विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सले रोमाञ्चक जित हात पारेको छ।
नन्दन यादवको किफायती बलिङमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित दर्ता गरेको हो।
शनिबारको दोस्रो खेलमा कर्णाली याक्ससँग विराटनगर ७ रनले पराजित भयो।
कर्णालीले एनपीएलको चार खेलमा २ खेलमा जित र २ खेलमा हार भोगेको छ। ४ खेलबाट ४ अंक जोडेको कर्णाली ४ अंकमा तालिकाको चौथो स्थानमा छ। ४ खेलमध्ये १ खेलमा जित र ३ खेलमा हार भोगेको विराटनगर २ अंकमा तालिकाको सातौँ स्थानमा छ।
कर्णालीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २६ रन मात्र बनाउन सक्यो।
अन्तिम ओभरमा १५ रन चाहिएको अवस्थामा नन्दन यादवले ७ रन मात्र दिएपछि विराटनगरले तेस्रो हार व्यहोरेको हो।

विराटनगरलाई कम स्कोरमा रोक्न कर्णालीका नन्दन यादवले ३ विकेट झारे। उनले आफ्नो स्पेलमा
१९ रन दिदा ३ विकेट लिए। विपिन शर्माले २ विकेट झारे। सोमपाल कामी, विलियम बसिस्टो र युनिस ठकुरीले समान एक विकेट आफ्नो नाममा गरे।
निकोलस पुरनले बनाएको ४० रन नै विराटनगरका लागि सर्वाधिक रह्यो। ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरेका पुरन नन्दन यादवको बलमा बोल्ड आउट हुन पुगे।
दुवै ओपनर विपिन शर्माको शिकार भए। ओपनर लोकेश बम १९ रन बनाउँदा विपिन शर्माको बलमा बोल्ड आउट हुन पुगे। मार्टिन गप्टील ४ रनमा शर्माको बलमा क्याच आउट भए।
दीपक बोहोरा १८ रन बनाउँदै विवेक यादवको बलमा बोल्ड आउट भए।

अकिबल इलियास ८, नरेन भट्ट ७ रन बनाउँदै पेभेलियन फर्के। बसिर अहमद ८ रन बनाउँदा युनिस ठकुरीबाट कट एण्ड बोल्ड हुन पुगे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णाली १ सय ३३ रन बनाउँदा इनिङ्सको अन्तिम बलमा अलआउट हुन पुग्यो।
तेस्रो ओभरमा नै दुई विकेट गुमाएर दबाबमा आएको कर्णालीका लागि तेस्रो विकेटका देव खनाल र विलियम बसिष्टोले १ सय २ रनको साझेदारी गरे।
विलियम बसिष्टो ६६ रन बनाउँदा क्रिस सोलेको बलमा एलबीडब्लु धरापमा परे।
४९ बलमा ५ चौका र ३ छक्का हानेका बसिस्टो १९औँ अन्तिम बलमा पेभेलियन फर्के। ४८ बलमा ४ चौका र २ छक्का सहयोगमा ५३ रन बनाएका देव बसिर अहमदको बलमा क्रिस सोलेको हातबाट क्याच आउट भए।
देव र बसिष्टो बाहेक अन्य ब्याटरले ६ रनको आँकडा पार गर्न सकेनन्। पाँच ब्याटर शुन्य रनमा पेभेलियन फर्के। दुई ब्याटरले समान एक रन बनाए। जिसनले २ रन थपे। शिखरले ५ रन बनाए।

४ बलमा ५ रन बनाएका ओपनर शिखर धवन दोस्रो ओभरको तेस्रो बलमा नै प्रतिश जिसीको बलमा बोल्ड आउट भए। तेस्रो ओभरको दोस्रो बलमा चान्डविक वाल्टन १ रनमा क्रिस सोलेको बलमा विकेट किपर लोकेश बमको हातबाट आउट हुन पुगे।
गुल्सन झा पहिलो बलमा नै बसिर अहमदको बलमा एलबीडब्लु धरापमा परे। अर्जुन घर्ति १ रन बनाउँदा अकिब इलियासको बलमा बोल्ड आउट भए।
जिसन मक्सुद २ रन बनाउँदा क्याच आउट हुन पुगे। नन्दन यादव शुन्य रनमा पेभेलियन फर्के।
विराटनगरका लागि प्रतिश जिसीले ४ विकेट लिए। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै १७ रन दिदा ४ विकेट आफ्नो नाममा गरेका हुन्।
बसिर अहमद र क्रिस सोलले समान दुई विकेट लिए। अकिब इलियासले एक विकेट आफ्नो नाममा गरे।
विराटनगरका लागि कप्तान सन्दीप लामिछाने निकै महंगा सावित भए। उनले आफ्नो स्पेलमा ३६ रन खर्चदा विकेटविहीन रहे।
Shares

प्रतिक्रिया