नेपाल प्रिमियर लिग (एनपीएल) मा लिग चरणका खेल सकिएका छन्। बुधबारदेखि अन्तिम चारमा पुगेका टोलीको खेल सुरु हुनेछ।
लिग चरणमा ८ टोलीले समान ७/७ खेल खेलेका छन्। अब चार टोलीले थप खेल खेल्दा चारवटा टोली भने बिदा भइसकेका छन्। बाँकी यी चारवटा टोलीमध्ये पनि एउटा टोलीले एक खेल मात्रै खेल्नेछ। कर्णाली याक्स र चितवन राइनोजबीचको एलिमिनेटरमा हार्ने टोलीको बुधबार नै अन्तिम खेल हुनेछ।
सुदूरपश्चिम र जनकपुरले २ खेल खेल्ने पक्का छ। तीमध्ये एक टोली तथा कर्णाली र चितवनमध्येको जिजेता टोलीले पनि २ खेल खेल्ने पक्का छ। तर दोस्रो क्वालिफायरको विजेता टोलीले भने तीन खेल खेल्नेछ।
एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबीच दोस्रो क्वालिफायर हुनेछ।
यसअघि लिग चरणमा सबै टोलीले समान खेल खेल्दा राष्ट्रिय टोलीका अधिकांश नियमित खेलाडीहरूको प्रदर्शन नै सन्तोषजनक रहेन। तर एनपीएलमा बलियो छाप बनाएका केही नयाँ खेलाडीका लागि भने राष्ट्रिय टोलीको ढोका खुल्न सक्ने देखिएको छ।
ब्याटिङ र बलिङमै केही नयाँ खेलाडीको उदय नेपाल प्रिमियर लिगमा भएको छ। जसले राष्ट्रिय टोलीमा खराब प्रदर्शन गरेका खेलाडीलाई विस्थापित गरिदिन सक्छन्।
लिग चरणमा केही खेलाडीले राम्रो प्रदर्शन गर्दा पनि कतिपय टोली बाहिरिएका छन्। केहीले टोलीलाई उपाधिको नजिक पुर्याउन सफल भएका छन्। लिगका ७ खेलमा गरेको प्रदर्शनका आधारमा यहाँ १४ खेलाडीको प्रदर्शनको चर्चा गरिएको छ। जसले महत्त्वपूर्ण जितमा निर्णायक नै साबित भएर प्लेयर अफ द म्याच बनेका थिए।
अनिल र लोकेश
नेपाली टोलीमा लामो समय ओपनर जोडीका रूपमा जमेका आसिफ शेख र कुशल भुर्तेलका लागि नेपाल प्रिमियर लिग खासै सम्झन लायक छैन। भुर्तेलले भन्दा आसिफले केही राम्रो प्रदर्शन गरे पनि नेपाल प्रिमियर लिगको प्रदर्शनले नयाँ ओपनरको सम्भावना देखाएको छ।
यसअघिबाटै ओपनिङमा स्थान बनाएका अनिलकुमार साह नेपाल प्रिमियर लिगमा पनि जमेका छन्। अनिलकुमार साह जनकपुर बोल्ट्सका कप्तान हुन्। मार्की खेलाडी आसिफ भए पनि जनकपुरले कप्तानीको जिम्मा अनिललाई दियो। ७ खेलमै ब्याटिङ गरेका अनिल एउटा खेलमा शून्य रनमै आउट भए पनि बाँकी ६ खेलमा १३२ रन बनाउन सफल भए।
कर्णालीलाई १६ औँ ओभरको पहिलो बलमै पराजित गर्दा अनिल प्लेयर अफ द म्याच बने। उक्त खेलमा अनिलले ४२ बलमा नटआउट ६२ रन बनाएका थिए। उनले ६ चौका र ३ छक्का प्रहार गरे।
कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले मात्रै २ विकेट गुमाएर पूरा गरेको थियो। अहिले अनिलको कप्तानीमा जनकपुर पहिलो क्वालिफायरमा पुगेको छ। अनिललाई राष्ट्रिय टोलीमा ओपनिङ ब्याटरमा निरन्तरताका लागि नेपाल प्रिमियर लिगको प्रदर्शनले बल पुर्याउने छ।
अनिलपछि एनपीएलको ओपनरमा जमेका ब्याटर हुन् लोकेश बम। लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले कीर्तिमानी लक्ष्य पूरा गर्दा लोकेश प्लेअर अफ द म्याच बने।
पहिलो सिजन विराटनगरका लागि सम्झनलायक रहेन। सुरुका दुवै खेल पराजित भएपछि विराटनगरले तेस्रो खेलमा लुम्बिनीको सामना गरेको थियो। तर आफ्नो पहिलो खेलमै पहिले ब्याटिङ गरेको लुम्बिनीले एनपीएलकै ठूलो लक्ष्य खडा गर्यो।
लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले अन्तिम बल अघि नै पूरा गर्यो। यो खेलमा विराटनगरका ओपनर लोकेश बमले ४६ बलमा ७१ रन बनाए। टोलीलाई जित नजिक पुर्याएर बाहिरिएका उनी प्लेयर अफ द म्याच बने। लोकेशले अनिलकुमार साहले भन्दा एक रन कम अर्थात् १३१ रन बनाएका छन्।
एनपीएलबाट नयाँ ओपनरका रूपमा पोखरा एभेन्जर्सका दिनेश खरेल पनि देखिएका छन्। दिनेश कुनै पनि खेलमा प्लेयर अफ द म्याच बनेनन्। तर उनको पनि प्रदर्शन अनिल र लोकेशको भन्दा कम छैन। उनले लिगका ७ खेलमा एक अर्धशतकसहित १६२ रन बनाएका छन्।
रोहित, कुशल र दीपेन्द्र
एनपीएलमा धेरै रन बनाउने शीर्ष ५ खेलाडीमा तीन जना नेपाली ब्याटर छन्। तीनै जना मार्की खेलाडी हुन् भने छुट्टाछुट्टै टोलीका कप्तान पनि हुन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले नेतृत्व गरेको लुम्बिनी लायन्स लिग चरणबाटै बाहिरिएको छ। तर, रोहित भने सबैभन्दा सफल ब्याटरमा आफूलाई उभ्याउन सफल भए। उनले लिग चरणमा नेपाली मात्रै होइन विदेशी ब्याटरलाई समेत पछि पारे।
दुईपटक शतकनजिक पुगेका रोहित एकपटक अर्धशतक नजिक पुगेर आउट भए। आफ्नो पहिलो खेलमा विराटनगरविरुद्ध ४६ रन बनाएर आउट भएका रोहितको ब्याटले दोस्रो खेलमा झन् तहल्का मच्चायो। आफ्ना दुवै ओपनर शून्य रनमा आउट भएपछि क्रिज सम्हालेका रोहितले ९५ रन प्रहार गरे।
उनले पोखराविरुद्ध १० चौका र ४ छक्काको मद्दतमा यो स्कोर बनाएका थिए। लुम्बिनीले १७० रन बनाएको खेलमा रोहित अन्तिम बलमा रनआउट हुन पुगे। तर यो खेलमा पोखराले १० विकेटको शानदार जित निकाल्यो।
रोहितले बनाएको सर्वाधिक ९५ रनको उच्च स्कोर पनि पोखराका विदेशी खेलाडी आन्द्रेस हौसको अविजित शतकको छायामा पर्यो। यो खेलमा पोखराका लागि दिनेश खरेलले पनि नटआउट ६१ रन बनाएका थिए।
पहिलो खेलमा बलिङ नगरेका रोहितले त्यसपछिका खेलमा भने बलिङ गर्न थाले। चितवनलाई पराजित गर्दा उनले ४ विकेट लिएका थिए। पछिल्ला ६ खेलमा ८ विकेट लिन सफल भए।
व्यक्तिगत प्रदर्शन मात्रै होइन, टोलीलाई समेत अगाडि बढाइरहेका दुई कप्तान हुन्–चितवन राइनोजका कुशल मल्ल र सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी।
जारी एनपीएलमा दोहोर्याएर प्लेयर अफ द म्याच पाउने एक्ला नेपाली खेलाडी हुन् दीपेन्द्र। लिग चरणमा सुदूरपश्चिमको पहिलो र अन्तिम खेलमा दीपेन्द्र प्लेयर अफ द म्याच भए। दीपेन्द्रको विस्फोटक ब्याटिङमा सुदूरपश्चिमले एनपीएलको दोस्रो उच्च लक्ष्य विराटनगरलाई प्रस्तुत गरेको थियो। १८३ रनको लक्ष्य प्रस्तुत गरेको खेलमा दीपेन्द्रले २४ बलमा नटआउट ५७ रन प्रहार गरे।
जवाफी ब्याटिङ गरेको विराटनगर ९० रनमै समेटिँदै फराकिलो अन्तरमा पराजित भयो। दीपेन्द्रको टोली एनपीएलका लिग चरणमा एक खेलमा मात्रै पराजित हुने एक्लो टोली हो। लिगमा चितवनबाहेक सबै टोलीलाई सुदूरपश्चिमले पराजित गरेको थियो।
दीपेन्द्रले जारी लिगमा १९८ रन बनाएका छन्। उनी उच्च रन बनाउने खेलाडीको पाँचौँ नम्बरमा छन्। विस्फोटक ब्याटिङका कीर्तिमानी दीपेन्द्र एनपीएलमा पनि बेस्ट ब्याटिङ स्ट्राइक रेटमा तेस्रो स्थानमा छन्। उनीभन्दा अगाडि जेम्स निसम र सोमपाल कामी छन्। ५ खेलमा बलिङ गरेका दीपेन्द्रले ५ विकेट लिएका छन्।
चितवन राइनोजका मार्की खेलाडी तथा कप्तान कुशल मल्लको एनपीएलमा सुरुवात त्यति राम्रो थिएन। तर जनकपुरविरुद्धको खेलमा गरेको प्रदर्शनले उनका अघिल्ला खराब प्रदर्शन नै बिर्साइदियो। प्लेअफबाट बाहिरिने संघारमा पुगेको चितवनका लागि निर्णायक खेलमा कप्तान कुशलको प्रदर्शन निर्णायक नै रह्यो।
जनकपुरविरुद्ध १८० रनको लक्ष्य प्रस्तुत गरेको चितवनका लागि कुशलले ७२ रन प्रहार गरे। ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गरेका कुशलको उच्च प्रदर्शनले नै चितवनले जनकपुरलाई हराएको थियो। उनले यो खेलमा ४ ओभर बलिङ गर्दा २६ रन खर्चिएर २ विकेट लिएका थिए। कुशल निर्णायक खेलका प्लेयर अफ द म्याच पनि बने। उनले सर्वाधिक रन बनाउने ब्याटरको रेकर्ड बनाउने सम्भावना छ। कुशलले २०२ रन बनाइसकेका छन्। उनी रोहितपछि सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर हुन् भने लिगकै चौथो नम्बरमा छन्। उनले लिग चरणमा ८ विकेट लिइसकेका छन्।
मध्यक्रममा बसिर र इसान
