खेल


जनकपुरलाई हराउँदै सुदूरपश्चिम नेपाल प्रिमियर लिगको फाइनलमा

जनकपुरलाई हराउँदै सुदूरपश्चिम नेपाल प्रिमियर लिगको फाइनलमा

लक्ष्मी जि.सी
पुस ३, २०८१ बुधबार १६:१४, काठमाडौँ

जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ।

बुधबार भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो संस्करणको एनपीएलको उपाधिनजिक पुगेको हो।
 
पराजित जनकपुरले अब फाइनल पुग्नका लागि दोस्रो मौका पाउनेछ। लिगको दोस्रो क्वालिफायरमा जनकपुरले एलिमिनेटर खेलको विजेता कर्णाली याक्सविरुद्ध खेल्नेछ। आजै भएको एलिमिनेटर खेलमा कर्णालीले चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो।

जनकपुरले दिएको १ सय ४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। ओपनर विनोद भण्डारी ५८ र कप्तान दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहे। भण्डारीले ५५ बलमा ३ चौका र ३ छक्का हाने। उनले ४१ बलमा अर्धशतक पूरा गरेका थिए। कप्तान ऐरीले १६ बलमा १ चौका र १ छक्का प्रहार गरे।

दोस्रो विकेटका लागि ओपनर विनोद भण्डारी र ब्राण्डोम म्याकमुलेनले ५९ रनको साझेदारी गरेपछि सुदुरपश्चिमले सहजै लक्ष्य भेट्टाएको हो। 

म्याकमुलेनले १९ बलमा १ चौका र १ छक्का सहयोगमा २५ रन बनाउँदा ललित राजवंशीको बलमा जिम्मी निसमको हातबाट क्याच आउट हुन पुगे। 

पहिलो विकेटका लागि विनोद र सैफ जैवले ७.३ ओभरमा ५६ रनको साझेदारी गर्दै सुदुरपश्चिमलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। 

ओपनर सैफ जैव ३२ रन बनाउँदै किशोर महतोको बलमा जिम्मी निसमको हातबाट क्याच आउट भए। उनले २१ बलमा ३ चौका र २ छक्का प्रहार गरे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको थियो।

जिम्मी निसमले बनाएको ४४ रन नै जनकपुरका लागि सर्वाधिक रह्यो। उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दा स्कट कुग्लेजिनको बलमा बोल्ड आउट भए। 

शुभ कंसाकार २६ रनमा रनआउट भए। १२ रन बनाउँदा हर्ष ठाकेर सैफ जैवको बलमा म्याकमुलेनको हातबाट क्याच आउट भए। 

ओपनर लाहिरु मिलान्था १४ बलमा २ चौका सहयोगमा १२ रन बनाउँदा दिपेन्द्रसिंह ऐरिको बलमा एलबीडब्लु धरापमा परे। कप्तान आशिफ शेख १० बलमा २ चौका सहयोगमा ११ रन बनाउँदा सैफ जैवको बलमा बोल्ड आउट भए। 

सुदुरपश्चिमका लागि दिपेन्द्रसिंह ऐरिले ३ विकेट झारे। सैफ जैवले २ विकेट लिए। स्कट कुग्लेजिन र अविनास बोहोराले समान एक विकेट आफ्नो नाममा गरे।  

लिगमा भोलि बिहिबार दोस्रो क्वालिफायर खेल हुनेछ। सो खेल मध्यान्ह १२ बजे सुरु हुनेछ। फाइनल खेल शनिबार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad