खेल


कप्तान रोहितको अलराउन्ड प्रदर्शनमा पाँचौँ खेलमा लुम्बिनीको पहिलो जित

कप्तान रोहितको अलराउन्ड प्रदर्शनमा पाँचौँ खेलमा लुम्बिनीको पहिलो जित

लुम्बिनी लायन्सले एनपीएलको पाँचौँ खेलमा पहिलो जित दर्ता गरेको छ (सरोज नेपाल)


लक्ष्मी जि.सी
मंसिर २५, २०८१ मंगलबार १२:१४, काठमाडौँ

कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौँ खेलमा आएर पहिलो जित दर्ता गरेको छ।

एनपीएलमा लुम्बिनीले पहिलो जित दर्ता गरेको दिन चितवन राइनोजले भने दोस्रो हार व्यहोरेको हो। मंगलबारको पहिलो खेलमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गर्दै पहिलो जित निकालेको हो।

लुम्बिनीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउँन सक्यो। 

चितवनलाई कम स्कोरका रोक्न लुम्बिनीका कप्तान रोहित पौडेल ४ विकेट लिए। उनले आफ्नो स्पेलमा १७ रन दिए। रेमोन सिमोन्डले २ विकेट झारे। साद विन जफर र अविशेष गौतमले समान एक विकेट लिए। 

वेन केनस्टाइनले बनाएको ३१ रन नै चितवनका लागि सर्वाधिक रह्यो। उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे। नर बहादुर कार्की २२ र रिजन ढकाल २२ रनमा नटआउट रहे। 

कुशल मल्लले २० रन थपे। रवि वोपारा १२ रन बनाउँदै आउट भए। चौथो ओभरमा नै १६ रन बनाउँदा तीन विकेट गुमाएपछि चितवन दबाबमा आएको थियो। 

ओपनर विपिन रावल ५ रन बनाउँदा रेमोन सिमोन्डको बलका सन्तोष घिरैयाको हातबाट क्याच आउट भए। तेस्रो ओभरको अन्तिम बलमा सन्तोष कार्की १० रन बनाउँदा रोहित पौडेलको बलमा सादविन जफरको हातबाट क्याच आउट भए। 

चौथो ओभरको पहिलो बलमा १ रन बनाएका सोहेल तनविर रोहित पौडेलबाट कट एण्ड बोल्ड भए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रनको योगफल तयार पारेको थियो। 

पाँचौँ विकेटका लागि कप्तान रोहित पौेडेल र साद विन जफरले १ सय १४ रनको साझेदारी गर्दै लुम्बिनीको इनिङ्स सम्हालेका थिए। लुम्बिनी एक समय ७.५ ओभरमा ४–४९ को अवस्थामा रहेको थियो। 

कप्तान पौडेलले बनाएको ८० रन नै लुम्बिनीका लागि सर्वाधिक रह्यो। उनले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। रोहितले १४.१ ओभरमा ४३ बलमा २ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरे। 

जफर ३५ बलमा ५३ रन थप्दै रनआउट भए। जफरले ३४ बलमा ४ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरे। सन्दीप जोरा ४ रनमा अविजित रहे। 

ओपनर अर्जुन साउद सातौँ ओभरको पाचौँ बलमा १५ रन बनाउँदा रन्जित कुमारको बलमा कुशल मल्लको हातबाट क्याच आउट भए। 

ओपनर आशुतोष घिरैया दोस्रो ओभरको पहिलो बलमा रिजन ढकालको बलमा बोल्ड आउट भए। 

सोही ओभरको तेस्रो बलमा उन्मुक्त चन्द रिजन ढकालको बलमा विकेट किपरको हातबाट आउट हुन पुगे। 

टोम मोरिस १० रन बनाउँदै कुशल मल्लको बलमा जान निकोन लफ्टी इटोनको हातबाट क्याचआउट भए। 

चितवनका रिजन ढकालले तीन विकेट लिए। कुशल मल्ल र रन्जित कुमारले समान एक विकेट आफ्नो नाममा गरे। 

सोहेल तनविर एनपीएलको दोस्रो खेलमा विकेटविहीन भएका हुन्। तनविर यसअघि कर्णालीविरुद्धको खेलमा मात्र विकेटविहीन थिए। 

मंगलबारको खेलमा लुम्बिनीले अघिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरेको छ। वेन कटिङको स्थानमा उन्मुक्त चन्द सुरुवाती ११ मा आएका छन्। 

चितवनले भने अघिल्लो खेलबाट २ खेलाडी परिवर्तन गरेको छ। चितवनले हसन इसाखिलको स्थानामा लुक वेनकेस्टाइनको र दिपक बोहोराको स्थानमा नर बहादुर कार्कीलाई मौका दिएको छ। 

लुम्बिनी यसअघि पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेटले तथा पोखरा एभेन्जर्ससँग १० विकेटको फराकिलो हार व्यहोरेको थियो। तेस्रो खेलमा सुदुरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुर बोल्ट्ससँगको खेल १ रनले गुमाएको थियो।

चितवनले पहिलो खेलमा काडमाण्डु गुर्खाजलाई ५ विकेटले तथा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो। आफ्नो तेस्रो खेलमा कर्णालीसँग भने ६ विकेटले पराजित हुँदा सुदुरपश्चिमलाई ३३ रनले पराजित गरेको थियो। 

आजै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्नेछन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad