समाज


नेपालखबरको समाचार हटाउने आदेशप्रति काउन्सिलको ध्यानाकर्षण, प्रेस स्वतन्त्रताको उपयोगमा अवरोध नगर्न आग्रह

पहिला प्रेस काउन्सिलमा उजुरी दिनुपर्ने, काउन्सिलको निर्णय चित्त नबुझे मात्र अदालतमा जान मिल्ने
नेपालखबरको समाचार हटाउने आदेशप्रति काउन्सिलको ध्यानाकर्षण, प्रेस स्वतन्त्रताको उपयोगमा अवरोध नगर्न आग्रह

नेपालखबर
जेठ २९, २०८२ बिहिबार १७:५७, काठमाडौँ

मुलुकभरका सञ्चार माध्यम तथा पत्रकारहरूको नियामक निकाय प्रेस काउन्सिल नेपालले विधिपूर्वक प्रेस स्वतन्त्रताको उपयोगमा अवरोध नगर्न आग्रह गरेको छ।

पछिल्लो समय सञ्चार माध्यमबाट सम्प्रेषित समाचार हटाउन भएको जिल्ला अदालतको आदेश, पत्रकारले प्रयोग गरेका सामाजिक सञ्जालमा राखिएका सामग्रीका विषय र पत्रकार पकाउ पूर्जीबारे आएका विषयवस्तुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै काउन्सिलले प्रेस स्वतन्त्रताको उपयोगमा बाधा नपुर्‍याउन आग्रह गरेको हो।

बिहीबार काउन्सिलले एक विज्ञप्ति जारी गरी सञ्चार माध्यममा सम्प्रेषित सामग्रीबाट मर्का पर्ने पक्षले काउन्सिलमा उजुरी गर्न सक्ने र काउन्सिलको निर्णय चित्त नबुझेपछि अदालत जान सकिने भन्दै उसले आफ्नो क्षेत्राधिकारप्रति पनि ध्यानाकर्षण गराएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासबाट जेठ २७ गते एकतर्फी सुनुवाइका आधारमा यस नेपालखबर डटकम र बिजमान्ड डटकममा प्रकाशित समाचार हटाउन र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठका सम्बन्धमा थप समाचार नलेख्न आदेश भएको थियो।

एकपक्षीय सुनुवाइका भरमा गरिएको उक्त आदेश संविधानमै व्यवस्थित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी मौलिक हक तथा प्रेस काउन्सिलको क्षेत्राधिकारमाथिको अतिक्रमण ठहर गर्दै सञ्चार सम्बद्ध तथा अधिकारवादी संस्थाहरूले विरोध जनाएका छन्। देशभरका पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघले  गर्दै विज्ञप्ति प्रकाशित गरिसकेको छ। महासंघले नेपाल बार एसोसिएसन लगायत विभिन्न पेसागत संघसंस्थासँगको सहकार्यमा अदालतको उक्त कदम सच्याउन उचित उपचारका लागि पहल गरिरहेको छ।

सञ्चार माध्यमको अनुगमन र नियमनको क्षेत्राधिकार आफूमा निहित रहेको स्मरण गराउँदै प्रेस काउसिल नेपालका तर्फबाट सहप्रशासकीय अधिकृत रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा लेखिएको छ,  ‘समग्रमा प्रेस काउन्सिल नेपाल प्रेस स्वतन्त्रताको संरक्षण, संवर्धनमा सदैव प्रतिबद्ध हुनुका साथै प्रेस स्वतन्त्रताको दुरूपयोग हुन नदिनेतर्फ समेत सचेत र क्रियाशील रहँदै आएको छ। सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीबाट मर्का पर्ने पक्षले काउन्सिलमा उजुरी गर्न सक्ने र काउन्सिलको निर्णय चित्त नबुझेमा अदालतमा जान सकिने हुँदा यसतर्फ समेत सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराइन्छ। यस्तै सञ्चार माध्यम र पत्रकारले सत्य, तथ्य र सन्तुलित एवं विश्वसनीय पत्रकारिताको माध्यमबाट यसको व्यावसायिक अभ्यासलाई उच्च पेसागत मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउँदै प्रेस स्वतन्त्रताको दुरूपयोग हुन नदिनेतर्फ सजगता अपनाउनसमेत काउन्सिल आग्रह गर्दछ। साथै विधिपूर्वक प्रेस स्वतन्त्रताको उपयोग गर्ने सन्दर्भमा कुनै बाधा, अवरोध नगर्न/नगराउन, प्रेस स्वतन्त्रताको उपयोग गर्ने वातावरण निर्माण गर्न/गराउन काउन्सिल सम्बन्धित पक्षलाई आग्रह गर्दछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad