हाम्रो समाजमा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ भन्ने मान्यता भए पनि व्यवहारमा यसो गरिएको कमै देख्न पाइन्छ। तर पोखरा रंगशाला परिसरको भलिबल कोर्टमा यतिबेला ज्येष्ठ नागरिकप्रतिको सम्मानको गतिलो उदाहरण देख्न सकिन्छ। जहाँ पाँचौँ टाइगर कप भलिबल प्रतियोगिता चलिरहेको छ।
आयोजक टाइगर ग्रुप अफ पोखराले वृद्धवृद्धाका लागि नि:शुल्क भलिबलको मज्जा लिने व्यवस्था मिलाएको हो। कोर्टको पश्चिमपट्टि अलग्गै कुर्सी राखिदिएको छ। यो दृश्यले जो कोहीलाई ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ भन्ने प्रेरणा दिन्छ।
पोखरा अझ भनौँ गण्डकी प्रदेशलाई भलिबलप्रेमीको प्रदेश भनेर चिनाउन टाइगर कप गतिलो माध्यम बनेको छ। त्यसमाथि ज्येष्ठ नागरिकहरूप्रति दर्शाइएको सम्मानले सुनमा सुगन्ध थपिएको छ।

भलिबल तन्नेरीले खेल्ने भए पनि दर्शक सबै उमेरका हुन्छन्। भलिबल प्रतियोगिता आयोजकले ज्येष्ठ नागरिकप्रति गरिरहेको सम्मानले अन्य खेलका आयोजकलाई पनि यसो गर्न प्रेरित गर्न सक्छ।
खेल सुरु भएदेखि अन्त्यसम्मै ज्येष्ठ नागरिकहरू चासोका साथ खेल हेर्छन्। जुनसुकै खेलमा पनि दर्शकको सहभागिताले खेलाडीलाई उत्साह थप्छ।
त्यहाँ आउने ज्येष्ठ नागरिक पनि कम मनकारी छैनन्। आफूहरूलाई गरेको सम्मानको कदरमा गच्छेअनुसार आर्थिक संकलन गरेर सामूहिक रूपमा आयोजकलाई दिने गरेका छन्। टाइगर कप भलिबलप्रेमीहरूका लागि उत्सव मनाउन थलो बनेको छ।
आयोजकले चिसो मौसममा ज्येष्ठ नागरिकलाई तातो चिया पनि निःशुल्क खुवाउने गरेको छ। यो आतिथ्यले पोखरा भलिबल प्रतियोगिता आयोजना गर्नमा मात्र होइन, दर्शकलाई सम्मान गर्न पनि अगाडि छ भन्ने देखाउँछ।
प्रतियोगिता सकिने दिन नजिकिँदै गर्दा ज्येष्ठ नागरिक दर्शककको संख्या भने बढ्दो छ। त्यहीअनुसार आयोजकले कुर्सी थपिरहेको छ। ज्येष्ठ नागरिकका लागि प्रवेशद्वार पनि अलग्गै बनाइएको छ।
खेल हेर्न स्थानीय मात्र होइन, कास्की जिल्ला आसपासका नागरिक पनि रंगशाला आउने गरेका छन्।
स्याङ्जा हरिनास-५ का खेमबहादुर थापा श्रीमती डोलमायाका साथ भलिबल प्रतियोगिताको आनन्द लिइरहेका छन्। डोलमाया ज्येष्ठ नागरिकका लागि छुट्याइएको ठाँउमा बस्ने एक्ली महिला हुन्। पति खेमबहादुर भलिबलका नियमित दर्शक भए पनि डोलमाया भने टाइगर कप हेर्न पहिलोपटक आएकी हुन्।
उनी भन्छिन्, ‘भलिबल धेरै हेर्दिनँ। बूढाबूढी दुवै जना आएका छौँ। बूढा पहिलादेखि नै आउँथे, मचाहिँ आज आएकी। स्याङ्जाबाट यहाँ आको बेला खेल चलेको रहेछ। अनि म पनि आएँ। बूढाबूढीलाई निःशुल्क हेर्न दिएको रहेछ, धेरै खुसी लाग्यो।’
तल्लो नयाँ गाउँका ज्येष्ठ नागरिक गोपाल भुजेल पनि टाइगर कपको नियमित दर्शक हुन्।
उनले भने, ‘आयोजकले जसरी ज्येष्ठ नागरिकलाई सुविधा दिएको छ। त्यसका लागि आभारी छौँ।’
भलिबल र खेलाडीप्रति उनको गहिरो रुचि देखिन्छ।
‘हाम्रो ठाँउ त भलिबलको उर्वर भूमि नै हो नि। गण्डकी प्रदेशको टिम अहिले विदेशी पनि राखेको रहेछन्। यसले अझै क्रेज बढ्दै जान्छ जस्तो लागेको छ, भुजेलले भने, राष्ट्रिय टोलीसम्म पुग्न यो प्रतियोगिताले मद्दत गर्छ भन्ने आश छ। यस्तो प्रतियागिता हुँदा खेलाडीहरू अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सक्लान भन्ने नि आशा छ।’
टाइगर कपको पहिलो संस्करणदेखि नै आयोजकले ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएको हो। यो योजना टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्मा आफैँले ल्याएका हुन्। उनको सोचमा कार्यसमितिका सबैले साथ दिए।
‘खेल हेर्न आमाहरू कम आउनुहुन्छ, बुवाहरू सधैँ आउनुहुन्छ। पहिलो संस्करणबाट नै नि:शुल्क व्यवस्थाको गरेका हौँ, शर्माले नेपालखबरसँग भने, उहाँहरूको उपस्थितिले हामीलाई पनि हौसला मिल्छ।’
आफूहरूले नि:शुल्क खेल हेर्ने व्यवस्था गरेको भए पनि ज्येष्ठ नागरिकहरूले आफैँ केही रकम उठाएर दिने गरेको अध्यक्ष शर्माले सुनाए।
‘पैसाका लागि भन्दा पनि हौसला सम्झेर लिन्छौँ। आयोजकका तर्फबाट उहाँहरू सबैलाई नमन छ। सहयोग गर्ने सबैलाई धन्यवाद। फाइनलमा उहाँहरूको संख्या अझै बढ्न सक्छ। उहाँहरूका लागि थप व्यवस्था मिलाउँछौँ’, उनले भने।
पोखरा रानीपौवाका ज्येष्ठ नागरिक पृथ्वीमान गुरुङ पनि टाइगर कपका नियमित दर्शक हुन्।
‘खेल सारै राम्रा छन्, मलाई सबै टोली बराबर लाग्छ, त्यसमा पनि टिपटप हेल्प नेपाल राम्रो लाग्छ। खेलाडीभन्दा पनि खेल हेरेर मन पर्ने हो है, उनले भने, ‘बुढोहरूलाई यति धेरै माया गरेकामा आभारी छौँ। आयोजकलाई धेरै धेरै धन्यवाद छ।’
Shares

प्रतिक्रिया