खेल


नेपाल प्रिमियर लिगको उपाधिका लागि जनकपुरले पायो १८५ रनको लक्ष्य

नेपाल प्रिमियर लिगको उपाधिका लागि जनकपुरले पायो १८५ रनको लक्ष्य

नेपालखबर
पुस ६, २०८१ शनिबार १४:८, काठमाडौँ

ओपनर सैफ अलि जैव र विनोद भण्डारीले शतकीय साझेदारी गरेपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा जनकपुर बोल्ट्ससामु जितका लागि १ सय ८५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको हो। 

पहिलो विकेटका लागि विनोद भण्डारी र सैफले १२ ओभरमा १ सय १७ रनको साझेदारी गर्दै सुुदूरपश्चिमलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। १२औँ ओभरको अन्तिम बलमा सैफ जैवलाई गुमाएको सुदूरपश्चिमले १३औँ ओभरको दोस्रो बलमा विनोद भण्डारीलाई गुमाउन पुग्यो।

६९ रन बनाएका ओपनर सैफ जैव १२ औँ ओभरको अन्तिम बलमा ललित राजवंशीको बलमा किशोर महतोको हातबाट क्याच आउट भए। उनले ४३ बलमा ८ चौका २ छक्का प्रहार गरे। जैवले  ३३ बलमा ५ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए।

३१ बलमा १ चौका र ३ छक्का हानेका भण्डारी ४१ रन बनाउँदा ललितकै बलमा बोल्ड आउट भए।

शीर्ष क्रमका ब्याटर क्रिजमा टिके पनि तल्लो क्रमका ब्याटर केही दबाबमा देखिए। 
१५औँ ओभरको अन्तिम बलमा हरमित सिंह १४ रन बनाउँदा मोहम्मद मोहसिनको बलमा वैकल्पिक फिल्डर हेमन्त धामीको हातबाट क्याच आउट भए।

१४ रन नै बनाएका ब्राण्डोन म्याकमुलेन जेम्स निसमको बलमा बोल्ड आउट भए। कप्तान दिपेन्द्रसिंह ऐरि ९ रन बनाउँदा मोहसिनको बलमा नै धामीको हातबाट क्याच आउट भए। 

आरिफ शेख १ रन बनाउँदा मोहसिनको बलमा ललित राजवंशीको हातबाट आउट हुन पुगे। स्कट कुगेलिन १३ रा बनाउँदा किशोर महतोको बलमा बोल्ड आउट हुन पुगे। नरेश बुढाएर ८ रन बनाउँदा किशोरको बलमा शेर मल्लको हातबाट क्याच आउट भए।

जनकपुरका मोहम्मद मोहसिन र किशोर महतोले समान ३ विकेट लिए। मोहसिनले आफ्नो स्पेलमा ३६ रन दिए। 

जेम्स निसम र ललित राजवंशीले समान एक विकेट आफ्नो नाममा गरे। 

ललितले आफ्नो स्पेलमा १ मेडन राख्दै १५ रन दिएर १ विकेट झारे। निशमले ४ ओभरमा ४४ रन खर्भेर मात्र १ विकेट लिए।

पहिलो ओभरमा नै १७ रन खाएका जनकपुरका बलर हर्ष ठाकेरले चौथो ओभर भने मेडन राखेका थिए। पाचौँ ओभरमा पनि ललित राजवंशीले कुनै रन दिएनन्। छैटौँ ओभरमा ठाकेरले १६ रन दिए। 

हाइ स्कोरिङ म्याचमा जनकपुरले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad