भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई सोमबार लन्डनमा आयोजित एक समारोहमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को हल अफ फेममा समावेश गरिएको छ।
हल अफ फेममा समावेश हुनु आफ्ना लागि ठूलो सम्मान भएको क्रिकेटर धोनीले बताएका छन्।
उनले भने, ‘विश्वभरका विभिन्न युगका क्रिकेटरहरूको योगदानलाई मान्यता दिने आईसीसी हल अफ फेममा समावेश हुनु मेरा लागि ठूलो सम्मानको कुरा हो।’
उनले थपे, ‘यति महान् खेलाडीहरूसँग मेरो नाम देख्नु साँच्चै एक शानदार अनुभव हो। यो त्यस्तो क्षण हो जुन म सधैँ सजाएर राख्नेछु।’
धोनीले २००४ मा भारतीय क्रिकेट टोलीको लागि आफ्नो पहिलो इनिङ खेलेका थिए। उनले आफ्नो क्रिकेट करियरमा ३५० एकदिवसीय, ९८ टी-२० र ९० टेस्ट खेल खेलेका छन्।
उनको कप्तानीमा भारतीय क्रिकेट टोलीले २००७ मा आईसीसी टी-२० विश्वकप, २०११ मा आईसीसी विश्वकप र २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो।
आईसीसीले सोमबार क्रिकेट जगत्का सात खेलाडीहरूलाई हल अफ फेममा समावेश गर्ने घोषणा गरेको छ, जसमा पाँच पुरुष र दुई महिला खेलाडी छन्।
Shares

प्रतिक्रिया