नेपाली राष्ट्रिय क्रिकेट टिममा विराटनगरका बसिर अहमदले मध्यक्रमको ब्याटरमा स्थान लिन सक्छन्। २१ वर्षका अलराउन्डर बसिर यसअघि टोलीमा पर्दा राम्रो प्रदर्शन गर्न नसकेपछि राष्ट्रिय टोलीमा टिक्न सकेका थिएनन्। तर नेपाल प्रिमियर लिगमा उनको प्रदर्शनले फेरि ध्यान खिचेको छ। जारी लिगमा सर्वाधिक रन बनाउनेमा उनी नेपालका चौथो ब्याटर हुन्। उनले रोहित, कुशल र दीपेन्द्रपछि सबैभन्दा धेरै १८१ रन बनाएका छन्।
लिगमा विराटनगरले जम्मा २ खेल जित्यो। बलियो ठानिएको चितवनलाई ५१ रनले पराजित गर्दा बसिर नायक बने। उनले ४४ बलमा नटआउट ६८ रन बनाएका थिए। उनकै विस्फोटक ब्याटिङमा विराटनगरले चितवनलाई १८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जुन खेलमा चितवन ५१ रनले पराजित भयो। खेलका म्यान अफ द म्याच बसिरले ४ ओभर बलिङ गर्दा १९ रन खर्चिएर १ विकेट लिए। लिगमा ६ विकेट समेत लिन सफल छन्।
नेपाली राष्ट्रिय टोलीका नियमित केही सदस्यहरूको भन्दा एनपीएलमा सुदूरपश्चिम रोयल्सका ब्याटर इसान पाण्डेको पनि प्रदर्शन राम्रो छ। उनले ६ खेलमा १२२ रन बनाएका छन्। सर्वाधिक कर्णालीविरुद्ध नटआउट ३८ रन बनाए।
२६ वर्षका इसान सुदूरपश्चिमले जनकपुरलाई ५१ रनमा अलआउट गरेको खेलमा म्यान आफ द म्याच बने। त्यो खेलमा उनले १४ बलमा १७ रन बनाए भने २ ओभर बलिङ गर्दा ११ रन खर्चिएर महत्त्वपूर्ण २ विकेट लिएका थिए। जनकपुर १२.१ ओभरमा अलआउट हुँदा सुदूरपश्चिमले ७२ रनले खेल जित्यो। उनको पनि राष्ट्रिय टोलीमा पर्न सक्ने सम्भावना एनपीएलको प्रदर्शनले देखाएको छ।
करण, ललित र रिजन
एनपीएलमा धेरै विकेट लिने शीर्ष ५ बलरमा नेपालका ललित राजवंशी, रिजन ढकाल र करण केसी छन्। करण केसी काठमान्डु गुर्खाजका मार्की तथा कप्तान समेत हुन्।
उनको टोली काठमान्डुले चितवन र कर्णालीसँग समान ८ अंक बनाए पनि नेट रनरेटमा पछि पर्दै लिग चरणबाटै बाहिरियो। तर करण केसीको प्रदर्शन भने सम्झन लायक नै रह्यो।
लिग चरणका ७ खेलमा २३.५ ओभर बलिङ गरेका करणले १५२ रन खर्चिएर १२ विकेट लिए। लुम्बिनीविरुद्धको खेलमा भने करणले आफूलाई नायक साबित गरे।
त्यो खेलमा पहिले ब्याटिङ गरेको काठमान्डुले मात्र १०३ रन बनाएको थियो। तर १०४ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीका ब्याटर करणको बलिङसामु निरीह देखिए।
त्यो खेलमा प्लेयर अफ द म्याच बनेका करणले चार ओभरमा मात्र १६ रन खर्चिएर ४ विकेट लिएका थिए। अलराउन्डर करण हिटर ब्याटरका रूपमा पनि परिचित छन्। उनले कर्णालीविरुद्ध हार नजिक पुगिसकेको अवस्थामा १० बलमै २८ रन प्रहार गरेर जित नजिक पुर्याएर आउट भए। जुन खेलमा काठमान्डु विजयी भयो।
तर एनपीएलका अरु खेलमा उनको ब्याट चम्किएन। ७ खेलमा ५१ रन मात्रै बनाए। त्यसबाहेक जनकपुरविरुद्ध १९ रन बनाएका करण चार खेलमा एक रनमै आउट भए भने विराटनगरविरुद्ध रनको खाता नै खोल्न सकेनन्। उनको अपेक्षित ब्याटिङ नभए पनि बलिङमा भने सन्तोषजनक प्रदर्शन रह्यो।
बढी विकेट लिने बलरको प्रतिस्पर्धामा जनकपुरका ललित राजवंशी र चितवनका रिजन ढकाल छन्। दुवैले समान ७ खेलमा १३ विकेट लिएका छन्। उनीहरूका टोली प्लेअफमा समेत पुगेकाले अबका खेलमा कसले उछिन्ने भन्ने टुंगो लाग्नेछ।
बढी विकेट लिनेमा उनीहरूको सुरुदेखि नै प्रतिस्पर्धा चलिरहेको थियो। तर लिग चरणका अन्तिम खेलबाट सुदूरपश्चिमका स्कट कुगलाइनले दुवैलाई पछि पारेका छन्। स्कटले १५ विकेट लिइसकेका छन्। मात्रै २ विकेटले पछि रहेका ललित र रिजनलाई अब स्कटलाई उछिन्ने चुनौती छ भने बढी विकेट लिने खेलाडीमा उनीहरूकै सम्भावना छ।
एउटा बलरले पाउने सबै ओभर बलिङ गर्ने एनपीएलमा दुईजना खेलाडी मात्रै छन्। ती हुन् जनकपुर बोल्ट्सका ललित राजवंशी र विराटनगर किंग्सका सन्दीप लामिछाने। सन्दीप लामिछानेले २८ ओभरमा १९१ रन खर्चिएर ६ विकेट मात्र लिए। तर त्यति नै ओभरमा ललितले १३९ रन मात्रै खर्चिएर १३ विकेट लिएका हुन्। उनले सबैभन्दा राम्रो बलिङ काठमान्डुविरुद्ध गरे।
काठमान्डुविरुद्ध ४ ओभरमा मात्रै ८ रन खचिएर ३ विकेट लिएका थिए। प्लेयर अफ द म्याच समेत रहेका ललितकै उच्च प्रदर्शनका कारण पहिले ब्याटिङ गरेको काठमान्डु १०१ रनमा ३ बलअघि नै अलआउट भयो।
नेपाली राष्ट्रिय टोलीका अनुभवी ललित एनपीएलमा सुदूरपश्चिमविरुद्ध मात्रै विकेटविहीन भए। बाँकी तीन खेलमा तीनतीन विकेट लिँदा एक खेलमा २ विकेट र २ खेलमा एकएक विकेट लिए। २ खेलमा ब्याटिङको मौका पाएका उनले ५ रन जोडेका छन्।
एनपीएलबाट पनि उनले आफूलाई अब्बल बलरका रूपमा प्रमाणित गर्न सफल भएका छन्।
पोखरा एभेन्जर्सले जारी लिगमा सबैभन्दा खराब नतिजा चितवनविरुद्ध ब्यहोर्यो। १६२ रनको लक्ष्य पछ्याएको पोखरा ७४ रनमा अलआउट हुँदा ८७ रनको फराकिलो पराजय भोगेको थियो। १३.२ ओभरमा पोखरालाई अलआउट गर्दा चितवनका लागि मध्येगतिका बलर रिजन ढकाल चम्किए। खेलका प्लेयर अफ द म्याच रिजनले ३ ओभारमा १० रन खर्चिएर ३ विकेट लिए।
अहिले धेरै विकेट लिने बलरको शीर्ष ३ मा रहेका रिजनले ललितभन्दा १९ बल कम फाल्दा समान १३ विकेट लिएका हुन्। राष्ट्रिय टोलीबाट ६ वटा टी–२० खेलिसकेका उनले ६ विकेट नै लिएका छन्। तर टोलीमा नियमित स्थान बनाउन संघर्ष गरिरहेका रिजन एनपीएलमा अब्बल साबित भएका छन्।
नरेन, दीपेश, सुमित र विपिन
१९ वर्षमुनिको एसियाकप खेलेर फर्किएको भोलिपल्टै सुदूरपश्चिम रोयल्सका युवा बलर नरेन साउदले तहल्का मच्चाए। १६८ रनको लक्ष्य पछ्याएको काठमान्डुलाई २५ बल पहिले नै ९४ रनमा अलआउट गर्दा नरेनको भूमिका निर्णायक साबित भयो।
उनले २३ बलमा १९ रन खर्चिएर काठमान्डुको ५ विकेट झारेका थिए। त्यो खेल सुदूरपश्चिमले ७३ रनले जित्दा नरेन प्लेयर अफ द म्याच बने। त्यसपछिका चार खेलमा १ विकेट मात्र लिए भने १३ रनको योगदान दिए।
काठमान्डुका दीपेश कँडेलका नाममा एनपीएलमा ७ विकेट छ। लिग चरणको अन्तिम खेलमा विराटनगरविरुद्ध प्लेयर अफ द म्याच दीपेशले धरासायी बनेको काठमान्डुलाई जितसम्म पुर्याएका थिए।
पहिले ब्याटिङ गरेको विराटनगरले काठमान्डुलाई ११८ रनको लक्ष्य दिएको थियो। काठमान्डुले १०२ रन बनाउँदा ९ विकेट गुमाएपछि क्रिजमा आए दीपेश। तेस्रो बलमै छक्का प्रहार गर्दै उनले काठमान्डुको आशा जगाए।
१९ औँ ओभरको पहिलो बलमा चौका प्रहार गरेर हारको संघारमा पुगेको काठमान्डुलाई अंक दिलाउन सफल भए। त्यसअघि उनले लुम्बिनीविरुद्ध पनि ४ ओभरमा मात्रै ६ रन खर्चिएर ३ विकेट लिएका थिए। कर्णालीविरुद्ध पनि ७ रन खर्चिएर १ विकेट लिएका उनले पोखराविरुद्धको खेलमा भने मौका पाएनन्। १९ वर्षका दीपेशले राष्ट्रिय टोलीमा स्थान लिने छनक देखाइसकेका छन्।
एनपीएलमा कर्णाली याक्सविरुद्ध धरासायी बनिसकेको काठमान्डुको ब्याटिङ सम्हाल्दै सुमित महर्जनले ३ बल अघि नै ३ विकेटको जित दिलाए। खेलका प्लेयर अफ द म्याच सुमितले ३७ बलमा ३ चौका र एक छक्कासहित नटआउट ४० रन बनाए। त्यसअघि चितवनविरुद्धको खेलमा पनि उनले २९ रन बनाएका थिए। ५ खेलमा मौका पाएका सुमितले ८७ रन बनाए।
एनपीएलको प्लेअफमा स्थान बनाएको चितवन राइनोज लिग चरणमा जनकपुर र सुदूरपश्चिममाथि जित निकाल्दा कर्णालीसँग भने पराजित भएको थियो।
चितवनलाई पराजित गर्दा चम्किएका कर्णालीका बलर हुन् १७ वर्षका विपिन शर्मा। पहिले ब्याटिङ गरेको चितवनलाई १३० रनमा समेट्दा विपिनले ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिए। जवाफी ब्याटिङ गरेको कर्णालीले त्यो खेल ४ विकेटको क्षतिमा एक बलअघि जित्यो। खेलको प्लेयर अफ द म्याच बने विपिन।
लिग चरणमा ६ खेलमा मौका पाएका विपिनले कुनै पनि खेलमा विकेटविहीन हुन परेन। ६ खेलमा विपिनले ९ विकेट लिएका छन्। अनुभवी बलरहरू फ्लप भइरहँदा विपिनको यो प्रदर्शनले निरन्तरता पाए राष्ट्रिय टोलीको ढोका छिट्टै खुल्नसक्छ।
एनपीएलका बाँकी खेलको प्रदर्शनपछि यी खेलाडीले राष्ट्रिय टोलीमा समेत उथलपुथल ल्याउन सक्छन्।
Shares

प्रतिक्रिया