ग्रामीण विकासका लागि चिनियाँ फाउन्डेसन (सीएफआरडी)ले नेपालमा खेलकद प्रोजेक्ट पान्डा प्याक स्पोर्ट्स किट लन्च गरेको छ।
अलिबाबा फिलान्थ्रोपीको सहयोगमा नेपालमा सीएफआरडीले उक्त प्रोजेक्ट सुरु गरेको हो।
बिहीबार लुम्बिनी अन्तर्राष्ट्रिय शान्तिपर्वका दौडान प्रोजेक्ट घोषणा गरिएको सीएफआरडीले जनाएको छ।
यसले नेपाली युवामाझ ओलिम्पिक स्पिरिटलाई अझ मजबुत पार्ने अपेक्षा गरिएको छ। यसले एकता र मैत्रीलाई प्रवर्द्धन गर्दै स्वच्छ प्रतिस्पर्धा र उत्कृष्ट खेलका लागि सहयोग पुग्ने बताइएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशीलगायतको उपस्थितिमा यो प्रोजेक्ट घोषणा गरिएको थियो।

सो क्रममा सीएफआरडीका देशीय निर्देशक झाउ झिकियाङले २ करोड ८० लाख रुपैयाँबराबरको १५ सय खेलकुद सामग्री नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष जीवन श्रेष्ठलाई हस्तान्तरण गरेकी थिइन्। यसबाट २ सय सरकारी विद्यालय प्रत्यक्ष लाभान्वित हुनेछन्। प्राथमिक र माध्यमिक तहका विद्यार्थीहरुले यसबाट लाभ पाउनेछन्।
सहयोग गरिएका सामग्रीहरुमा फुटबल, भलिबल, बास्केटबल, टेबल टेनिस प्याडल र बल, ब्याडमिन्टन र्याकेट र शटलककहरु समावेश छन्। त्यसैगरी जम्प रोप्स, पोर्टेबल एयर पम्प, ट्रेनिङ कन्स, ट्रेनिङ भेस्ट, फ्राइसबिस र सिठीहरु रहेका छन्।

Shares

प्रतिक्रिया