घरेलु मैदानमा साफ महिला च्याम्पियनसिप सुरु हुने तरखर थियो। राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा शाही च्याम्पियनसिप खेल्न निकै उत्साहित थिइन्।
‘यो पटक आउँदा स्वर्णपदक लिएर आउँछु। तपाईं सेल रोटी पकाएर राख्नु!’, आउँदै गरेको तिहार सम्झिँदै दीपाले आमालाई भनेकी थिइन्।
अफसोस्! दीपाले भनेजस्तो भएन। अस्पतालको शय्या छेउमा छोरीलाई कुर्दै बसेकी छिन् उनकी आमा।
अर्को छेउमा दाइ सँगै छन्। आमाको आँखामा भरिएको आँशु प्रस्टै देखिन्छ।
अस्पतालमा आमा र दाइ दीपालाई साथी बसिरहेका छन्।
***

भुटानसँग दीपाको संयोग
त्रिभुवन आर्मी क्लबकी दीपा शाहीले राष्ट्रिय टोलीमा स्थान बनाएको लामो समय भएको छैन।
अघिल्लो संस्करण घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपमा भुटानविरुद्धको खेलबाट उनले राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन्।
संयोगवश यसपटक भुटानविरुद्धकै खेलमा चोट बोक्न पुगिन्।
खेलको ४६औँ मिनेटमा सरु लिम्बुको स्थान लिँदै मैदान छिरेकी दीपाले लामो समय मैदानमा बिताउन पाइनन्। ७२औँ मिनेटमा दीपाले मैदान छाड्नुपर्यो।
उनको स्थान अनिता केसीले लिइन्।

‘मैले घाइते हुन्छु भनेर सोचेको पनि थिइनँ, मैदान छिर्दा कोचले मलाई मोटिभेट (अभिप्रेरित) गरेर पठाउनुभएको थियो’, मलिन स्वरमा दीपाले सुनाइन्, ‘मैले गेम चेन्जर हुन्छु भनेर सोचेको थिएँ। मेरो गल्तीमा मैले बल छाडेको थिएँ, त्यसलाई सच्याउँछु भनेर लाग्दा चोट लाग्यो।’
उपचारकै क्रममा अस्पतालमा रहेकी उनी एसीएल गयो भन्ने थाहा पाएपछि डर लागेको बताउँछिन्।
मैदान बाहिर बसेर हेर्दा एकदमै गाह्रो लागेको छ दीपालाई।
‘त्यो ठाउँमा म भएको भए यस्तो गर्थेँ भन्ने हुने रहेछ। भारतविरुद्ध पहिलो हाफमा टिम गेम नै भएको थिएन। म भएको भए यस्तो गर्छु भन्ने सोचेँ तर पछि हामीले खेल जित्यौँ, खुसी लाग्यो’, उनले नेपालखबरसँग भनिन्।

घुँडाकै चोट बोकेकी हीरा
यता दीपाजस्तै टोलीकी मुख्य डिफेन्डर हीरा कुमारी भुजेलले पनि चोटका कारण पहिलोपटक ठूलो प्रतियोगिता टेलिभिजनमा हेरिरहेकी छिन्।
भुटानविरुद्ध पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा हीराले घुँडामा चोट बोक्न पुगेकी थिइन्।
‘हेडर’ गर्ने क्रममा उनको ‘ल्यान्डिङ’मा समस्या भयो। पाचौँ मिनेटमा मैदान छाड्न बाध्य भइन्।
उनको मिनिस्कस र एसीएल गएको बताइएको थियो। पछि बीएन्डबी अस्पतालमा हीराको घुँडाको शल्यक्रिया भएको छ।
मैदानमा भिड्नुपर्ने खेलाडी टिभीमा खेल हेर्नुपर्दा निकै गाह्रो भएको बताउँछिन् हीरा।

‘भारतविरुद्धको खेलमा त आफैँ गएर खेल्न पाए हुन्थ्यो जस्तो भएको थियो’, उनले भनिन्, ‘रेखाले रातो कार्ड पाएपछि झन् गाह्रो भयो, साम्बाले गोल फर्काएपछि अब जित्छौँ भनेर ढुक्क थिएँ। जित्यौँ पनि!’
तर पनि टिभीमा हेरेर बस्दा हीरालाई मनै कटक्क भएको छ।
यो पटक उपाधि जित्नका लागि राम्रो अवसर भएको उनको बुझाइ छ।
‘अघिल्लो पटक साम्बालाई डेंगी हुँदा केही गाह्रो भएको थियो, तर यो पटक सबै फिट छन्, जित्छौँ जस्तो लागेको छ’, उपाधिप्रति आशा जगाउँदै हीरा भन्छिन्।
यसले चोटपछि पनि हीराको आत्मविश्वासमा कमी देखिँदैन। अझै बलियो भएर मैदान फर्किने उनको दृढता छ।
‘अब बलियो भएर मैदान फर्किनेछु’, हीराले भनिन्, ‘पहिलो पटक भोगेको हारको बदला लिने अवसर हो, गरेर देखाउनुपर्छ।’

वि.सं. २०७० सालमा एपीएफमा आबद्ध भएकी हीरा २०७२ सालदेखि नियमित रुपमा राष्ट्रिय टोलीमा छिन्। राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेपछि हीराले पहिलो पटक ठूलो प्रतियोगिता गुमाएकी हुन्।
हीराले यसअघि पनि सोही घुँडामा चोट बोकेकी थिइन्। २०७७ माघमा राष्ट्रिय महिला लिगका दौरान हीराको घुँडामा ‘मिडिल मिनिस्कस टियर’ भएको देखिएपछि बीएन्डबी अस्पतालमा नै शल्यक्रिया गरिएको थियो।
त्यो बेलामा उनले विराटनगर नगरपालिकाविरुद्धको खेलमा चोट बोकेकी थिइन्।
योसँगै हीरा र दीपा अबको ९ महिना मैदान बाहिरै रहनेछन्।
Shares

प्रतिक्रिया