खेल


उपाधिको नजिक पुगेर इतिहास रच्नबाट चुकेको सुदूरपश्चिम रोयल्स

उपाधिको नजिक पुगेर इतिहास रच्नबाट चुकेको सुदूरपश्चिम रोयल्स

लक्ष्मी जि.सी
पुस ६, २०८१ शनिबार १७:४६, काठमाडौँ

सुरुवातदेखि नै उपाधि दाबेदारको रुपमा हेरिएको सुदूरपश्चिम रोयल्सले उपविजेता बन्दै नेपाल प्रिमियर लिग (एनपीएल) को यात्रा सकाएको छ। 

शनिबार भएको फाइनलमा जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएपछि सुदूरपश्चिम पहिलो संस्करणमा इतिहास रच्नबाट चुकेको हो। 

उपविजेता बनेसँगै सुदूरपश्चिमले ५१ लाख रुपैयाँ प्राप्त गरेको छ। जनकपुरले भने १ करोड १० लाख रुपैयाँ पायो। 

एनपीएलको सुरुवातदेखि नै दर्शकको राम्रो साथ पाएको सुदूरपश्चिमका हरेक खेलमा दर्शकहरु बिहानै मैदान आउने गरेका थिए।

जुन साथ सुदूरले अन्तिम समयसम्म पनि उस्तै पाइरह्यो। खेलाडीको हौसला बढाउनका लागि दर्शकहरु देउडा गाउँदै रमाइलो गरिरहेका हुन्थे।

लिग चरण र पहिलो क्वालिफायरमा जनकपुरमाथि सहज जित निकालेको सुदूरपश्चिम ह्याट्रिक जितसँगै उपाधि उचालेर इतिहास बनाउनबाट टाढिन पुग्यो।

उपाधिबाट टाढिएपछि सुदूरपश्चिमका मुख्य प्रशिक्षक जगत टमाटाले फाइनलमा जनकपुरले राम्रो खेलेर नै उपाधि जितेको बताए। 

‘जनकपुरले राम्रो क्रिकेट खेल्यो। आशिफ शेख र लाहिरु मिलान्थाले राम्रो सुरुवात दिए। विकेट पनि राम्रो थियो। एनपीएलमा हाम्रो नेपालका बलर र ब्याटर दुबैले राम्रो प्रदर्शन गरेका छन्’, उनले भने, ‘एनपीएलको कारण अबको दिनमा नयाँ खेलाडीहरु हेर्न पाउँछौँ। सुदूरपश्चिमले एनपीएलमा राम्रो खेलेको छ, त्यो भन्दा राम्रो जनकपुरले खेलेको भएर जितेको छ।’ 

एनपीएलमा सुखद सुरुवात गरेको सुदूरपश्चिमको समग्रमा यो दोस्रो हार हो। सुदूरपश्चिम लिग चरणमा चितवन राइनोजसँग ३३ रनले पराजित भएको थियो। त्यसपछि फाइनलमा जनकपुरसँग व्यहोरेको यो हार सुदूरपश्चिमका लागि महँगो साबित भयो।

सुदूरपश्चिम एनपीएलको उपाधि उचाल्नबाट वञ्चित भए पनि टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले लिगको उत्कृष्ट खेलाडी बन्दै कार जितेका छन्।

यसअघि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेललाई कार जित्ने खेलाडीको मुख्य दाबेदार मानिएको थियो। तर लुम्बिनी लिग चरणबाट नै बाहिरिएपछि रोहितको सम्भावना पनि सकिएको थियो।

लिग चरणमा सुदूरपश्चिमले पहिलो खेलमा विराटनगरलाई ९० रनले तथा दोस्रो खेलमा काठमाण्डुलाई ७३ रनले हराएको थियो। तेस्रो खेलमा लुम्बिनीलाई ४५ रनले पराजित गर्दा चौथो खेलमा चितवनसँग पराजित हुन पुग्यो। 

तर पाँचौँ खेलमा आएर जनकपुरलाई ७२ रनले हराउँदा पोखरामाथि ५ रनको साँघुरो जित निकाल्यो। लिग चरणको अन्तिम खेलमा कर्णालीलाई ६ विकेटले पाखा लगाउँदै अंक तालिकाको शीर्ष स्थानमा रहेको पहिलो क्वालिफायरका लागि छनोट भएको थियो।

पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले हराउँदै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad