नेपाल ओलम्पिक कमिटी (एनओसी) मा नेतृत्व चयनका लागि हुन लागेको मनोनयनमा प्रशासनले हस्तक्षेप गरेपछि अनलाइनबाट उम्मेदवारी दर्ता खुलाइएको छ।
शनिबार हुने भनिएको निर्वाचनको लागि मनोनयन दर्ता आज राती ११.३० बजेसम्म खुलाका लागि गरिएको छ। निर्वाचन समितिले भोलि बिहान साढे ९ बजे उम्मेदवारको सूची सार्वजनिक गर्नेछ। त्यसपछि दाबी विरोधको लागि समय दिइनेछ। दाबी-विरोधमा आवश्यक छानबिनपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ।
एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले तेस्रो कार्यकालका लागि आफै निर्वाचित हुन सक्ने गरी विधान संशोधन गर्न लागेको भन्दै असन्तुष्ट पक्ष उच्च अदालत पाटनमा रिट लिएर पुगेको थियो। विधान संशोधनका लागि मंसिर १८ गते विशेष अधिवेशनको तयारी भइरहेका बेला उच्च अदालतले अन्तरिम आदेश दिएर रोक्न भनेको थियो।
तर, उक्त आदेश प्राप्त नहुँदै विशेष अधिवेशन गरी विधान संशोधन भइसकेकाले संशोधित विधानअनुसारै निर्वाचन गराउनुपरेको श्रेष्ठ पक्षको तर्क छ। तर, अदालतको आदेश उल्लंघन हुने गरी मनोनयन दर्ता प्रक्रिया अघि बढाउन लागेको गुनासो पुगेपछि स्थानीय प्रशासनले बिहानैदेखि ललितपुरको सातदोबाटोस्थित ओलम्पिक कमिटीको कार्यालय नियन्त्रणमा लिएको थियो। तर, भौतिकरूपमा मनोनयन दर्ता गर्न नपाएपछि अनलाइनबाट उम्मेदवारी दर्ता गर्न मिल्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।
Shares

प्रतिक्रिया