भारत र पाकिस्तानबिच बढेको तनावको असर इन्डियन प्रिमियर लिग (आईपीएल) मा देखिएको छ।
बिहीबार साँझ धर्मशालामा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबिचको खेल रद्द भएको छ।
रंगशालामा एउटा महत्त्वपूर्ण प्राविधिक गडबडी भएको कारण खेल बिचैमा रद्द गरिएको जनाइएको छ।
बिजुली आपूर्ति बन्द भएको र स्टेडियमको एउटा लाइट टावरमा खराबी आएको भन्दै स्टेडियममा उपस्थित दर्शकसँग बीसीसीआईले विज्ञप्तिमार्फत माफी मागेको छ।
पन्जाबले ब्याटिङ रोजेपछि खेलमा पहिलो इनिङको १०।१ ओभर मात्र भएको थियो। त्यस समयमा ओपनर प्रियांश आर्य र प्रभसिमरन सिंहले शतकीय ओपनिङ साझेदारी गरेका थिए। आर्यले खेल रोकिनु अघि ३४ बलमा ७० रन बनाएर आउट भएका थिए।
तीनवटा फ्लडलाइट टावरहरू राति ९।२९ बजेतिर निभेका थिए। लगभग ११ मिनेट पछि खेल रद्द गरिएको जानकारी गराइयो।
वर्षाका कारण टस र खेल सुरु हुन पनि ढिलाइ भएको थियो। साँझ ७ बजे हुनु पर्ने टस भारतीय समय अनुसार ८।१५ बजे भएको थियो। खेल भारतीय समय अनुसार ८।३० बजे सुरु भएको थियो।
मुम्बई इन्डियन्सविरुद्ध पन्जाबको अर्को खेल पनि धर्मशालाबाट अहमदाबादमा सारिएको छ।
Shares

प्रतिक्रिया