खेल


चितवन राइनोजसँग पोखराको लज्जास्पद हार

चितवन राइनोजसँग पोखराको लज्जास्पद हार

चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्स ७४ रनमा नै अलआउट भएको हो (सरोज नेपाल)


नेपालखबर
मंसिर १८, २०८१ मंगलबार १५:५१, काठमाडौँ

नेपाल प्रिमियर लिगअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजसँग लज्जास्पद हार व्यहोरेको छ। 

चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्स ७४ रनमा नै अलआउट भएको हो। 

एनपीएलमा लगातार दोस्रो जित निकाल्ने क्रममा चितवनले पोखरालाई ८७ रनको फराकिलो अन्तरले हराएको हो।

चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको थियो।

चितवनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स १३.२ओभरमा ७४ रन बनाउँदा अलआउट भयो। जारी एनपीएलमा कुनैपनि टोलीले बनाएको यो सबैभन्दा कम स्कोर हो। 

खराब सुरुआत गरेको पोखराले ४ ओभरमा ७ रन बनाउँदा ६ विकेट गुमाएको थियो। 

नारायण जोशीले बनाएको ३० रन नै पोखराका लागि सर्वाधिक रह्यो। उनले २४ बलमा ३ चौका र २ छक्का प्रहार गरे। मार्कसले १७ रन थपे। अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

पोखरालाई कम स्कोरमा रोक्न सोहेल तनविर, रिजन ढकाल र लुक बेनकेनस्टाइनले समान ३ विकेट लिए। दिपक बोहोराको नाममा एक् विकेट रह्यो। 

सोहेल तनविरले पहिलो ओभरमा नै तीन विकेट लिर्दै चितवनलाई सानदार सुरुवात दिलाएका थिए। 

पोखराका कप्तान कुशल भुर्तेल इनिङ्सको पहिलो बलमा नै पेभेलियन फर्किए। 

पहिलो ओभरको पाचौँ बलमा दिलीप नाथलाई ४ रनमा बनाउँदा क्याच आउट गराए। ओभरको अन्तिम बलमा बास डे लिडलाई शुन्य रनमा नै पेभेलियनको बाटो देखाउँदै तनविरले पहिलो ओभरमा नै तीन विकेट लिएका हुन्। 

रिजन ढकालले चौथो ओभरमा लगातार तीन विकेट लिए। चौाथो ओभरको पहिलो बलमा दिनेश खरेललाई १ रनमा एलबीडब्लु धरापमा पारे।

चौथो बलमा किरण ठगुन्ना १ रनमा नै एलबीडब्लु धरापमा परे। चौथो ओभरको अन्तिम बलमा माइकल लिस्क शून्य रनमा नै एलबीडब्लु आउट भए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रनको योगफल तयार पारेको थियो। 

चितवन एक समय ५.२ ओभरमा ३–४६ को अवस्थामा थियो। चौथो विकेटका लागि कप्तान कुशल मल्ल र रवि बोपाराले ६८ रनको साझेदारी गरे। 

रवि ५१ रन बनाउँदै क्याच आउट भए। ३८ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका रवि रेमोन रेइफरको बलमा क्याच आउट हुन पुगे। 

कप्तान मल्ल ३८ रन बनाउँदा सागर ढकालको बलमा विकेट किपर कुशल भुर्तेलको हातबाट आउट भए। मल्लले २३ बलमा १ चौका र ४ छक्का प्रहार गरे। 

लुक वेनकेन्स्टाइन १६ रन बनाउँदा बास डे लिडको बलमा आउट भए। ओपनर दिपक बोहोरा २ रन बनाउँदा विपिन खत्रीको बलमा बोल्ड आउट भए।

अर्का ओपनर हसन इसाखिल १४ रन बनाउँदा विपिन कै बलमा क्याच आउट भए। सोहेल तनविर गोल्डेन डकआउट भए। सन्तोष कार्की १० रन थप्दै आउट भए। 

अमर राउटेला १२ र शरद भेषावकर ११ रनमा नटआउट रहे।

पोखराका लागि विपिन खत्री, बास डे लिड र रेमोन रेइफरले समान दुई विकेट लिए। सागर ढकालले एक विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad