खेल


महिला फुटबलमा नेपाललाई उपाधिको खडेरी तोड्ने मौका

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको नेपाल-म्यान्मार फाइनल प्रिभ्यु
महिला फुटबलमा नेपाललाई उपाधिको खडेरी तोड्ने मौका

नेपाल र म्यान्मारका फुटबल टोलीका कप्तान अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफीसँगै (सरोज नेपाल)


लक्ष्मी जि.सी
फागुन १३, २०८१ मंगलबार १७:५२, काठमाडौँ

नेपाली राष्ट्रिय महिला टोली पाँच महिनाको अन्तरमा दोस्रो पटक घरेलु मैदानमा उपाधिका लागि खेल्दै छ।

यसअघि गत कात्तिकमा साफ महिला च्याम्पियनसिपको उपाधिका लागि खेलेको नेपाली टोलीले म्यान्मारसँग अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल्नलागेको हो।

चार देश सहभागी प्रतियोगिताको अन्तिम खेल बुधबार त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा साँझ ६ बजे सुरु हुनेछ।

नेपालले सन् २०१० देखि ठूला प्रतियोगिताको फाइनल खेल्दै आएको छ। तर १२ पटक उपविजेतामा सीमित हुनुपरेको छ। त्यसैले १३औँ फाइनलमा उपाधि चुम्ने सपना बुनिरहेको छ।

अघिल्लो फागुनमा साउदी अरेबियामा वाफ महिला च्याम्पियनसिपमा फाइनल खेलेयता नेपालले गत कात्तिकमा घरेलु मैदानमा साफ महिला च्याम्पियनसिपको फाइनल खेलेको थियो। ती दुवै फाइनलमा नेपाल उपविजेता मात्र बन्नसक्यो।

तर यो पटक आफूहरु घरेलु मैदानमा उपाधिका लागि नै भिड्ने बताउँछिन् नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा।

खेलअघिको पत्रकार सम्मेलनमा उनले अघिल्ला दुई फाइनलमा उपविजेतामै चित्त बुझाए पनि योपालि भने उपाधि चुम्ने गरी खेल्ने बताइन्। 

‘एक वर्षभित्रै ३ वटा फाइनल खेल्दै छौँ। दुईवटामा उपविजेता बने पनि तेस्रोमा उपाधि चुम्छौँ’, उनले भनिन्, ‘अहिलेसम्मको सबै खेल राम्रो भएको छ।’

कप्तान सुब्बाले युरोपमा खेलेर आउँदा केही कुरा सिक्न पाएको बताउँदै त्यसलाई यहाँ प्रयोग गर्दा खेल राम्रो भएको अनुभव सुनाइन्।

वाफ च्याम्पियनसिपयता नेपाली टोलीलाई राजेन्द्र तामाङले प्रशिक्षण दिइरहेका छन्। उनको प्रशिक्षणमा नै नेपालले वाफ, साफ र अहिले अन्तर्राष्ट्रिय च्याम्पियनसिपको फाइनल खेल्दै छ।

खेलअघि प्रशिक्षक तामाङ म्यान्मारविरुद्ध राम्रोसँग खेल्नुपर्ने बताउँछन्। उनले पनि उपाधिका लागि नै आफ्नो टोली मैदानमा उत्रिने बताए।

म्यानमारविरुद्धको पहिलो खेलमा सुरुवातमा टोली केही हतारिए पनि पछि विस्तारै लय समाउँदै गएको उनको भनाइ छ।

‘म्यानमार अनुभवी टोली हो, त्यसैले हामीले राम्रोसँग खेल्नुपर्छ’, उनले भने, ‘प्रेसिङमा सक्सेस हुँदा नतिजा हाम्रो पक्षमा आएको थियो। अब फाइनलमा उपाधिका लागि खेल्नेछौँ।’

नेपाली टोलीमा अब रूपान्तरणको आवश्यकता भएको प्रशिक्षक तामाङको ठम्याइ छ।

‘नेपाली टोलीमा अब पुस्तान्तरण आवश्यक छ, नयाँ खेलाडीलाई मौका दिन आवश्यक भइसकेको छ’, उनले थपे, ‘पुराना खेलाडीले टोलीमा स्थान बनाइराख्ने हो भने अझ मिहिनेत गर्नुपर्ने देखिन्छ।’

आफूले महिला टोली लामो समय हेर्न पाएको अवस्थामा यसमा काम गर्ने समेत तामाङले सुनाए।

च्याम्पियनसिपमा नेपाल र म्यानमार दोस्रो पटक तथा समग्रमा चौथो पटक भिड्न लागेका हुन्।

पहिलो खेलमा घरेलु टोलीलाई केही सहज रुपमा लिएको म्यान्मार फाइनल खेलमा गल्ती गर्ने पक्षमा छैन। 

नेपाली टोली धेरै राम्रो : म्यान्मार प्रशिक्षक
फाइनलअघि म्यानमार टोलीका मुख्य प्रशिक्षक टटसुरो युकीले नेपाली टोली धेरै राम्रो रहेको बताए।

‘प्रतियोगितामा सबै टोली राम्रा थिए’, उनले भने, ‘फाइनलमा पनि राम्रो टोलीसँग खेल्न पाउँदा उत्साहित छौँ।’

च्याम्पियनसिपको सुरुवातमा सबै खेलमा राम्रो खेल्ने प्रयासमा रहेको खुलाउँदै उनले फाइनलको लागि राम्रो तयारी गरेको उल्लेख गरे।

उनले भने, ‘अब फाइनल खेल हाम्रो लागि महत्त्वपूर्ण छ। त्यसैले हाम्रो तयारी पनि राम्रो छ। बुधबारको खेल हामी सबैको लागि राम्रो हुनेछ।’ 
फाइनलअघिको पत्रकार भेटमा उनले नेपालकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बाको प्रशंसा गर्न भुलेनन्।

प्रशिक्षक युकीले साम्बाको फिटनेस राम्रो भएको र अनुभवी भएको सुनाए।

आफ्ना खेलाडीले अहिलेसम्मका सबै खेल राम्रो खेलेकाले फाइनल पनि राम्रो हुने अपेक्षा गरेको उनको भनाइ छ।

म्यान्मारकी कप्तान विन थेंगी टुनले यो पटक आफूहरुले राम्रो टोलीसँग खेलेको सुनाइन्।

उनले भनिन्, ‘नेपाली टिम राम्रो छ। त्यसैले भोलिको फाइनल पनि राम्रो हुनेछ।’

आफूहरुले नयाँ खेलाडीलाई मौका दिइरहेको बताउँदै उनले अन्य प्रतियोगितामा पनि नयाँ खेलाडीलाई एक्स्पोजर दिइरहेको बताइन्।

च्याम्पियनसिपको फाइनलमा निर्धारित ९० मिनेटमा दुवै तर्फबाट गोल नभए खेलमा ३० मिनेट अतिरिक्त थप गरिनेछ। थपिएको ३० मिनेटमा पनि गोल नभए खेलको निर्णय टाइब्रेकरबाट लिइनेछ। 

हेड टु हेड
अन्तर्राष्ट्रिय फुटबलमा नेपाल र म्यान्मार चौथो पटक भिड्नलागेका हुन्। यसअघिका तीन भेटमा नेपालले म्यान्मारलाई हराउनसकेको छैन। 
घरेलु मैदानमा जारी अन्तर्राष्ट्रिय च्याम्पियनसिपका दौडान नेपाल र म्यान्मार भेट भएका थिए।

समूह चरणको अन्तिम खेलमा दुवै टोलीले २–२ को बराबरी गर्दै अंक बाँडे। अंक तालिकामा समान ७ अंक भएको म्यान्मार गोलअन्तरमा अघि रहँदै र नेपाल दोस्रो स्थानमा रहँदै फाइनल खेल्न लागेका हुन्।

त्यसअघि एकखेलअगावै नेपाल र म्यान्मारबीच उपाधि भिडन्त पक्का भएको थियो।

पहिलो खेलमा नेपाली टोलीलाई केही हल्का रुपमा लिएको म्यान्मार फाइनलमा बलियो सुरुवाती ११ का साथ मैदान उत्रिनेछ।

नेपाललाई पराजित गर्दै म्यान्मार उपाधि जित्न चाहन्छ। फिफा वरीयतामा म्यान्मार ५५औँ स्थानमा छ। नेपाली टोली भने १०३औँ स्थानमा छ।

वरीयतामा नेपालभन्दा माथि रहे पनि नेपाल घरेलु मैदान र दर्शकका साथ उच्च मनोबलमा मैदान उत्रिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad