खेल


‘रेड जोन’मा विराटनगर र पोखरा, प्लेअफमा अझै ढुक्क छैनन् सुदूरपश्चिम र जनकपुर

‘रेड जोन’मा विराटनगर र पोखरा, प्लेअफमा अझै ढुक्क छैनन् सुदूरपश्चिम र जनकपुर

उजिर कार्की
मंसिर २६, २०८१ बुधबार २२:२८, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) का आधाभन्दा बढी खेल सम्पन्न भएका छन्। जम्मा ३२ खेल हुने एनपीएलमा बुधबारसम्ममा १९ खेल सम्पन्न भएका हुन्।

१९ औँ खेलमा आइपुग्दा लुम्बिनी लायन्स समूह चरणबाटै बाहिरिने पक्का भएको छ। अब लुम्बिनीले अन्तिम खेल आगामी शुक्रबार कर्णाली याक्ससँग खेल्नेछ। 

त्यो खेल लुम्बिनीले सान्त्वना जितका लागि मात्रै खेल्नेछ। लिगका ६ खेल खेल्दा  यसअघि नै लुम्बिनीले ५ खेलमा पराजय भोगिसकेको छ। तर पाँचौँ र छैटौँ चरणका खेल चलिरहँदा पनि अन्य ७ टोलीको भने प्लेअफका लागि भिडन्त भइरहेको छ। 

शीर्षस्थानको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुरसँग ५ खेलमा ८ अंक भए पनि अझै प्लेअफ निश्चित भइसकेको छैन। चार खेलमा समान २ अंक मात्रै जोडेका विराटनगर र पोखराको पनि प्लेअफको झिनो सम्भावना बाँकी नै छ। अब हुने खेलबाट मात्रै प्लेअफ पुग्ने टोलीको टुंगो लाग्ने छ। 

यी दुई टोलीमध्ये एउटा बिहीबार नै बाहिरिने छ। 

नेपाल प्रिमियर लिगको प्लेअफमा शीर्ष स्थानका चार टोली पुग्नेछन्। समान ७ खेल भइसकेपछि यी टोलीको टुंगो लाग्ने छ। तर अहिलेसम्म २ अंक भएका विराटनगर र पोखराको आशा जीवित हुँदा ८ अंक जोडिसकेका सुदूरपश्चिम र जनकपुर पनि ढुक्क भइहाल्ने अवस्था भने छैन। अझै पनि यी दुवै टोली बाहिरिने सम्भावना बाँकी नै छ। 

प्लेअफका लागि एकअर्काको नतिजामा निर्भर ७ टिम
लिगमा समान एक खेलमा मात्रै पराजित भएका टोली हुन् सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स। यी दुई टोलीको प्लेअफको सम्भावना सबैभन्दा बलियो छ। 

अब बाँकी दुई खेलमा विजयी भए दुवै टोलीको समान १२ अंक हुनेछ। त्यो अवस्थामा बाँकी दुई सिटका लागि ५ वटा टोलीको प्रतिस्पर्धा चल्ने छ। यी टोलीले दुईमध्ये एकएक खेल जितेमा पनि प्लेअफमा पुग्नेछन्। 

तर बाँकी दुवै खेलको पराजयले भने यी टोलीको पनि समूह चरणबाटै बाहिरिने जोखिम टरिसकेको छैन। सुदूरपश्चिमले अब आगामी आइतबार पोखरासँग र अन्तिम खेलमा कर्णालीसँग भिड्नेछ। 

जनकपुरले बिहीबार दिउँसो काठमान्डुसँग खेल्दा अन्तिम खेलमा शनिबार चितवनको सामना गर्नेछ। यी टोलीको प्लेअफ यात्रालाई शनिबारदेखिकै नतिजाले फरक पार्न सक्छ। 

प्लेअफका लागि सबैभन्दा दबाबमा छन्, विराटनगर र पोखरा। नतिजा अनुकूल नै भइदिए पनि यी दुई टोलीमध्ये एउटा मात्रै प्लेअफमा पुग्न सक्छ। आफ्ना सबै खेल जितेर पनि हुँदैन, अन्य टोलीको नतिजा पनि अनुकूल भइदिनपर्छ। त्यो सम्भावना अहिलेलाई गणितीय रूपमा मात्रै छ। 

बिहीबार बिहान आमनेसामने हुँदा एउटा टोलीको प्लेअफको सम्भावना भने त्यहीँ सकिने छ। बिहीबार बिहान यी दुई टोली भिड्न लागेका छन्। यो खेलमा पराजित हुने टोली एनपीएलबाट बाहिरिने दोस्रो टोली बन्ने छ। एनपीएलको प्लेअफमा पुग्न कम्तीमा पनि ८ अंक बनाउनु पर्नेछ। बाँकी सबै खेल जिते मात्रै यी टोलीको ८ अंक हुन्छ। 

बिहीबार दिउँसो जनकपुर र काठमाडौँ भिड्दैछन्। यो खेलबाट पनि प्लेअफमा पुग्ने अर्को टोलीको तय हुनसक्छ। जनकपुर विजयी भएमा उसले आफूलाई प्लेअफमा निश्चित गर्नेछ। 

तर काठमाडौँले जितेमा भने काठमाडौँको सम्भावना पनि कायम रहनेछ र अन्तिम चरणको खेलबाट मात्रै यी टोली मध्येबाट प्लेअफमा पुग्ने टुंगो लाग्ने छ। सुरुमै दुई खेलमा पराजित भइसकेको काठमाडौँलाई अब सबै खेल जित्नै पर्ने दबाब छ। बाँकी खेल जिते काठमाडौँको १० अंक हुनेछ। अरु टोलीको नतिजामा निर्भर हुने हो भने पनि कम्तीमा अब तीनमध्ये दुई खेल जित्नैपर्छ। 

तर यो अवस्थामा नेट रनरेट राम्रो भएर मात्रै हुँदैन, कर्णाली र चितवनमध्ये एउटा टोली पनि बाहिरिनुपर्छ। त्यो अवस्थामा सुदूरपश्चिम र जनकपुरसँगै काठमाडौँ पनि प्लेअफमा पुग्न सक्छ। 

चितवनले अब विराटनगर र जनकपुरको सामना गर्दैछ। शुक्रबार विराटनगरसँग भिड्दा जितले उसको प्लेअफ निश्चित हुँदैन। तर यस्तो नतिजा आए विराटनगर भने बिहीबार पोखरालाई पराजित गरे पनि प्लेअफबाट शुक्रबार बाहिरिने छ। चितवन समान ६ अंक सहित तालिकाको तेस्रो स्थानमा छ। 

त्यसपछि प्लेअफको दौडमा ५ वटा टोली मात्रै हुनेछन्। चितवनले त्यो खेल जिते ८ अंक हुनेछ र प्लेअफको सम्भावना पनि बलियो हुनेछ। त्यो अवस्थामा कर्णाली र काठमाडौँमध्ये एउटा टोली बाहिरिनेछ। 

पाँचौँ चरणका खेलसम्म आइपुग्दा कर्णाली याक्स चौथो स्थानमा अडिन सफल भएको छ। तर उसलाई पनि प्लेअफमा पुग्न अबका खेल जित्नै पर्ने दबाब छ। कर्णालीले अब बाहिरिसकेको लुम्बिनी र प्लेअफ सहज देखिएको सुदूरपश्चिमको सामना गर्न बाँकी छ। 

यी खेलको नतिजा आफ्नो पक्षमा पार्न नसकेमा कर्णालीको पनि यात्रा समूह चरणमै टुंगिन सक्छ। कर्णालीले एक खेल मात्रै जिते बाँकी टोलीको नतिजामा निर्भर हुनुपर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad