स्कटल्यान्ड भ्रमणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स समेत सम्मिलित त्रिकोणात्मक शृंखलाका चारमध्ये तीन खेलमा जित हात पार्यो।
सिरिजमा नेदरल्यान्ड्सलाई दुवै खेलमा पराजित गरेको नेपालले स्कटल्यान्डलाई पनि एक खेलमा पराजित गर्यो। पहिलो खेलमा स्कटल्यान्डले दिएको २९७ रनको लक्ष्य पूरा गर्दै नेपालले हालसम्मकै ठूलो लक्ष्य भेट्टाएर कीर्तिमान बनायो।
अर्को खेलमा भने नेपाल घरेलु टोलीसँग २ रनले पराजित हुन पुग्यो। तर त्यो खेलमा पनि नेपालले अर्को कीर्तिमान रच्यो। एक दिवसीय क्रिकेटमा नेपालले बनाएको सर्वाधिक रन नै त्यही खेलमा थियो। जुन खेलमा नेपालले ३२१ रन बनाएको थियो।
अस्ट्रेलियाका स्टुआर्ट लले नेपाली टोली सम्हालेपछि यो पहिलो सिरिज हो। स्टुआर्ट लको नेतृत्वमा रहेको नेपाली टोलीले लिगका चारमध्ये तीन खेलमा जित निकालेपछि क्रिकेट समर्थकलले ल युगको सुरुवात भएको बताएका छन्।
स्टुआर्ट तिनै व्यक्ति हुन्–जो लिग २ को शीर्ष स्थानको अमेरिकाको मुख्य प्रशिक्षकको जिम्मेवारीबाट अलग भएपछि तालिकाको अन्तिममा रहेको नेपाली टोली सम्हाल्न आइपुगेका थिए। उनको नेतृत्वमा नेपालले अहिले एक स्थान सुधार गरेको छ।
उनी आउने बेलामा नेपाली टोली खराब लयबाट गुज्रिरहेको थियो। यही लयमा अगाडि बढे टोलीको एक दिवसीय मान्यता नै धरापमा पर्दै जाने स्थिति आयो।
त्यसैले प्रशिक्षक मोन्टी देसाईलाई विदा गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले स्टुआर्टलाई नेपाली टोलीको जिम्मेवारी सुम्पियो।
त्यसो त सन् २०२३ मा मोन्टी देसाईले पनि नेपाली टोली सम्हाल्दा अवस्था यस्तै थियो। नेपाललाई एक दिवसीय मान्यता जोगाउन मुस्किल थियो। त्यस्तो अवस्थामा मोन्टीले लिग–२ का १२ मध्य ११ खेलमा जित दिलाउँदै नेपालको एक दिवसीय मान्यता जोगाउँदै नेपाललाई विश्वकपसम्म पुर्याए। मोन्टीको नेतृत्वमा नै नेपालले पहिलो पटक टी–२० विश्वकप खेलेको थियो।

अहिले नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुआर्टले पनि उस्तै किसिमको चुनौती सामना गर्न नेपाल रोजेका छन्। स्टुआर्ट ल यसअघि अमेरिकी टोलीका मुख्य प्रशिक्षक थिए। छोटो समयमा नै अमेरिकाको प्रदर्शनमा सुधार आएपछि अमेरिकाले उनको सम्झौता तीन वर्ष थपेको थियो। तर ३ वर्षको अवधि थपेको तीन महिनामा नै उनलाई अमेरिकी क्रिकेट बोर्डले बर्खास्त गर्यो।
अमेरिकी क्रिकेट बोर्डले बर्खास्तीको कारण नखुलाए पनि कप्तानसँगको विवादका कारण उनी बर्खास्त भएको अपुष्ट खबर छन्। उनको नेतृत्वमा अमेरिकाले लिग–२ अन्तर्गत २० मध्ये १४ खेलमा जित र ६ खेलमा हार भोग्दै २८ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ।
यता १६ खेलमा ५ मा जित, ९ मा हार र २ खेलमा अंक बाँड्दै १२ अंक बनाएको नेपाल सातौँ स्थानमा छ।
नेपालले अब लिग–२ को त्रिकोणात्मक सिरिजमा होम एन्ड अवे गरेर २० खेल खेल्न बाँकी छ। नेपालको अबको लक्ष्य शीर्ष चारमा रहेर ग्लोबल छनोट खेल्ने हो।
लिग–२ को शीर्ष चारमा रहन नसके नेपालले प्लेअफ खेल्नुपर्ने हुन्छ। जसको कारण नेपालका लागि ग्लोबल छनोट र ओडीआई मान्यता जोगाइराख्न अझ कठिन हुनेछ।
टेस्ट राष्ट्रको सपना देखिरहेको नेपालका लागि अहिलेको मुख्य चुनौती लिग–२ को शीर्ष चारमा रहेर ओडीआई मान्यता जोगाउनु हो।
तर लिग–२ अन्तर्गत स्कटल्यान्ड भ्रमण नेपालका लागि सुखद रह्यो। विदेशी भूमिमा एकै सिरिजबाट ६ अंक जोड्नु कुनै पनि टोलीका लागि सहज थिएन। लिग–२ को ओडीआई त्रिकोणात्मक सिरिज सकिएपछि नेपाली टोलीले अब घरेलु टोली र नेदरल्यान्ड्ससँगै टी–२० आई त्रिकोणात्मक सिरिज खेल्नेछ। टी–२० सिरिज सोमबारदेखि सुरु हुनेछ।
स्टुआर्टले टोली सम्हालेपछि नेपाली टोलीमा सामान्य परिवर्तन मात्रै गरिएको छ। यसअघि टोलीमा नियमित रहेका कुशल मल्ल यसपटक अटेनन्। नन्दन यादवले पहिलो सिरिजमै डेब्यु गरे। सिरिजकै अब्बल खेलाडीमा भने आरिफ शेखले प्रमाणित गरे।

नेदरल्यान्ड्सविरुद्धका दुवै खेलमा प्लेअर अफ द म्याच भएका आरिफले आफ्नै कीर्तिमान भंग गर्दै लगे। पहिलो खेलमा ७८ रन बनाउँदा उनको एक दिवसीय करियरकै उच्च रन थियो। तर नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा त्यसलाई पनि तोडेर ८४ रन बनाउन सफल भए।
नेपाली टोलीमा आउने जाने भइरहेका आरिफले स्कटल्यान्ड भ्रमणपछि आफ्नो स्थानलाई थप मजबुत बनाएका छन्।
सिरिजमा स्कटल्यान्डसँगको पहिलो खेललाई बिर्सिने हो भने आरिफका लागि त्यसपछिका तीन खेल निकै महत्त्वपूर्ण रह्यो।
स्कटल्यान्डसँगको पहिलो खेलमा ७ रन मात्र बनाए। स्कटल्यान्डसँगको दोस्रो खेलमा ३९ रनको महत्त्वपूर्ण योगदान दिए।
नेदरल्यान्ड्ससँगको दुवै खेलमा भने आरिफ जितको नायक बने। डच टोलीसँगको पहिलो खेलमा ७८ रनको योगदान दिएका आरिफको करियरकै उत्कृष्ट ब्याटिङ थियो। नेदरल्यान्ड्सलाई हराउन ब्याटिङमात्र हैन उत्कृष्ट फिल्डिङ समेत गरेका उनले दुई क्याच समेत लिएका थिए।
सिरिजको अन्तिम खेलमा डच टोलीविरुद्ध ८४ रन बनाएका आरिफले सर्वाधिक रनको योगदान दिए। जुन ओडीआई करियरमा आरिफको सर्वाधिक रन समेत हो। नेदरल्यान्डमाथि जित निकाल्ने क्रममा आरिफले करण केसीको बलमा क्याच लिँदै नेदरल्यान्ड्सलाई अलआउट गरेका थिए।

यता अस्ट्रेलियाका लागि बाटो लागिसकेका नन्दन यादव क्रिकेट खेल्नकै लागि रोकिए। सिरिजको अन्तिम खेलअघि अभ्यासका क्रममा सोमपाल कामी र गुल्सन झा घाइते भएपछि नन्दनलाई राष्ट्रिय टोलीबाट खेल्ने मौका मिल्यो।
जुन मौकालाई नन्दनले खेर जान दिएनन्। लामो समयदेखि डेब्युको प्रतीक्षामा रहेका नन्दनले पहिलो खेलमा नै तीन विकेट लिँदै सनसनी मच्चाए। नन्दनले ९ ओभरमा १ मेडन राख्दै ३९ रन दिएर ३ विकेट लिए।
सिरिजको अन्तिम खेलमा नै सन्दीप लामिछानेले एकै खेलमा तीन विकेट झारेका थिए। सुरुका तीन खेलमा आफ्नो लय कायम राख्न नसकेका उनले अन्तिम खेलमा प्रभाव देखाए।
करण केसी र सोमपाल कामीले पनि यो सिरिजमा उत्कृष्ट ब्याटिङ गरे। भीम सार्कीले यो सिरिजबाट आफ्नो स्थान लिने सम्भावना बलियो बनाएका छन्। समग्रमा हेर्ने हो भने स्कटल्यान्ड भ्रमण नेपालका केही खेलाडीका लागि नयाँ प्रशिक्षकसामु आफूलाई प्रमाणित गर्ने अवसर रह्यो।
तर प्रशिक्षक स्टुआर्ट आफैँका लागि भने यही नतिजालाई कायम राख्ने चुनौती बाँकी नै छ।
सबै तस्बिर : क्यान
Shares

प्रतिक्रिया