणमा नेपालले फाइनल खेलेको छ। 

नेपालले नयाँ इतिहास कायम गर्न अब एक खुड्किलो पार गर्नु आवश्यक छ। भारतलाई पराजित गरे नेपालले साफको फाइनलमा फेरि एक पटक बंगलादेशलाई नै प्रतिद्धन्दी पाउने सम्भावना छ।

त्यसैले फाइनलअघिको एक खुड्किलो पार गर्न नेपालका लागि केही चुनौती पनि छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad