कारोबार


जेसीबीका ग्राहकलाई इटहरीमा ‘कस्टमर अप्रिसियसन अवार्ड’, ३४ आउटलेटले दिन्छन् २४सै घण्टा सेवा

जेसीबीका ग्राहकलाई इटहरीमा ‘कस्टमर अप्रिसियसन अवार्ड’, ३४ आउटलेटले दिन्छन् २४सै घण्टा सेवा

नेपालखबर
जेठ २२, २०८३ शुक्रबार २१:५२, विराटनगर

मोरङ अटो वर्क्स् (एमएडब्लु) जेसीबीले ग्राहक सम्मान गर्नुको साथै जेसीबीका नयाँ उपकरण तथा लाइनअपसमेत सार्वजनिक गरेको छ।

कोसीको इटहरीमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी कम्पनीमा आबद्ध भएका ग्राहकहरूलाई सम्मान पनि गरेको छ। कार्यक्रमकै बिचमा आधा दर्जन बढी ग्राहकहरूलाई चाबी हस्तान्तरण गरेको हो।

जेसीबी नेपाल एमएडब्लु अर्थमुभर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तेजप्रसाद सुवेदीले मुलुकको आर्थिक विकास र पूर्वाधार निर्माणको यात्रामा जेसीबी सदैव उद्योगी र व्यवसायीहरूको भरपर्दो साझेदार बनेको बताए।

जेसीबीको व्यावसायिक तथा ग्राहक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सीईओ सुवेदीले जेसीबी आज जुन व्यावसायिक उचाइमा पुगेको छ, त्यो ग्राहक वर्ग, निर्माण व्यवसायी र साझेदारहरूको अटुट विश्वासकै परिणाम भएको उल्लेख गरे।

‘हाम्रा लागि उपकरण बिक्री गर्नु मात्र अन्तिम कार्य होइन,’ सीईओ सुवेदीले भने, ‘बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस), जेन्युइन स्पेयर पार्टस् सहज उपलब्धता र २४ सै घण्टा प्राविधिक सहयोगमार्फत ग्राहकलाई पूर्ण सन्तुष्टि दिनु हाम्रो प्राथमिक दायित्व हो। व्यवसायको वास्तविक सफलता नाफामा भन्दा ग्राहकको विश्वासमा निर्भर हुन्छ।’

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै एक हजार किलोमिटरभन्दा बढी सडक कालोपत्रे गर्ने लक्ष्य राख्नु सकारात्मक भएको सुवेदीले बताए।

यद्यपि, बजेटमार्फत निर्माण उपकरणमा गरिएको भ्याटमा भएको परिवर्तनले सुरुवाती लागत बढाएर केही चुनौती थपेको उनको भनाइ छ। तर, व्यवस्थित भ्याट बिलिङ, पारदर्शी कानुनी कारोबार र सही लेखा प्रणाली अपनाएमा व्यवसायीहरूले अन्ततः यसबाट लाभ लिन सक्ने भन्दै यस प्रक्रियामा ग्राहकहरूलाई मद्दत गर्न जेसीबी नेपालले आग्रह गरेको छ। 

निर्माण, पूर्वाधार विकास, इट्टा, क्रसर तथा हेभी इक्विपमेन्ट क्षेत्र नेपालको आर्थिक समृद्धिको मुख्य मेरुदण्ड भएको चर्चा गर्दै उनले देश निर्माणको यो अभियानमा जेसीबीले प्राविधिक र व्यावसायिक रूपमा सघाउने प्रतिबद्धता व्यक्त गरे। जेसीबीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्सका प्रमुख सञ्चालन अधिकृत दुर्गा निरौलाले जेसीबीको विश्वव्यापी प्रविधि र नेपालमा यसको बजार हिस्सा सम्बन्धी जानकारी दिँदै जेसीबीको नेपालमा उपस्थिति ८० प्रतिशत रहेको बताए।

हाल विश्वभर २२ वटा उत्पादन प्लान्टहरू रहेका छन्। ब्राजिल, अमेरिका, रुस, चीन र भारत लगायतका देशहरूमा यसका प्लान्टहरू फैलिएका भए तापनि नेपाली बजारमा युके प्रविधिमा आधारित भारतमा उत्पादित मेसिनहरू बिक्री वितरण भइरहेका छन्। 

नेपालमा जेसीबीको व्यावसायिक यात्रा सम्हाल्दै आएको एमएडब्लुको इतिहास मोरङ अटो वर्क्सबाट सुरु भएको हो। विराटनगरमा एउटा सानो ग्यारेजबाट व्यवसाय थालेको यस समूहले सन् २००३ मा पहिलो वर्ष मात्र आठ वटा मेसिन बिक्री गरेर जेसीबीको डिलरसीप सुरु गरेको थियो।

सन् २०१९ मा आइपुग्दा एकै वर्ष दुई हजारभन्दा बढी मेसिन बिक्री गर्दै एमएडब्लु विश्वकै दोस्रो ठुलो र एउटै ब्रान्डका एक्साभेटर मात्र ४२१ वटा बिक्री गरेर विश्वकै पहिलो ठुलो डिलर बन्न सफल भएको उनले जानकारी दिएका थिए। हाल नेपालभर कम्पनीका १२ वटा आफ्नै प्लान्ट र ३४ वटा आउटलेटहरू मार्फत सेवा दिइरहेको उनले बताए।

जुम्लामा खोलिएको आउटलेट समुद्री सतहबाट विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको जेसीबीको आधिकारिक सेवा केन्द्रका रूपमा यूके मुख्यालयमा समेत दर्ता भएको छ।

नेपाली निर्माण व्यवसायीहरूमाझ मजबुत उपस्थिति जनाएको जेसीबीले ललितपुरको हरिसिद्धिमा आफ्नै मुख्य अत्याधुनिक गोदाम (वेरहाउस) सञ्चालन गरिरहेको छ। जहाँबाट देशभरका शाखाहरूमा पार्टपुर्जाहरू आपूर्ति गरिन्छ।

कम्पनीका अनुसार हाल नेपालभर ११ हजारभन्दा बढी जेसीबीका मेसिनहरू सञ्चालनमा छन्। यो सङ्ख्या नेपालमा रहेका अन्य सबै प्रतिस्पर्धी कम्पनीका मेसिनहरूको कुल योगफल बराबर हो। सन् २००७ मा इटहरीमा शाखा विस्तार गरेपछि पूर्वी नेपालमा यसको बजार झन् विस्तार भएको दाबी कम्पनीको छ। 

नेपालको ब्याक हो लोडर मध्ये बजारमा जेसीबीको एकलौटी जस्तै वर्चस्व रहेको छ। बजारमा अन्य ११ वटा प्रतिस्पर्धी कम्पनीहरू भए तापनि जेसीबी एक्लैले ८२ प्रतिशत बजार हिस्सा ओगटेको निरौलाले जानकारी गराए। 

हेभी इक्विपमेन्ट व्यवसायी महासंघ नेपालका अध्यक्ष उमाकान्त शर्माले विकास निर्माणको मुख्य मेरुदण्डका रूपमा रहेका हेभी इक्विपमेन्ट उपकरणहरूमा सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) ले समग्र देशकै विकास खर्चमा अतिरिक्त भार थप्ने बताए। अध्यक्ष शर्माले सरकारको यो निर्णयले व्यवसायी मात्र नभई प्रत्यक्ष रूपमा उपभोक्ता र राज्यलाई नै घाटा पुग्ने उल्लेख गरे।

अध्यक्ष शर्माले हालै सार्वजनिक बजेटमार्फत हेभी इक्विपमेन्टमा भ्याट लगाउने निर्णय भएपछि बजारमा मेसिनरी उपकरणको मूल्य अस्वाभाविक रूपमा बढेको तर्फ सरकारको ध्यानाकर्षण गराए।  पहिले ५६ देखि ५७ लाख रुपैयाँमा पाइने जेसीबीको मूल्य भ्याटका कारण एक्कासि ६२ देखि ६३ लाख रुपैयाँ पुग्ने र झन्डै एक करोड पर्नेमा सिधै १३ लाख रुपैयाँसम्म अतिरिक्त भार थपिने अवस्था सिर्जना भएको उनको भनाइ छ। 

अध्यक्ष शर्माले केही समयदेखि सुस्ताएको हेभी इक्विपमेन्ट व्यवसाय पछिल्लो समय बिस्तारै चलायमान हुन थालेको बताए। आधुनिक निर्माण कार्यमा ठुला ठेक्कापट्टादेखि व्यक्तिगत कामहरूसम्म मेसिनरी बिना सम्पन्न हुन असम्भव जस्तै भइसकेकाले बजारमा यस्ता उपकरणहरूको माग र अपरिहार्यता झन् बढेर गएको उनले प्रस्ट पारे। जेसीबी नेपालले कस्टमर अप्रिसियसन अवार्ड प्रदान समेत गरेको छ ।

जेसीबीका ५ वटा भन्दा बढी उपकरण खरिद गर्ने उपभोक्ताहरूलाई कम्पनीले सम्मान गरेको हो। अवार्ड प्राप्त गर्नेहरूमा ओम श्री क्रसर उद्योग एन्ड सप्लायर्स, पूर्वाञ्चल क्रसर उद्योग, स्वामीनारायण निर्माण सेवा, फुटजेन बिल्डर्स प्रालि, अरिहन्त ग्रुप, पशुपति स्टोन कंक्रिड उद्योग प्रा.लि., न्युएसिसि इट्टा उद्योग प्रा.लि., श्री पञ्चलक्ष्मी इट्टा उद्योग प्रालि, अंकिता कन्स्ट्रक्सन एन्ड सप्लायर्स् र आलिया कन्स्ट्रक्सन छन्।

कार्यक्रममा नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ, कोशी अञ्चल इट्टा उद्योग व्यवसायी संघ, नेपाल निर्माण व्यवसायी महासंघ कोशी प्रदेश, क्रसर व्यवसायी संघ, विभिन्न जिल्लाका निर्माण व्यवसायीहरू, उद्योग वाणिज्य संघ इटहरी तथा सुन्दरहरैँचाका पदाधिकारी, बैंक, बिमा तथा ढुवानी क्षेत्रका प्रतिनिधिहरूको ठुलो सङ्ख्यामा उपस्थिति थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad