खेल


साफ च्याम्पियनसिप : साविक विजेता बंगलादेशसँग सेमिफाइनल भिड्दै भुटान

साफ च्याम्पियनसिप : साविक विजेता बंगलादेशसँग सेमिफाइनल भिड्दै भुटान

टीम बंगलादेश


लक्ष्मी जि.सी
कात्तिक ११, २०८१ आइतबार ६:५२, काठमाडौँ

साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा आज (आइतबार) साविक विजेता बंगलादेश र भुटान भिड्दै छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने सेमिफाइनल खेल दिउँसो साढे १ बजे सुरु हुनेछ। 

यो सेमिफाइनल जितेमा भुटान पहिलोपल्ट फाइनल पुग्नेछ। बंगलादेश यसअघि दुईपटक फाइनल पुगेकामा एकपटक उपाधि उचाल्न सफल भयो भने एकपटक उपविजेतामै चित्त बुझाउन पुगेको थियो।

साफ च्याम्पियनसिपमा यी दुई टोलीको भेट चारपटक भएको छ। यी चारै भेटमा बंगलादेश हाबी देखिएको छ। बंगलादेशविरुद्ध भुटानले अहिलेसम्म एक गोलसम्म फर्काउन सकेको छैन। 

बंगलादेश समूह ए को विजेताको रूपमा सेमिफाइनलमा खेल्न लागेको हो। साफ च्याम्पियनसिपमा बंगलादेश पाँचौँपटक सेमिफाइनल खेल्दै छ। 

भुटान भने समूह बी को उपविजेताका रूपमा अन्तिम चारमा पुगेको हो। भुटान लगातार दोस्रोपटक सेमिफाइनल खेल्न लागेको हो। 

अघिल्लो संस्करण पनि नेपालमा नै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको थियो।

आजको खेलमा बंगलादेशसँगको त्यो हारको बदला लिने योजनामा भुटानी टोली छ। उता साविक विजेतासमेत रहेको बंगलादेश भने अघिल्लो संस्करणको नतिजा दोहोर्‍याउने दाउमा छ। 

हेड टु हेड
साफ महिला च्याम्पियनसिपमा बंगलादेश र भुटान चारपटक भेट भएका छन्। यी चारै भेटमा भुटानमाथि बंगलादेशको टोली हाबी भएको छ। 

सन् २०१० मा भएको साफ च्याम्पियनसिपको पहिलो संस्करणमा बंगलादेश र भुटान एकै समूहमा थिए। समूह चरणमा भएको भेटमा भुटान बंगलादेशसँग ९–० गोल अन्तरले पराजित भएको थियो। 

सन् २०१२ मा भएको दोस्रो संस्करणमा पनि यी दुई टोली एकै समूहमा थिए। त्यो भेटमा बंगलादेशले भुटानमाथि १–० को साघुँरो जित निकालेको थियो। 

सन् २०१४ र २०१६ मा भने फरक समूहमा रहेका यी दुई टोली भेट हुन पाएनन्। सन् २०१९ मा नेपालको विराटनगरमा भएको भेटमा भने भुटान बंगलादेशसँग २–० ले पराजित भएको थियो। 

सन् २०२२ मा पहिलो पटक समुह उपविजेता बन्दै सेमिफाइनल पुगेको भुटान बंगलादेशसँग ८–० को फराकिलो हार बेहोर्दै अन्तिम चारबाट बाहिरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad